site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माटोको सुगन्ध खोज्ने रहर
SkywellSkywell

‘अरू कालो रेलको धुवाँले, म त कालो छातालाई ओढ्दै नओढ्नाले...’ यो गीतका सर्जक लालबहादुर खातीको मृत्युमा आएको खबरले दुर्गा रायमाझीलाई पिरोलिरह्यो । खबर थियो लालबहादुरको अन्तिम संस्कार गराउन पनि चन्दा उठाउनु पर्यो ।  

‘ढुङ्गे बगर माया ढुङ्गे बगर...’, ‘ए दिदी पोइ पर्यो काले...’, ‘बारीको डिलमा ओखरबोट...’ लगायत दर्जनौं लोकप्रिय लोकगीतका सर्जकको यो हालत ? उनलाई यो प्रश्नले लपेटिरह्यो । हुन पनि हो गीत–संगीत व्यावसायिक भइसकेको थिएन । आत्मसन्तुष्टि र रहरका लागि मात्रै गीत गाइन्थ्यो । अनि कमजोर आर्थिक अवस्था भएका कलाकारको हालत किन नहोस् त यस्तो । 

केही त गर्नै पर्ने भयो । मनमा कुरा खेल्यो । लोक–दोहोरी प्रतिष्ठानका अध्यक्ष थिए । उनले सोचे, एउटा कल्याणकारी कोष खडा गर्नुपर्यो । जसबाट गाह्रो साह्रोमा परेका कलाकार र उसको परिवारलाई सहयोग गर्न सकियोस् । प्रतिष्ठानका साथीहरूसँग छलफल गरे । सबैले प्रस्ताव राम्रो रहेको बताए । तत्कालीन पाँचवटै विकास क्षेत्र कार्यक्रम गरेर पैसा संकलन गरे । “अभियानै चलाएर देशभर कार्यक्रम गरेर १२ लाख रुपैयाँमा कोष खडा भयो । ०६१ सालबाट सुरु गरेको अभियानले ०६४ मा सार्थकता पायो,” “दुर्गा सुनाउँछन्, “अहिले हाम्रो कोषमा एक करोड सात लाख रुपैयाँ छ ।” 

KFC Island Ad
NIC Asia

अभियान पवित्र थियो । साह्रोगाह्रोमा परेका कलाकारलाई सहयोग गर्ने थियो । तर त्यो समय कठिन थियो । सरकार–माओवादी द्वन्द्व उत्कर्षमा पुगेको थियो । त्यही विषम् परिस्थितिमा देशभर कार्यक्रम गर्नु थियो । दुर्गाले सम्झिए धनगढीको कार्यक्रम । कार्यक्रम कभर्डहल छेउको मैदानमा भएको थियो । कार्यक्रम सकिएको २० मिनेटमा कार्यक्रम भएको छेउमै रहेको वडा कार्यालयमा बम विस्फोट भयो । केहीछिनमै सरकार र माओवादीबीच दोहोरो फायरिङ भयो । सुकिलो उद्देश्य लिएर धनगढी पुगेका उनी तीतो अनुभव लिएर काठमाडौं फर्किए । 

यो कोषले अग्रज स्रष्टालाई सहयोग, दिवंगत स्रष्टाका बालबच्चाको अध्ययनमा सहयोग, कलाकारको मृत्यु हुँदा परिवारलाई सहयोग र लोकगीत–संगीतको उत्थानका लागि हुने कार्यक्रममा यो कोषबाट सहयोग हुँदै आएको सुनाउँदा दुर्गाको चेहरा उज्यालो देखियो ।

Royal Enfield Island Ad

अहिले कल्याणकारी कोषबाट कोभिड–१९ आकस्मिक सहयोग कोष खडा गरेर कोरोनाका कारण अफ्ठ्यारोमा परेका कलाकारलाई सहयोग गरिरहेको दुर्गा सुनाउँछन् । 

 ० ० ०

पाल्पाको झँडेवा गीत–संगीतका लागि यसै पनि मलिलो ठाउँ, त्यसमा पनि घर पनि त्यस्तै । थाहा नपाउँदै सायद दुर्गामा पनि गीत–संगीतको चस्का पसिसकेको थियो । घरमै जेठो ठूलोबुवा कुशल बाँसुरीबादक थिए । भलै उनले देख्न नपाउँदै उनको स्वर्गारोहण भइसकेको थियो । अक्सर गाउँघरमा मादल त हुन्थ्यो । तर उनको घरमा तबला नै थियो । मादल मात्रै होइन बुवा नै तबला पनि गाउँथे । घरगाउँमा मेला, पर्व तथा विद्यालयमा हुने कार्यक्रममा दुर्गाको दिलचस्पी बढ्दै गयो । सहभागी हुँदै गए । ४ वर्षको उमेरमा नाचेको उनलाई रिमरिम याद छ । अलिपछि उनी मादल बजाउन थालेका थिए । मादलको तालका लागि उनको ख्याति गाउँमै छँदा फैलिइसकेको थियो । घर गाउँ मात्रै होइन छिमेकी गाउँबाट पनि उनलाई मादल बजाउने निम्तो आउँथ्यो । जान्थे । प्रवीणता प्रमाणपत्र तह पढ्दा उनीहरूले सांस्कृतिक समूह नै खडा गरे । त्यसले कलेज तथा बाहिर सांस्कृतिक कार्यक्रम देखाउँथ्यो । 

०४५ सालमा दुर्गा काठमाडौं छिरे । कानुनमा भर्ना भए । कानुनमा करिअर बनाउने रहर थियो । कालो कोट लगाएर अदालतमा बहस गर्ने चाह थियो । दुर्गा भीमार्जुन आचार्यका सहपाठी हुन् । “भीमार्जुन चाबहिलमा बस्नुहुन्थ्यो । उहाँलाई मैले नै कोठा खोजेर बबरमहल ल्याएँ र सँगै बस्न थाल्यौं,” दुर्गा नोस्टाल्जिक हुन्छन्, “सँगै एउटा ल फर्म चलाउने तयारी गरेका थियौं । इङ्लिस ल्याङ्ग्वेजको इन्स्टिच्युट खोलेका थियौं ।” पछि उहाँ संविधानविद् हुनुभयो । तर मैले पढेँ मात्रै कानुनको अभ्यास गर्नै पाइनँ ।” 

संगतले दुर्गा पढाइसँगै गाउन र बजाउन थालेका थिए । नारायण रायमाझी दुर्गाकै सहोदर दाइ हुन् । उनको प्रभाव पनि पर्यो । केही समय त उनले व्यावसायिक रूपमै मादल बजाए । ०५० सालमा पहिलोपटक एल्बम निकालेर गीत गाउने रहर पनि पूरा गरे । ‘मारी फाँटैमा’ एल्बमको नाम राखेका थिए । ‘तुलसीपुर बसैमा...’ गीतले राम्रै चर्चा पाएको थियो ।

गाउँको ठिटो काठमाडौंको बसाइ र पढाइ । काम गर्नै पथ्र्यो । ०५१ मा रेडियो नेपाल पुगे । तर वाद्यवादकका रूपमा होइन । समाचार वाचकका रूपमा । “रेडियो नेपालको मगर भाषाको पहिलो समाचार वाचक मैं हुँ,” दुर्गा सुनाउँछन् । मगर जातिको बसोबास रहेको क्षेत्रमा बसेकाले उनलाई मगर भाषाको राम्रो ज्ञान थियो । त्यसैले रेडियोमा उनलाई मौका मिलेको थियो । 

वकिल बन्ने तीव्र चाह थियो । त्यसैले दुर्गा गीत–संगीतप्रति अगाध लगाव हुँदाहुँदै पनि गीत–संगीतको एकेडेमिक अध्ययनका लागि विश्वविद्यालय भर्ना भएनन् । 

०५४ सालमा रेडियो नेपालले उनलाई पोखरा क्षेत्रीय प्रसारण कार्यालय कास्की सरुवा गरिदियो । जानै पर्यो । तर एकाध वर्ष बसेर काठमाडौं नै फर्किन्छु र कालो कोट लगाउँछु भन्ने संकल्प थियो ।

तर, सोचेजस्तो सधैं कहाँ हुन्छ र ? दुर्गाको अनुभवले भन्छ, हुँदो रहेनछ । उनले आफ्नै अनुभव सुनाए– “पोखरा पुगियो । गण्डकी प्रदेश साहित्य र संगीतका लागि उर्वर भूमि । संगीतप्रेमी साथीभाइहरू भेटिए । संगीतकै कुरा, संगीतकै कर्म । गीत बाक्लै रूपमा लेख्न/गाउन थालेँ । स्टुडियो खोलियो फेवा म्युजिक प्रालि । व्यवसायको क्षेत्र पनि यही भयो । व्यवसाय पनि राम्रो भयो । हाम्रो स्टुडियोमा गाएका कति गीत पनि चले । त्यसले गण्डकीमै स्थापित गरायो । पुरुषोत्तम न्यौपाने, प्रजापति पराजुली र म कार्यक्रम होस् अथवा अन्य कार्यक्रम हाम्रो राम्रो उपस्थिति हुन्थ्यो । लोक–संगीतका लागि काठमाडौं पछि दोस्रो हबका रूपमा पोखरा थियो ।”

लोकदोहोरी क्षेत्रमा संस्थागत विकासको टड्कारो खाँचो थियो । यो महसुस गरेका दुर्गासहित स्रस्टाहरू एकाकार भए र स्थापना गरे राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल । दुर्गा संस्थापक उपाध्यक्ष भए । प्रतिष्ठानलाई उचाइ दिनु थियो । त्यसका लागि खट्नु थियो । तर बाधक थियो रेडियो नेपालको जागिर । बाधक बनेको समाचार वाचकको जागिर उनले नौ वर्षपछि ०६१ मा छाडिदिए । काठमाडौं आए र केन्द्रित भए प्रतिष्ठानको काममा । 

मनभरि बुनेको कालो कोट लगाउने सपनाको घर पोखरा बसाइले ढलाइदियो । साथीहरूले सपना भेटाए । तर दुर्गा नदेखेको बाटो हिँडे भलै मनले खाएकै क्षेत्र किन नहोस् । थाहा छैन उनलाई आफू सफल वा असफल । तर उनलाई सहपाठीहरू भन्छन्– समाजमा हाम्रोभन्दा तेरो नाम ठूलो छ । हाम्रो समाजले तलाईं भोलि पनि सम्झिनेछ । त्यसैले बाटो बदलिए पनि उनलाई बिराएँ भन्नेचाहिँ लागेको छैन । 

० ० ०

देशमा सरकार र माओवादी आन्दोलन थियो । एकले अर्कोलाई बन्दुकले नै दबाउने उद्देश्यले सरकारले पनि सेना परिचालन गरेको थियो । दुवै पक्ष आ–आफ्नो दम्भको प्रदर्शन गरिरहेका थिए । त्यसको मारमा परिरहेका थिए निहत्था जनता । सरकार र माओवादीको आशंकामा निरिह जनता पीडित भइरहेका थिए । एउटै व्यक्तिलाई सेनाले माओवादी हो कि भन्ने शंका गर्ने, त्यसैलाई अर्कोले सेना वा सुराकी हो कि भन्ने शंकाको नजरले हेर्ने । त्यही विषयलाई दुर्गाले गीतमा उने, ‘बिना बादल असिना पानी, आजकाल गाउँमा यस्तै छ सान्नानी...।’ गीत लोकप्रिय भयो । 

दुर्गा कोरा कल्पनाभन्दा पनि माटोको गीत लेख्छन् । माटोका कथा व्यथा गीतमा समेट्छन् । ‘फर्क दाइ फर्क...’ यसकै एउटा उदाहरण हो । रोजगारीका लागि जापान, जर्मन जहाँ पुगे पनि माटोको सुगन्ध भुल्न नसक्ने नेपाली मनहरूको कथा समेटिएको यो गीत उनले गाए । 

“लोकगीतमा कला, साहित्य र संस्कृति बोल्नुपर्छ अन्यथा त्यो लोकगीत हुँदैन,” दुर्गा भन्छन्, “त्यसैले गाउँकै शब्द र भाखा समेटिएको मात्रै लोकगीत हुन्छ ।” 

लोकगीत गाउँठाउँबाटै जन्मिने भन्दै उनी त्यस्ता गीत खोज्न गाउँ नै जानुपर्ने बताउँछन् । त्यसैले त उनी गीत खोज्दै गाउँ पुग्छन् । छायांकनका लागि गाउँका गरागरा पुग्छन् । चाहे ‘बयर घारी...’ होस् अथवा असारे गीत ‘हलो र कोदाली...’ होस् उनी ठेट शब्दको प्रयोग गर्छन् । र त्यसमै रमाउँछन् । 

“लोक गायकले गाउँदैमा लोकगीत हुँदैन । लोकले गाउँदै आएको एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको गीत नै लोकगीत हो,” दुर्गा भन्छन्, “लय टेक्दैमा लोकगीत हुँदैन । कोठामा बसेर लय र सिर्जना गरेर लोकगायकले गाउँदैमा लोकगीत हुँदैन । यसलाई वर्गीकृत गर्ने बेला आएको छ । सिर्जित लोकगीत र संकलित लोकगीत भनेर वर्गीकृत गर्नुपर्छ ।” 

२७ वर्षको अवधिमा दुर्गाले पाँच दर्जन गीत गाए । गीत गाउनभन्दा पनि प्रतिष्ठानमार्फत समाज सेवामा अझ बढी केन्द्रित भए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा पनि केही वर्ष काम गरेका उनलाई नेपाली लोकगीत–संगीतको खोज गर्ने रहर छ । मगर र थारू समुदायको लोक संस्कृतिको रिसर्च गरेका उनलाई गाउँगाउँ पुगेर लोप हुन लागेका लोकगीत र भाखा बचाउने मन छ । “पुरानो पुस्तासँगै लोकगीत पनि मरेर जान्छ । त्यसैले लोप हुन लागेका गीत बचाउनु आवश्यकता पनि हो । हाम्रो पहिचान नै मासियो भने हामी भोलि के भनेर आफूलाई चिनौंला,” दुर्गा भन्छन्, “लोप हुन लागेका गीत पहिलो संकलन गरिएका व्यक्तिबाटै गाउन लगाउने र त्यसपछि काठमाडौं ल्याएर व्यावसायिक कलाकारबाट गाउन लगाउन सकियो भने यो पनि कला संस्कृतिका लागि ठूलो उपलब्धि हुनेछ ।” 

यसका लागि उनले स्थानीय तहको सहयोगको अपेक्षा गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १०, २०७७  ११:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro