site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भ्रष्टाचार रोक्न नसकेपछि पदमा बस्न लायक रहिनँ, जनतासँग हात जोडेर माफी माग्छु

काठमाडौं । उदयपुर वेलका नगरपालिकाकी राजकुमारी चौधरी हक्की स्वभावकी छन् । आफू जन्मिएको समाज र परिवेश परिवर्तनको शपथ खाएर राजनीतिमा होमिएकी चौधरी वेलका नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित भइन्, २०७४ सालको स्थानीय तह निर्वाचनमा ।

नगरपालिकाको मेयर पदमै उठेर समाज परिवर्तनको संवाहक बन्ने रहर थियो । अनेक हिसाबले बाँधिइन् उनी । उनकै शब्दलाई सापटी लिने हो भने पार्टीले पत्याएन ।

उनको हक्की, निडर र पारदर्शीताको कुराले उपमेयरको टिकट पनि धरापमा पर्न नखोजेको होइन । तर, तत्कालीन नेकपा एमालेको नगर कमिटीले विश्वास गर्‍यो । जिल्ला कमिटीले नगर कमिटीको निर्णय सदर गरिदियो । टिकट हात पर्‍यो ।

नेपाली काङ्ग्रेसकी दीपकुमारी राईलाई ८ सय ४५ मतले पछि पार्दै निर्वाचनमा जित हात पारिन् । राजकुमारीले ६ हजार १ सय ३१ मत ल्याइन् । दीपाको ५ हजार २ सय ८६ मत आयो ।

“स्थानीय तहमा हुने भ्रष्टाचार बेथिति र विकृति निवारण नै मेरो मुख्य एजेन्डा थियो,” बाह्रखरीसँगको कुराकानीमा राजकुमारीले भनिन्, “भ्रष्टाचार रोक्न सकेमात्र नगर उँभो लाग्छ भन्ने मेरो दृढ विश्वास थियो ।”

तिनताक नगर क्षेत्रमा हुने बजेट चुहावट, कमिसनखोर र योजना अनुगमन र निरीक्षणमा हुने अनियमितता, चलखेलले नागरिक आक्रान्त थिए । 

त्यसलाई रोक्ने उनको ठूलो आकाङ्क्षा थियो ।

नागरिकले तिरेको करको सदुपयोग जनप्रतिनिधिको दायित्व हो भन्ने कुरा उनले राम्ररी बुझेकी थिइन् । विशाल उद्देश्य केही लिएकी थिइनन् । सामान्य कुरा परिपालना गरे र इमान्दारिता देखाए नगर विकासपथमा लम्कन्छ भन्ने उनको दृढ विश्वास थियो । उपमेयर पदलाई न्याय गर्ने एक मात्र मनोकांक्षा थियो ।

तर, पहिलो गाँसमै ढुङ्गा लाग्यो ।

उप्रमुखको कार्यभार सम्हालेको केही समयपछि वेलका नगरपालिकामा एकजना जिल्ला विकास समिति (अहिले जिल्ला समन्वय समितिमा रूपान्तरित)मा करारमा कार्यरत कर्मचारी आउने हल्ला सुनिन् ।

राजकुमारी निर्भीकतापूर्वक भन्छिन्, “उनको बारेमा मैले पहिले पनि नराम्रो कुराहरू सुनेकी थिएँ । उनीसँग काम गरेकाहरूले पनि धेरै कुरा सुनाएका थिए । यो कुरा मैले नगरपालिकाका अन्य कर्मचारी र मेयरलाई पनि जानकारी नगराएको होइन ।”

राजकुमारीका अनुसार ती कर्मचारी सुरुमा त्रियुगा नगरपालिकामा जान खोजेका थिए । चाँजोपाँजो पनि मिलाएका थिए । 

तर, त्रियुगाले खै किन हो हाजिर गराएन । उनको भनाइ विश्वास गर्ने हो भने त्यसको मुख्य कारण उनको फितलो आर्थिक अनुशासन र भ्रष्ट चरित्र नै हो ।

त्रियुगाले हाजिर नगराएपछि उनले वेलकातिर पाइला सोझ्याएका थिए ।

“वेलकामा आइसकेपछि पनि हाजिर गराउनुहुँदैन भनेर राख्न नखोजेको होइन,” राजकुमारी निराश हुँदै सुनाउँछिन्, “तर, मेयर सापका अघिल्तिर मेरो केही सीप चलेन । उहाँले हाजिर गराइछाड्नु भयो ।”

नगरपालिकामा हाजिर गर्न थालेको केही समयमै उनको चरित्र पर्दाफास भएको र आफूले जे शङ्का गरेको त्यही सत्य भएको राजकुमारी बताउँछिन् ।

कर्मचारीतन्त्रले उनलाई रुचाए पनि आफूले भने सधैँ निगरानीमा राखेको उनी बताउँछिन् । राजकुमारीको यही शैली, स्वभाव र अडानका कारण आरोपित कर्मचारीले अनेक हिसाबले दुःख, प्रताडना दिन थालेको राजकुमारी दाबी गर्छिन् ।

“पङ्खा किन्दा पनि र्‍याल चुहाउनुहुँदो रहेछ । कमिसनबिना पाइलै नचाल्ने उहाँको बानीले म आजित भएँ । आफूले जनताको बीचमा भ्रष्टाचार नगर्ने, नसहने शपथ खाएको छु । कर्मचारी पाइलैपिच्छे भ्रष्टाचार गर्ने परे,” उनी आजित हुँदै सुनाउँछिन् ।

जनताको प्रतिनिधि र विकासको बाहक पनि भएकाले उनले कर्मचारीलाई सम्झाउन पनि खोजेको बताउँछिन् । भ्रष्टाचार, अनियमितता रोक्न खोजेको बताउँछिन् ।

आफ्नो बाटाको तगारो बनेको महसुस गरेका उनले राजकुमारीलाई दुर्वचन बोलेको, गाली बेइजती गरेको गुनासो गर्छिन् ।

“मैले सेवाग्राहीको भावनाअनुसार र सरकारको स्प्रिटअनुसार काम गर्नुस् भनेर अह्राइपह्राइ गर्दा तँ ‘फ्याउरी’लाई के थाहा छ र भन्दै अपमान गर्ने, गाली गर्ने, जनप्रतिनिधिको मानमर्दन गर्ने काम गर्नुभयो । यसले मेरो स्वाभिमानमा ठेस पुर्‍यायो, प्रतिष्ठामा आँच आयो,” उनी पीडा पोख्छिन् ।

नगरपालिकामा हुने भ्रष्टाचार रोक्न भूमिका खेल्न थालेपछि, नागरिकलाई सुसूचित गर्न थालेपछि ती कर्मचारीले आफूलाई नानातरहले दुःख दिएको राजकुमारीको दुखेसो छ । आफूले अतिरिक्त सुविधा नलिए पनि नगरपालिकाले विनियोजन गरेको बजेटबाट स्कुटी मर्मत गर्न खोज्दा ‘उपमेयरको स्कुटी बनाउनु पर्दैन’ प्रताडना दिएको राजकुमारीको असन्तुष्टि छ ।

पार्टी राजनीतिमा खटिए पनि राजकुमारी विभिन्न विषयवस्तुबारे जानकार भएको बताउँछिन् ।

वेलका नगरक्षेत्रका सामुदायिक विद्यालयका छात्राहरूलाई सेनिटरी प्याड खरिदका लागि प्रदेश सरकारले २६ लाख विनियोजन गरेको थियो ।  टेन्डर हुँदा काठमाडौंको व्यापारीले ११ लाख रुपैयाँमा ठेक्का पारेको राजकुमारीको भनाइ छ ।

तर, ती कर्मचारीले चलखेल गरेर हिमाल कार्की भन्ने मानिसलाई ठेक्का दिने तयारी गरेको उनको आरोप छ ।

“हिमालले काठमाडौंका मानिससँग प्रतिस्पर्धा गर्न सक्नुभएन । किनकि, काठमाडौंमा सबैकुरा सस्तो पाइन्छ,” राजकुमारी भन्छिन्, “उहाँ (आरोपित कर्मचारी)ले विराटनगरबाट १८ लाखको सामग्री ल्याउने तयारी गर्नुभएको थियो । उपमेयरको समितिले खरिद प्रक्रिया अघि बढाएकाले कर्मचारीको हात हुने कुरा भएन । उनी पछि हट्न बाध्य भए । त्यसपछि झन् टसल बढ्यो ।”

सुरुमा टेन्डर हुँदा १९ हजार सेनिटरी प्याड खरिद गरिएको थियो । उब्रिएको पैसाले ४ हजार सेनिटरी प्याड खरिद गरिएको थियो ।  पछि कम्पनीले आफैं निःशुल्क दुई हजार थपिदिएर २५ हजार पुर्‍याइएको उपमेयर बताउँछिन् ।

“आफूले किन्न नपाएपछि उपमेयरले गुणस्तहीन प्याड ल्याए, यसको ल्याब टेस्ट गर्नुपर्छ भनेर अतिरञ्जना गर्नुभयो । म आफैं सेनिटरी प्याड प्रयोगकर्ता हुँ । गुणस्तरीयताको बारेमा म अवगत छु । तर, चलखेल गर्न नपाएपछि अनेक ढङ्गे दुःख दिने काम भयो, भ्रष्टाचार गर्नुहुँदैन भन्ने नियतले आएको भए म स्वागतै गर्थें, तर उहाँको आक्रोश आफूले खरिद गराउन पाइन भन्ने थियो,” उनी भन्छिन् ।

करारका ती कर्मचारीको संलग्नतामा अरू थुप्रै भ्रष्टाचारका घटना भएको राजकुमारीको दाबी छ । वडा नम्बर ९ को  भवनको दोस्रो तला थपेर प्रशासनिक कक्ष बनाउँदा पनि ती आरोपित कर्मचारीले सूचना लुकाएको राजकुमारीको भनाइ छ ।

“प्रशासनिक कक्ष बनाउँदा टेन्डर आह्वान भएको थियो । तर, उनले सूचना लुकाएर दुईजनाको मात्र आवेदन पर्ने स्थिति सिर्जना भयो । पछि मात्रै खुलासा भयो त्यो, त्यतिबेला पनि मैले प्रश्न उठाएको थिएँ । सुनुवाइ भएन,” उनी भन्छिन् ।

उपमेयरका अनुसार आफूलाई दुःख दिने कर्मचारी तीन वर्षदेखि त्यहीँ कार्यरत छन् ।

आफूसँग अनियमिमता गरेको थुप्रै सबुत रहेको दाबी गर्दै राजकुमारी भन्छिन्, “उहाँले भक्तपुरमा दुई करोड जाने जग्गा खरिद गर्नुभएको सूचना आएको छ । यसको छानबिन हुनुपर्छ कि पर्दैन ?”

राजसी ठाँटका साथ कर्मचारी हिँड्ने गरेको उनी बताउँछिन् ।

“नगर क्षेत्रमा गरिबी छ । अभाव छ । तर, एकजना कर्मचारी हाकिमभन्दा बढी सेवा–सुविधा लिएर हिँड्नुहुन्छ । यस्तो अनियमितता कसरी टुलुटुलु हेर्नु ? कतिञ्जेल सहनु ?,” उनी प्रश्न गर्दै भन्छिन् ।

नगरपालिकाले खरिद गरेको स्काभेटरमा पनि व्यापक अनियमितता भएको उनको ठहर छ । उनले आवश्यक पर्दा सबै प्रमाण उपलब्ध गराउने बताउँदै स्काभेटर खरिदमा पनि तिनै कर्मचारीले मिलेमतो गरेको राजकुमारी बताउँछिन् । भन्छिन्, “स्काभेटर खरिद प्रक्रियामा १२ लाख अनियमितता भएको पोल खुलेपछि छानबिन समिति बन्यो । छानबिन हुने भएपछि दिनभर फाइल घुम्यो । भोलिपल्ट बिहानै छलेर काठमाडौं जानुभयो । खरिद गरेको कम्पनीसँग मिलेर प्रक्रिया पूरा गरेर ढाकछोप गर्ने काम भयो । त्यतिबेला पनि विरोध गर्ने म मात्रै भएँ ।”

करारमा राखेको कर्मचारीले भ्रष्टाचारको पर्वत खडा गरेपछि र नगरक्षेत्रमा बेथिति मौलाएपछि डेढ वर्षदेखि कुरा उठाएको राजकुमारी बताउँछिन् ।

नगर प्रमुख दुर्गाबहादुर थापालाई पटकपटक भन्दा पनि कुरा सुनुवाइ नभएको उनको दुखेसो छ ।

नगरपालिकाका भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेपछि उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नगर कमिटीको सचिवालयलाई पनि लिखित मौखिक जानकारी गराइन् । 

नगर कमिटीको सचिवालयको बैठक बसेर एक्सन लिने निर्णय पनि गरेको छ भन्ने उनले सुनेकी छन् । तर, मेयरले लिखित जानकारी आएमात्रै एक्सन लिन सकिने बताएर पन्छिएको उनको आरोप छ ।

“उहाँ आफैं नगर कमिटीको सचिवालयमा हुनुहुन्छ । फेरि एउटै पार्टी नेकपाको । तर, आफैंले गरेको निर्णय कार्यान्वयन गर्न लिखित चाहिन्छ भन्नुको ताप्पर्य के हो ? यो सीधै भ्रष्टाचारीको संरक्षण भएन र ?, भ्रष्टसँग सँगै बसेर कसरी कार्यसम्पादन गर्नु,” उनी प्रश्न गर्छिन् ।

पार्टीले निर्णय गरेर गोजीभित्र राखेपछि आफू निरुपाय भएको बताउँछिन् । जनताको मतले निर्वाचित भएकाले जनतासँग गुहार माग्नुको विकल्प नरहेको उनको भनाइ छ ।

राजकुमारीले बुधबार बेलुकी “उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु । जनतासँग माफी माग्न चाहन्छु । कालो कर्तुतहरूको विषयमा कार्यान्वयन हुँदैन । धिक्कार छ दुईतिहाइ सरकार !” भन्दै आक्रोश पोखेकी थिइन् ।

यही स्ट्टयास लेखेपछि राजकुमारीको खोजी भएको हो ।

पटकपटक आवाज उठाउँदा पनि सुनुवाइ नभएपछि उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु भनेर फेसबुकमा लेख्न बाध्य भएको राजकुमारको भनाइ छ । उनका अनुसार हिजो कार्यपालिकाको बैठक थियो । बैठकमा मेयरले खुलेआम भ्रष्ट कर्मचारीको बचाउन गर्नेगरी लिखितबिना कारबाही गर्न सक्दिनँ भनेपछि आफू फेसबुकमा पोखिन विवश भएको बताउँछिन् ।

“मेरो साथमा पार्टी रहेन । मेयर रहनु भएन । भ्रष्टहरूलाई बचाउन पार्टी, मेयर लागेपछि भने म जनताको बीचमा जानुपर्‍यो । अहिलेसम्म राजीनामा त दिएकी छैन । तर भ्रष्टाचारको गन्धा झोलमा म बस्न सक्दिनँ । निर्णय गर्ने अधिकार जनतालाई सुम्पिएको छु, उहाँहरूले यही गन्धा झोल स्वीकार गर भन्नुभयो भने सोचौंला,” उनले बाह्रखरीसँग भनिन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro