नेपाली कांग्रेसका नेता कार्यकर्ताले आफ्ना संस्थापक नेता बीपी कोइरालाको अठ्तीसौं स्मृति दिवसका विभिन्न कार्यक्रममा मन्तव्य दिँदै बीपी विचार सार्वकालिक रहेको बताए । गत मंगलबार गरिएको सम्झनाको औपचारिकतामा बीपीप्रति शाब्दिक बखानबाहेक उहाँको सान्दर्भिकता बुझाउने गहिरो अनुसन्धानको कुनै विचार प्रवाहित गरिएन । सामयिक परिमार्जनको खाका पनि सुनिएन ।
बीपी व्यक्तित्व विचारलाई सबैले स्वीकार गरेको भए पनि उहाँको विचारको सान्दर्भिकता प्रस्ट्याउन अनुसन्धानात्मक प्रस्तुति दिने दायित्व अनुयायी कांग्रेस पार्टीको नै हो । पार्टीको आधिकारिक (मुखपत्र) प्रकाशनसमेत लामो समयदेखि गर्न नसकेको नेपाली कांग्रेसका नेता, कार्यकर्ताको गम्भीर विचार आलेख पनि कुनै सञ्चार माध्यममा खासै पाइएन ।
ऐतिहासिक भूमिकाको बखान गरेर नथाक्ने कांग्रेस पार्टी सञ्चालकहरुले ऐतिहासिक योगदान गरेका नेताहरुको स्मृति वा जयन्ती व्यवस्थित प्रक्रियाले मनाउने तरिका स्थापित गर्नुपर्ने थियो । कि पार्टीले जयन्तीमा मात्र कार्यक्रम गर्ने निश्चित परम्परा बसाउन सक्नुपर्ने हो । स्मृति दिवसहरु सार्वजनिक तहमा भन्दा पार्टी कार्यालयहरुमा श्रद्धा पूर्वक सम्झने मान्यता स्थापित गरे पनि हुने हो ।
इतिहास र योगदान सम्झनामात्रै होइन, प्रेरणा र दिग्दर्शन पनि हो । सामान्य अध्ययनमा पनि लाग्छ — बीपी कोइरालालाई अत्यन्त नजिकबाट बुझ्ने र बुझाइलाई उदारतापूर्वक सार्वजनिक गर्ने व्यक्तित्व सर्वोच्च नेता गणेशमान सिंह हुनुहुन्थ्यो । प्रतिबन्धित कांग्रेसको कार्यालय जमलमा प्रायः पुग्दा नेता सिंहले कहिले काहीँ रोचक शैलीमा टिप्पणी गर्दै ‘कोइराला हामीभन्दा दस कदम अगाडि’ भन्नुहुन्थ्यो । उहाँले तुलना आफ्ना बाजे रत्नमान काजी र पिताजी कृष्णप्रसाद कोइरालाको समेत उदाहरण दिएर आफ्नो भनाइ स्पष्ट गर्नुहुन्थ्यो ।
मेलमिलाप नीतिदेखि कैयौं प्रसंगहरुमा बीपी र आफ्नो सन्दर्भ जोड्दै उहाँले ‘म बीपीप्रति कतिपय कुरामा असहमत र अडान लिने अठोटमा हुन्थे तर जब उहाँको तर्क सुन्थेँ म सहमत हुन पुग्थेँ । यस्तो प्रतिभा र तर्क हुन्थ्यो बीपीसँग’ नेता सिंह बडो प्रफुल्ल मुद्रामा व्यक्त हुनुहुन्थ्यो । यस्ता थुप्रै प्रसंग उहाँले व्यक्त गर्नुभएको छ, लिखतमा पनि आएका छन् । पहिलो जनआन्दोलनलाई सर्वोच्च नेतृत्व दिनुभएका सिंहले संयुक्त आन्दोलनमा बीपीले राख्नुभएको मान्यताको नै प्रतिनिधित्व गर्नु भएको हो । यो अलग्गै अध्ययनको पाटो हो ।
मूल सिद्धान्तमा नेताहरु सिंहदेखि सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय र गिरिजाप्रसाद कोइरालालगायतमा एकत्व रहे पनि कतिपय मुद्दाको सबालमा विचार विविधता थियो । दस्ताबेजहरुले समेत बुझाउने नेताहरुबीचमा आआफ्नोपन भए पनि प्रभावशाली यस्ता लाखौं नेता, कार्यकर्तालाई बीपीले एकीकृत सूत्रमा जोडिरहनु भयो । अहिले त्यस्तै कामना असम्भव छ तर पच्चीस प्रतिशत अपेक्षा राख्नु पनि पाखण्ड साबित हुने दृश्य छ । संघर्ष, त्याग र वैचारिक सम्पदाको विशाल भकारीको धनी नेपाली कांग्रेस अहिले यता न उता वा मार्गहीन झञ्झावातमा फसेको छ ।
नेपाली आधुनिक चेतना र चिन्तनलाई सबैभन्दा बढी प्रभावित, आकर्षित र विस्तार गर्ने यस धर्तीको पहिलो मानिस बीपी हुनुहुन्छ । योगदानीहरु सबै इतिहासमा अंकित छन् । भगवान गौतम बुद्धले जीवन दर्शनको माध्यमबाट विश्व आध्यात्मिक धारमा थपेको चिन्तन उच्चकोटी छ । त्यसपछि बहुआयामिक मानवीय मूल्यहरुबाट मानिसलाई नजिकबाट छोएको बीपी कोइरालाले नै हो ।
‘सान्दाजुको महाभारत’ नाटकका लेखक प्रा. अभि सुवेदीले बीपीलाई ‘महामना’ भन्नुको सान्दर्भिकता खोतल्दै – अहिलेसम्म बीपी एकमात्र त्यस्तो नेपाली राजनेता हो जसले राजनीति, साहित्य, समाज, अर्थ, विज्ञान, कला, वातावरणलगायत विभिन्न विषयमा आधिकारिक धारणा प्रस्तुत गर्ने ‘विशाल मनको’ हैसियत राख्नुभयो, लेख्नुभएको छ । अध्येता सुवेदीको भावार्थ टिप्पणी सापटी लिएर भन्दा उहाँको यति गहिरो बुझाइ, बीपी विचारका संकलित दस्ताबेजहरुमा पनि अभिव्यक्त छ तर कांग्रेस सतही र कर्मकाण्डी प्रस्तुतिमा सीमित छ ।
नेपाली कांग्रेसमा नाममा भेटिने बीपी काममा अहिले प्रायः भेटिनुहुन्न । स्पष्ट भन्दा नेतृत्व असफल छ, यही कारण अहिलेको कांग्रेसमा गुट, उपगुटको जब्बर उपस्थिति छ । नेतृत्वले एकताको सहज सुरक्षा वा भावनाहरुको सम्मान संयोजन गर्न नसक्दा छाहारी खोज्दै भौतारिएका नेता कार्यकर्ताबाट एकीकृत प्रभाव विस्तार हुँदैन । परिणाम कांग्रेस निस्क्रियजस्तै थप निस्प्रभावी हुँदैछ । कार्यकर्तालाई पनि भरपर्दो भरोसा दिन नसकेको नेतृत्वले जनतामा भरोसा जगाउन सम्भव छैन ।
महाधिवेशनको मुखमा पुगेको मानिने कांग्रेसले आफैँ घोषित समयमा त्यो काम फत्ते गर्नेमा अधिकांशको आशंका छ, किन ? नेतृत्वको इमानमा विश्वास रहन्थ्यो भने आशंका आउने नै थिएन । कार्यकर्ताको मात्रै किन, नागरिकको पनि मन छामे हुन्छ, आफूप्रति भरोसा कति छ ? नेतृत्वले थाहा पाइहाल्छ । झुन्डको समर्थनको कुरा होइन र असफलता यहीँ निहित छ । नेतृत्व एकलकाटे बने, बनाइएको छ । बनाउनेमा होइन, दोष नेतामा छ, लिनैपर्छ ।
कार्य मिति पुगेपछि केन्द्रदेखि सबै तहका पदाधिकारीको एकवर्षे म्याद थपेर तदर्थ संरचना बनिसक्दा सभापतिले एकपछि अर्को विभाग गठन र सदस्य थप गर्नु नसुहाउने काम भएको छ । यही स्थितिका वरिष्ठ नेता, महामन्त्री र कोषाध्यक्षसमेतले सभापतिलाई महाधिवेशन तयारी मुखमा यस्ता मनोननय नगर्न दिएको लिखित र मौखिक रायलाई ‘जे सक्छौ गर’ भन्ने शैलीमा सभापति पदले चुनौती दिनु सबैको सभापति बन्न नसक्नु हो । यो राय दिने तीन जनामात्र होइनन् त्यसमा ठूलो कार्यकर्ता पंक्तिको भावना निहित छ भन्ने ज्ञान सभापति शेरबहादुर देउवामा जाग्नुपर्ने हो ।
यस्ता मनोनयन महाधिवेशनलाई प्रभावित पार्ने उद्देश्य प्रेरित रहेको टिप्पणी छरपस्ट छ । अर्कोतर्पm मनोनयन गरिएकाको स्वतन्त्र हैसियत र विवेकमाथि हस्तक्षेप वा शोषण गर्ने अपेक्षा यसमा निहीत छ । मनोनीतहरु स्वतन्त्रताको चेतनाले प्रेरित र संघर्षशील कार्यकर्ता हुन् । तिनीहरु फेरि पनि स्वतन्त्र निर्णय गर्न प्रेरित हुनसक्छन् । कुबेलाको मनोनयन विवेक सौदाबाजीको भोट हँुदैन भन्ने अनुभव सभापतिले सँगाल्नु भएकै हुनुपर्छ ।
देशमा उत्पन्न धेरै कटु मुद्दाहरुमा आँखा चिम्लिएको नेपाली कांग्रेसमा आन्तरिक दुर्दशाको पनि फेहरिस्त लामो छ । नेपाल कम्युनिस्ट पार्टीको सरकारले देशभित्र बिथोलेको विधिको शासन, भ्रष्टाचारको संस्थागत बीजारोपण र अव्यवस्थाको भयावह स्थितिप्रति कांग्रेस मौन छ । नीतिहीन वाह्यनीतिको असन्तुलनले अर्को भयावह स्थिति संकेत गर्दैछ । कांग्रेसको मौन जनताले कांग्रेस बिर्सने कारण बन्दैछ । प्रकोपहरुले आक्रान्त देशको कांग्रेसले केही थान विज्ञप्ति र एकाध ज्ञापनपत्र बुझाएर प्रमुख विपक्षको ढाइ वर्ष गुजारेको छ ।
भन्न त, कांग्रेस कम्युनिस्टजस्तो तोडफोड गर्ने प्रतिपक्ष होइन, शालीन प्रतिरोध गर्छ, सगौरव भनेको सुनिन्छ । जनताको पक्षमा आवाज बुलन्द गर्न वा सरकारको कुकृत्यको विरोध गर्न कांग्रेससँग सीमित उपाय यत्तिमात्रै हो र ? यतिबेला कांगे्रसले प्रतिपक्षीय प्रतिरोधी आवाजमा सुनिने गरी बोलेकै छैन । कतिपयले भन्न थालेका छन् – कांग्रेस प्रतिपक्ष रहेन, सत्ता पक्ष नै हो । यस्तो भनाइ कांग्रेस नेतृत्वलाई के सुखद लागेको हो ? अब कांग्रेस कता ? न सरकार न प्रतिपक्ष, यता न उता ?
नेपाल कम्युनिस्ट पार्टी र यसको नेतृत्वको सरकारले आफ्नो बचाउमा बिगारेको विदेश नीतिले सरकार त जोगिएला, जोगियो पनि । असंलग्न नीतिबाट सन्तुलन कायम राखेको नेपालको वैदेशिक सम्बन्धको तराजु एकतर्फी झोलिएपछि आउने भावी स्थिति समाल्न हम्मे पर्नेमात्रै हैन यसको मूल्य राष्ट्र र जनतालाई भारी पर्ने निश्चित छ । कांग्रेस औचित्यपूर्ण सन्तुलन कायम राख्न कुनै स्वर निकाल्दैन । मानौ कांग्रेसको दूरको दृष्टि कमजोर भएको छ ?
संवैधानिक मर्यादा र रक्षा गर्ने गरिमामय पदमा आसीन राष्ट्रपति सबै नेपालीको नभएर नेकपाभित्र पनि गुटमा सीमित हुदासमेत कांग्रेसले सम्झाउने हैसियत देखाउँदैन । गणतन्त्र बदनाम हुँदै कमजोरसमेत भएको चर्चा देशव्यापी छ तर कांग्रेस सुन्दैन । नेकपाले राष्ट्रपतिको मर्यादालाई आन्तरिक घर्षण मिलाउन पटकपटक दुरुपयोग गरेको छ । कूटनयिक प्रतिनिधि मुलुकलाई दूरगामी अप्ठेरोमा पार्ने गरी परिधि नाघेर चलखेल गर्दैछन् । पद होइन, पदको हैसियत र गरिमा धान्नु ठूलो कुरा हो । त्यस्तो भएको पाइएन । यस्तै चल्ने हो भने सबैले गणतन्त्रको चिन्ता वा मोह छोड्न सक्नुपर्यो ।
आन्तरिक र बाह्य दर्जनौ गलत अभ्यासप्रति कुनै चासो र संवेदना नराख्ने कांग्रेस नेतृत्व के गर्दै छु भन्ने हेक्का र परिणामप्रति बेपरवाह देखिएको छ । यस्तो परिवेशबीच देखिएको नग्नचित्र जतिसुकै खिइए पनि कांग्रेसमा जकड र पकड राख्ने ध्याउन्नमा नेतृत्व लम्पट छ । यही नियतको नियति भोग्न कांग्रेसको भावी पुस्ता, लोकतन्त्र र राष्ट्र अभिशप्त छ कि ?
बीपीको स्मृति दिवसमा कांग्रेसजन र यिनको वर्तमान नेतृत्वले के प्रेरणा लियो वा कुन बाटो समायो कुन्नि ? तर बाटो पहिल्याउन सक्ने नेतृत्व हुन्थ्यो भने नेपाली कांग्रेसयस्ता सवालमा यता न उता हुने थिएन, सशक्त प्रभावी हुने थियो । के यस्तो दुर्दशा कांग्रेसजनका लागि मान्य छ ? कतिसम्म भने कांग्रेसका एकदुई बाहेक कुनै पनि नेता चाहे विचारका धनी ठान्ने युवा हुन् वा जेठा कसैले पनि स्वःस्फूर्त लेख, अभिव्यक्ति दिएको पाइन छोडे । यता न उता, यस्तो मौन आत्मकेन्द्रित भयले वा निराशाजेले होस् परिणाम राम्रो हुनेछैन । पुनः यस्तै दुर्दशाको निरन्तरता ?