सरकारले गत वर्ष २०७६ सालको चैत ११ देखि लागू गरेको बन्दाबन्दी (लकडाउन) अन्त्य भएको घोषणा गरेको छ । यसबीच बन्दाबन्दी केही खुकुलो गरिँदै आएको थियो । विज्ञहरू बन्दाबन्दी पूरै हटाउने बेला नभएको भन्दै संक्रमणको अर्को लहर फैलनसक्ने चेतावनी दिइरहेका छन् । जनसाधारण र व्यवसायीहरू भने बन्दाबन्दी हटेकोमा उत्साहित देखिन्छन् । यद्यपि, शैक्षिक संस्थालगायत केही क्षेत्र अझै खुलेका छैनन् । सरकारले बन्दाबन्दी लागू गर्दा पनि त्यसको औचित्य जनतालाई बताएको थिएन । अहिले हटाउँदा पनि बताइएको छैन । संक्रमणको अवस्था बन्दाबन्दी लागू गर्दा भन्दा हटाउँदा गम्भीर देखिएको छ । यसैले सरकारले दुवै निर्णय राजनीतिक आधारमा लिएको स्पष्ट देखिन्छ ।
बन्दाबन्दी लागू गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारविरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेताहरूले मोर्चाबन्दी चर्काएका थिए । नेकपाभित्रको किचलो अहिले अपेक्षाकृत मत्थर भएको देखिएको छ । समभवतः यी दुई घटना बन्दाबन्दी लगाउने र हटाउने मूल कारण हुन् । तर, देशमा कोभिड—१९ को संक्रमण भने अर्को यथार्थ हो । यसैले राजनीतिक कारण नभए पनि संक्रमण रोक्न सरकारले कुनै न कुनै दिन बन्दाबन्दी लागू गर्ने नै थियो । बन्दाबन्दीको रूप केही फरक भने हुनसक्थ्यो । कोभिड—१९ का नाममा स्वास्थ्य सामग्री खरिद गर्दाको सन्देहास्पद गतिविधिमा प्रधानमन्त्री निकट व्यक्तिहरूको संलग्नता हेर्दा पनि सरकारले कुनै न कुनै बहाना बनाएर संकट सिर्जना गर्ने थियो भन्ने नैै देखिन्छ । यसैले बन्दाबन्दी लगाउनु र खोल्नुको औचित्य तथा उपादेयतामा छलफल गर्ने काम विज्ञहरूलाई नै छाडौँ ।
सरकारले बन्दाबन्दी हटाउँदा कोरोनाभाइरसको संक्रमण रोकिने हैन बढ्ने जोखिम झन् धेरै भएको छ । संक्रमण रोकिएर बन्दाबन्दी हटेको हो भन्ने भ्रम समुदायमा पर्न गयो भने यसले तुरुन्तै भयावह रूप लिनसक्छ । संक्रमण विज्ञहरूले यसै पनि परीक्षणको घेरा साँगुरो बनाएकोमा असन्तुष्टि प्रकट गरेका थिए । अब त क्वारेन्टिनको व्यवस्था पनि अन्त्य गर्दा संक्रमित सोझै परिवारमा जाने र समुदायमा संक्रमण फैलाउने जोखिम बढ्यो । यथार्थमा सरकारले नेपाली जनतालाई संक्रमणको बाढीमा हेलेर छाडिदियो । अब, जात्रामात्रा सुरु हुन्छ । चाडपर्व आउँछन् । भारतमा संक्रमण अत्यासलाग्दो गरी फैलँदो छ । हवाई उडान सुरु भएसँगै विदेशबाट आउनेहरूको संख्या बढ्छ । तिनको परीक्षण हुने व्यवस्था छैन । अर्थात् अहिले बन्दाबन्दी लागू गर्ने बेलाभन्दा संक्रमण फैलने जोखिम धेरै गुणा बढेको छ । यसैले हामी प्रत्येक व्यक्ति, स्थानीय तह र समुदाय नै सचेत र जिम्मेवार हुनुको विकल्प छैन । कम्तीमा भिडभाडमा जाँदा सबैले अनिवार्यरूपमा मास्क लगाउने, साबुन पानीले हात धुने र शंका लाग्नेबित्तिकै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्ने गरिरहनुपर्छ । संक्रमणको अर्को लहर फैलियो भने नेपालका लागि निकै महँगो पर्नसक्छ । हामी आफैँ नै सावधान र गम्भीर बनौ ! स्थानीय सरकारहरूले पनि संक्रमण व्यवस्थापनलाई प्राथमिकता दिन नछाडून् !