
फाइल तस्बिर।
जनकपुर । प्रदेश २ का विभिन्न जिल्लामा आएको बाढीले बगाएर दुई जना बेपत्ता भएका छन् भने ८ सय ४५ जना विस्थापित भएका छन् ।
सर्लाहीमा एक जना पौडी खेल्ने क्रममा र महोत्तरीको रातु खोला तर्ने क्रममा अर्को एक जना स्थानीय बाढीमा बगेर बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बाढीले सप्तरी जिल्लाको हनुमाननगर नगरपालिका, छिन्नमस्ता, बलानविहुल र तिलाठीकोइलाडी गाउँपालिका, महोत्तरीको जलेश्वर नगरपालिका र मटिहानी नगरपालिका, सर्लाहीको बागमती नगरपालिका, ईश्वरपुर नगरपालिका र चक्रघट्टा गाउँपालिका, रौतहटको चन्द्रपुर गरुडा नगरपालिका एवं बाराको पचरौता र सुवर्ण गाउँपालिका पूर्ण प्रभावित भएको छ ।
सप्तरीका विभिन्न पालिकाको एक सय ५० घर क्षतिग्रस्त भएको र चार सय ५० व्यक्ति विस्थापित भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै, सर्लाहीको ४६ घर भत्केर दुई सय ५५ जना विस्थापित भएका छन् र रौतहटको २३ घर भत्केर एक सय ४० जना विस्थापित भएका छन् । सर्लाहीमा घर भत्किदा दुई जना घाइते भएका छन् ।
बाढीले बाराको कोल्हबी नगरपालिका –९ स्थित सिम्रौनगढ–तामागढी सडक खण्डमा निर्माणाधिन पुल नजिकको डाइभर्सन बगाउँदा आवतजावत अवरुद्ध भएको छ । त्यस्तै, प्रदेश प्रहरी तालिम केन्द्रको निर्माणाधिन पर्खाल भत्केर क्षति भएको छ ।
बाढीमा फँसेका सप्तरी र महोत्तरीबाट एक एक जना तथा सर्लाहीबाट दुई जनालाई प्रहरीले उद्धार गरेको छ । बाढीको प्रकोपबाट जनधनको सुरक्षा गर्न सप्तरीमा तीन सय ७०, सिरहामा तीन सय ४०, धनुषामा तीन सय ६०, महोत्तरीमा दुई सय ९५, सर्लाहीमा तीन सय ८०, रौतहटमा तीन सय ९०, बारामा तीन सय ३० र पर्सामा तीन सय ४५ गरी दुई हजार ८ सय १० जना सुरक्षाकर्मी परिचालन गरिएको प्रदेश २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले जनाएको छ ।