site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
थन्किए चित्र, आम्दानी शून्य !
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना महामारीले कला क्षेत्रको पेन्टिङ (चित्रकला) गतिविधि ठप्प भएको पाँच महिना टेकिसकेको छ । ग्यालरीहरु बन्द छन्, प्रदर्शनी ठप्प छन् । यद्यपि अनलाइन प्रदर्शनी भने फाट्फुट्ट नभएको होइनन् ।

तर लकडाउनसँगै विकल्पका रुपमा अनलाइन प्रदर्शनी देखिए पनि आर्थिक पाटो लगभग शून्य छ । बन्दाबन्दीमा घरमै बसेका चित्रकारहरुलाई समय कटाउने माध्यम मात्रै भएको छ । सरकार लकडाउनबाट लुजडाउनको मोडालिटीमा गए पनि यसले कलाकारलाई राहत दिन सकेको छैन । बरु तनाव थपेको छ ।
  
लामो संघर्षपछि स्थापित भइसकेका कलाकारहरुले यो समयलाई मौकाका रुपमा लिएर भविष्यका लागि चित्रकलाको भण्डार भर्ने विकल्प बनाउनुपर्ने बताइरहेका बेला केही कलाकारहरु भने कलाकै विकल्प खोज्‍ने पो हो कि भन्‍ने अवस्थामा पुगेका छन् । कारण शून्य आम्दानी नै हो ।
  
संघर्षपछि विस्तारै देखिन थालेको उज्यालोलाई कोरोना कहरले फेरि धमिलो बनाइदिएको कलाकारहरुले महसुस गरिरहेका छन् । चित्रकार सबिता डंगोल लकडाउनको तीन महिनासम्म घरमै क्यानभास रंगाउँदै थिइन् । केही समयमा अवस्था सामान्य भइहाल्छ र प्रदर्शनी गर्न पाइन्छ भन्‍ने थियो । तर उनले सोचे जस्तो भएन । लकडाउन लम्बिँदै गयो । पेन्टिङसँगै उनी विद्यालयमा पढाउँथिन् । 

उनले चित्रकला पढाइरहेको विद्यालयले पनि असारदेखि अनलाइन कक्षा लिन भन्यो । तीन महिना एउटै चित्र बिक्री गर्न नसके पनि अब अनलाइन कक्षाबाट आधा भए पनि तलब  आउने अपेक्षा थियो । तर साउन सुरु भएसँगै निजी विद्यालयले अनलाइन कक्षा बन्द गर्ने निधो गरे । यतातर्फको आम्दानीको स्रोत पनि बन्द भयो ।  

Prabhu Bank
Agni Group
NIC Asia

कलाकार डंगोललाई तनाव सिर्जना भयो । उनको रहर भने पनि आम्दानी भने पनि यही क्षेत्र हो । चार महिनादेखि लकडाउनमा कोरेका चित्रहरु थन्किएका छन् । त्यसले कहिले बजार पाउने हो थाहा छैन ।

आर्थिक रुपमा पनि यही पेसामा निर्भर उनी परिस्थितिले राम्रो संकेत नभए अब विकल्पको बाटो खोज्‍ने हो की भन्‍ने सोचमा छिन् । “स्थिति सामान्य भइहाल्यो भने त विस्तारै गति लिन थाल्छ होला तर अब खोप कहिलेसम्म बन्‍ने, बने पनि नेपालमा आउन कति समय लाग्‍ने होला । यस्तो भयो भने चाहिँ हामी कलाकारले विकल्पमा अरु केही पेसा पनि रोज्‍ने हो कि भन्‍ने अवस्था आउन धेरै समय लाग्दैन,” उनले भनिन् । 

Global Ime bank

चित्रकार अनिशा महर्जन पनि यस्तै सोचमा छिन् । उनी बौद्धमा कलाकार लक्ष्मण बज्र (एल बज्र) लामासँग मिलेर ‘ग्यालरी ला’ सञ्‍चालन गरिरहेकी थिइन् । उनीहरुले ग्यालरी सञ्‍चालन गरेको दुई वर्षमात्रै भएको थियो । छोटै समयमा पनि  ग्यालरीले राम्रै गरिरहेको थियो । ग्यालरी पर्यटकीय क्षेत्र बौद्धमा भएका कारण ग्राहक खोज्‍नुपर्ने झन्झट थिएन । 

उनीहरु ग्यालरीमा आफ्नो सँगै साथीहरुको पनि पेन्टिङ राख्‍ने गर्थे । तर बन्द ग्यालरी कहिले खुल्ने हो उनीहरुलाई नै थाहा छैन ।  ग्यालरी बन्द हुँदा आर्थिक अवस्था कमजोर हुँदै गएको छ । त्यसैले अनिशा र लक्ष्मण अब ग्यालरीको मात्रै भर पर्नेभन्दा पनि अरु विकल्प खोज्‍नेतर्फ छन् । 

“लकडाउनले हाम्रो ग्यालरी ठप्प छ । अवस्था सामान्य भएपछि खोल्ने त छँदै छ । तर त्यो समय नफर्किँदासम्म र पछि पनि यस्तै विषम् परिस्थिति आयो भने के गर्ने भन्‍ने अवस्था नहोस् सोचेर हामीले चित्रकलासँगै अरु पनि केही पेसामा हात हाल्ने हो कि भन्‍ने सोचिरहेका छौं,” अनिशा भन्छिन् । उनीहरु कृषिसँग सम्बन्धित केही विकल्प खोजिरहेका छन् । 

कलाकार सौरगंगा दर्शनधारीको अनुभव पनि सविता र अनिशाको भन्दा भिन्‍न छैन । उनले पनि अरुले जस्तै लकडाउनमा चित्र नै कोरे । तर पछिल्लो समय भने उनी श्रीमान् (कलाकार) पृथ्वीसँग मिलेर पफर्मेन्स आर्टमा केन्द्रित भएकी छिन् । 

उनलाई पनि अरुलाई झैं लकडाउमा आर्थिक पक्षले सतायो । जसले गर्दा नकारात्मक सोचबाट केही समयका लागि भए पनि पफर्मेन्स आर्टको विकल्प खोज्दै छिन् । यसमा कलाकारहरुले जुनसुकै विषयमा पनि पफर्मेन्स आर्ट गरेर फेसबुकमार्फत पोस्ट गर्ने र अर्को कलाकारलाई नोमिनेट गरिन्छ ।

“हामी दुवैजना योबाहेक अरु पेसामा छैनौं त्यसैले बाँकी कलाकारलाई जस्तै हाम्रा पेन्टिङहरु बिक्री नहुँदा चिन्ता लागिरहेको छ । तर पनि हामी यसलाई चित्र सञ्‍चय गर्ने समयका रुपमै खर्चिरहेका छौं,” उनले भनिन् ।

उनको ललितकला र सिर्जना आर्टमा गरी दुई ठाउँमा कक्षा छ । तर यो महामारीले ललितकला बन्द भए पनि सिर्जनामा भने अनलाइन कक्षा दिइरहेकी छिन् । उनका अनुसार विद्यालय र ट्युसन पढाइरहेका केही पार्टटाइम आर्टिस्टहरुलाई भने लकडाउनले नराम्रोसँग पिरोलेको छ ।

यता ‘न्युड आर्ट’ विधामा आफूलाई केन्द्रित गरेका कपिलमणि दीक्षितलाई भने लकडाउनले उति धेरै असर गरेको छैन । कारण नेपालमा न्युड आर्टको ठूलो बजार छैन । “मेरो पेन्टिङ कहिले ६ महिनासम्म पनि बिक्री हुँदैन त कहिले बनाएको महिना दिनभित्रै बिक्री हुन्छ,’’ उनी भन्छन्, ‘‘अनिश्चित भएकाले यो चार महिनामा मेरो पेन्टिङ नै बिक्री भएन भनेर चिन्ता लिइहाल्नुपर्ने अवस्था मेरा लागि छैन ।”

‘न्युड आर्ट’का ग्राहक धेरैजसो विदेशी हुन् । नेपालमा यसको बजार कर्पोरेट हाउसहरुमा मात्रै रहेको र यसैले धानिराखेको उनको भनाइ छ । उनी पनि नेपालमा यो पेसाबाट मात्रै जीविकोपार्जन गर्न मुस्किल भएकामा जोड दिन्छन् । लामो समय ग्यालरीहरु बन्द हुँदा थुप्रै कलाकारको कला घरमै थन्किनु भनेको आर्थिक संकट सिर्जना हुनु हो भन्छन् उनी ।  

कलाकार एनबी गुरुङ आफूलाई परिमार्जित गर्न सक्ने कलाकारका लागि लकडाउनले त्यति ठूलो असर नगर्ने बताउँछन् । अहिले अनलाइनमार्फत पनि कमाइ भइरहेको उनको अनुभव छ । उनी आफैं पनि दुईवटा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कलाप्रेमी विद्यार्थीलाई अनलाइन कक्षा दिइरहेका छन् । 

पेन्टिङ बिक्री गरेरभन्दा पनि प्रविधिसँगै यसलाई पनि फराकिलो बनाउँदै लैजान सके राम्रो आम्दानी हुने उनको बुझाइ छ । “अरु पेसामा जस्तो विलासी जीवन नहोला तर पलायन हुनुपर्ने अवस्था भने आइसकेको छैन । सायद आउँदैन पनि होला,” उनी भन्छन् ।  

चित्रकार किरण मानन्धर भने फरक विचार राख्छन् । पहिला समय नमिल्ने भएकाले यो समय सिर्जना गर्ने व्यक्तिहरुका लागि उपयुक्त अवसर भएको उनको बुझाइ छ ।  यो समय सिर्जना मात्रै गर्नेभन्दा पनि सिनियर कलाकारहरुको संघर्ष र जीवनी पढेर आत्मबल बढाउनुपर्ने र आशावादी हुन सक्नुपर्ने उनी सुझाउँछन् । 

“ललितकला धेरै गाह्रो र धैर्य चाहिने क्षेत्र हो । यो तुरुन्तै रिजल्ट खोजेर पाउने पेसा होइन । त्यसैले केही महिना ठप्प भए पनि भविष्य उज्ज्वल छ भन्‍ने सोचेर कामलाई निरन्तरता दिन म सबै कलाकारलाई आग्रह गर्छु,” उनले भने । 

कलालाई व्यावसायिक पाटोबाट मात्रै हेर्न हो भने नेपालमा यसको अवस्था अझै राम्रो नभएको उनको बुझाइ छ ।   “सरकारसँग एउटा म्युजियम पनि छैन । विदेशमा कति दिन घुम्दा पनि नसिकने म्युजियमहरु छन्,” उनी भन्छन् । 

यद्यपि उनी यो महामारीले कलाकारलाई आर्थिक घाटा भएको कुरा भने नकार्दैनन् । आर्ट कक्षा सञ्‍चालन गरिरहेका कलाकारलाई यो बन्दाबन्दीले असर गरेको उनी बताउँछन् । तर पनि अहिलेभन्दा यसको नतिजा लामो समयपछि, अझै कति त आफ्नो जीवनकालपछि मात्रै पाउने तथ्य सधैँ सबै कलाकारले आत्मसात् गर्नुपर्ने उनले सुझाए ।

अर्का चित्रकार गोपाल चित्रकार यस क्षेत्रमा प्रवेश गर्दा चित्रकलासँगसँगै फोटोग्राफी र अन्य केही पेसा एकैपटक गरे । यद्यपि पछि उनले ललितकलालाई मात्रै मुख्य पेसा बनाएर अघि बढे । अहिले तत्कालका लागि कलाकारलाई समस्या भए पनि यो अस्थायी मात्रै भएको उनको विश्‍वास छ ।  

फुर्सदमा पेन्टिङमै समय खर्चिन आग्रह गर्दै उनी भन्छन्, “असर त धेरै पुगेको छ । कति कलाकारहरुलाई एकदमै अप्ठ्यारो परिसकेको छ भन्‍ने मैले पनि सुनेको छु । हाम्रो (नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान) को वार्षिक कला प्रदर्शनी र अन्य प्रदर्शनीहरु पनि यो महामारीका कारण गर्न सकिएन । जसले धेरै कलाकारलाई असर पुगेको छ ।” 

उनी पेन्टिङमा संघर्षरत कलाकारलाई यो पेसा आम्दानीका हिसाबले तत्कालभन्दा पनि पछिका लागि राम्रो भएको बुझ्‍न आग्रह गर्छन् । अझ एक कदम अगाडि बढेर ललितकला विशेषगरी आत्मसन्तुष्टिका लागि अपनाइने पेसा भएको बताउँछन् । उनी पनि किरणले झैं मृत्युपर्यन्त आफ्नो कलाको मूल्यांकन हुने पेसा चित्रकला भएको बताउँछन् । त्यसैले वर्तमानमा थोरै कुरामा रमाएर भविष्यका लागि सम्झिएर सिर्जनामा रमाउन सबैलाई सुझाउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  ०७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC