साँढेहरू जुध्दा बाच्छा मिचिन्छन् । शासकहरूको अहंकारमा पनि दुःख पाउने जनाधारणले नै हो । राज्यका सीमाले जनताको जीवनशैलीमा फरक परे त शासकहरूसँगै जनता पनि भिडन्तमा उत्रे हुन्थ्यो । तर, नेपाल र भारतको सीमा तथा त्यस क्षेत्रका बासिन्दाको अवस्था त्यति सरल छैन । यसैले दिल्ली र काठमाडौंका शासकहरूको सम्बन्धमा आएको उतार चडावको केही असर देखिए पनि सीमाञ्चलका बासिन्दाको जीवनचर्यामा खासै फरक पर्ने गरेको छैन । हालै केही समय यता काठमाडौं र दिल्लीका शासकहरूको समबन्ध चिसिएको छ । भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीको नेपाली भूभाग यसपटकको विवादको निहुँ बनेको छ । तर, त्यसलाई नेपाली र भारतीय जनताको सम्बन्ध पनि चिसो बनाउन प्रयोग गर्न खोजिएको देखिन्छ । दुवैतिरका जनता सावधान हुनुपर्ने यही षड्यन्त्रविरुद्ध हो ।
कतै सीमा स्तम्भ उखेलिएको, कतै नेपाली जनतालाई भारतीय प्रहरीले र भारतीय जनतालाई नेपाली प्रहरीले ज्यादती गरेको समाचार अपेक्षाकृत बढी आउन थालेका छन् । भारतको बनारसमा नेपाली युवकमाथि ज्यादती गरिएको देखाउने घटना इन्टरनेटमार्फत् सार्वजनिक गरियो । भारतका केही सत्तापोषित टेलिभिजन च्यानलहरूले त्यसलाई नेपालीको मानमर्दन गरेको देखाएर उत्तेजना फैलाउने गरी प्रसार पनि गरे । परन्तु, त्यो कुनै भारतीय कट्टरपन्थी संगठनका उपद्य्राहरूले गरेको घटना सिद्ध भयो । नेपालमा तनाव फैलाउने तिनको दुर्नियत पूरा भएन । सीमास्तम्भ उखेलिएको घटनालाई पनि त्यहीँका बासिन्दाले सल्टाएका छन् । अर्थात्, जुध्न तम्सेका साँढेहरूको उक्साहटको नियत जनताले बुझेको देखिएको छ । नत्र त दिल्ली र काठमाडौंका शासकहरूले सीमा विवाददेखि अयोध्यासम्मका अनेकौं बहाना दिएका थिए नागरिकहरूलाई उत्तेजित भएर मारमुंग्री गर्नका लागि ।
जनताको यही परिपक्वता र संयम नेपालको परराष्ट्र मन्त्रालयका सचिवको कथनमा पनि व्यक्त भएको छ । तर, सीमा क्षेत्रका जनता उत्तेजित भए भने कूटनीतिक सुझबुझ पनि असफल हुनपुग्छ । विवाद चर्काउन अहिले अयोध्या विवादलगायतका घटना निहुँ बन्नसक्छ । यस्तो तनावमा असामाजिक तत्त्वले मौका छोप्न खोज्छन् । कुनै पनि बहानामा ‘‘एउटै कुवा (ट्युबवेल)को पानी खाने’’ सीमा वारपारका जनताबीच ‘पानी बाराबार’को अवस्था आउन हुन दिनु हुँदैन । अहिले सम्बन्ध बिगँ्रदा उत्पन्न हुने कटुता सधैँका लागि रहन्छ । यसैले सद्भाव र सौहार्द कायम राख । नेपाल भारतबीचको विशेषगरी सीमा क्षेत्रको जनस्तरको सम्बन्ध बिग्रने गरी नगिजोल । राजनीतिक नेताहरूको स्वार्थ र सीमा हुनसकछ । यसैले सीमाञ्चलका अगुवा नागरिकहरूले जनस्तरको सम्बन्ध बिग्रन नदिन थप सम्पर्क र सक्रियता देखाऊन् ।