आफूले गर्नुपर्ने काम राम्ररी नगर्नेहरूलाई तिनका कारण भएको क्षतिका लागि दोषी ठहर गरी सजाय दिने व्यवस्था नहुँदासम्म मेलम्चीकोजस्तो दुर्घटना दोहोरिइरहन्छ । यही असार २१ गते मेलम्ची खानेपानी आयोजनाको सुरुङमा परीक्षणका लागि एउटा खण्डमा पानी छाडिएको थियो । त्यही परीक्षणका क्रममा अम्बाथानको गेट भत्केर दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित सुरुङको गेट भत्किएपछि मेलम्ची आयोजना सम्पन्न हुने अवधि फेरि अनिश्चित भएको छ । इटालेली ठेकेदार भागेपछि आयोजना निर्माणको जिम्मा चिनियाँलाई दिइएको थियो । मेलम्चीको पानी सुन्दरीजलसम्म ल्याउन सुरुङ खनिएको छ । त्यही सुरुङमा रहेका गेटहरूमध्ये एउटासम्म मूहानबाट पानी पठाएर परीक्षण गरिएको थियो । सुरुङको गेट यसरी भत्केपछि स्थानीय बासिन्दा कुनै बेला बस्ती नै ध्वस्त हुने पो हो कि भन्दै त्रस्त भएका छन् । ** यसैबीच सम्बिन्धत मन्त्रालयले सुरूङको ढोका अचानक खुलेको विषयमा छानबिन गर्न समिति गठन गरेको छ ।
मेलम्ची खानेपानी आयोजना सम्भवतः सरकारको असफल व्यवस्थापन र भ्रष्टाचारको उदाहरण नै हो । दुई दशक बढी हुँदा पनि आयोजना पूरा हुनसकेको छैन । र, यस्तै हो भने यो कहिल्यै पूरा नहुने आयोजनाको उदाहरण बन्नेछ । प्रतिस्पर्धामा छानिएको सीएमसी कम्पनीले धेरै काम गरिसकेको प्रचारवाजी सरकारी अधिकारीहरूले गरेकै बेला ठेकेदारले नेपालको काम छाडेर हिँडेको थियो । सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवका कारण ठेकेदारले काम गर्न नसकेको चर्चा त्यति बेलै भएको थियो । पछि मन्त्री र सचिवका बीचमा त सार्वजनिकरूपमै आरोपप्रत्यारोप भएको थियो । त्यसपछि सिनो हाइड्रो नामक चिनियाँ कम्पनीले मुहानमा गरिने निर्माण ‘हेडवर्क्स’ र सुरुङको बाँकी काम ‘फिनिसिङ’को जिम्मा पाएको थियो । चिनियाँ कम्पनीले काम सुरु गरेपछि पलाएको मेलम्ची आयोजना सम्पन्न हुने आशामा भने फेरि तुषारपात भएको छ ।
अम्बेथानमा सुरुङको गेट भत्किनु कसैले नियोजितरूपमा गरेको अपराध त होइन होला तर ‘भवितव्य’ पनि होइन । योजनाको डिजाइनदेखि निर्माण र अहिले परीक्षणमध्ये कुनै न कुनै चरणमा भएको हेलचेक्य्राइँकै कारण यो घटना भएको हो । राम्ररी छानबिन गरियो भने दोषी खुट्याउन सकिनेछ । यसैले मेलम्ची आयोजनाको सुरुङलगायतको निर्माण कार्यको गुणस्तरमा सन्देह उत्पन्न भएकाले पनि यसको छानबिन गरी सुरुङ मार्गका बासिन्दालगायतका जनतालाई आश्वस्त गर्नु सरकारको कर्तव्य हो । मेलम्ची क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदले मंगलवारै प्रेस वक्तव्य जारी गरेर केही अत्यन्त गम्भीर र महत्त्वपूर्ण प्रश्नहरू उठाएका छन् । उनले जनप्रतिनिधिहरूलाई थाहै नदिई हतारमा सुरुङमा पानी पठाउनुको कारण ‘राम्रोसँग सुरुङ वा गेटको सेटिङ नभई परीक्षण त गरिएन?’ भन्दै सन्देह प्रकट गरेका छन् । लामो समय लागेको र अनेकौं व्यवधानबीच निर्माण भएको आयोजनाको सम्पूर्ण निर्माणकै राम्ररी परीक्षण गर्न पनि उनले सुझाव दिएका छन् । सत्तारुढ दलकै सांसदको सन्देह र सुझावको सरकारले उपेक्षा नगरोस् । यतिमात्र हैन निर्माणको गुणस्तरको परीक्षणमा विकास साझेदारहरूले पनि ध्यान दिऊन् । साथै, यसपटकको दुर्घटनाको पूर्ण छानबिन गरेर दोषीलाई कारबाही गरियोस् । भ्रष्टाचारका विषयमा त के कारबाही होला र ?