काठमाडौं । “लकडाउनले गर्दा समस्या भयो । मैले बिर्सिएको छैन तपाईंलाई, अबको केही दिन पर्खिदिनुस् है, म पैसा जम्मा गरेर तपाईंलाई खबर गरिहाल्छु,” गायक प्रमोद खरेललाई केही कन्सर्ट आयोजकले यसै भन्छन् हिजोआज । “तर यो पहिलो पटक भने होइन । यसो भनेकै धेरै भइसक्यो । कहिले के कहिले के बाहाना निकालिरहन्छन् र पाश्रिमिक दिँदैन । लकडाउन त बाहाना मात्रै हो,” प्रमोद भन्छन् ।
पछिल्लो वर्ष प्रमोदले तीनवटा कन्सर्टको पैसा नै पाएनन् । पैसा दिन्छु भने तर दिएनन् । तीनवटामा नेपालभित्र र बाहिरका दुवै आयोजक रहेको उनी बताउँछन् ।
“हामी कलाकार अलि भावुक पनि हुन्छौं । चिनजानका आधारमा पनि विश्वास गर्छौं तर पछि उनीहरूले पाश्रिमिक दिँदैनन्,” प्रमोद भन्छन्, “हामी व्यापारी व्यावसायीले जस्तो पैसा उठाउँदै ताकेता गर्दै हिँड्न पनि सक्तैनौं, यही बाध्यता र इमान्दारिताको फाइदा उठाइरहेका हुन्छन् ।”
आयोजकलाई चाँडै विश्वास गर्नु, निरन्तर ताकेता गर्न नसक्नुको फाइदा केहीले उठाइरहेको उनी बताउँछन् । करिब १० प्रतिशत आयोजकमा पारिश्रमिक नदिने नियत नै खराब रहेको प्रमोद बताउँछन् ।
प्रमोदका जस्तै पछिल्लो वर्ष गायक कमल खत्रीका तीनवटा कन्सर्टले उपलब्ध गराएका चेक साटिएनन् । नेपाल भित्रकै दुइटा र विदेशको एउटा । एउटा ४५ हजार रुपैयाँको अर्को ५० हजारको र अर्को ९० हजारको ।
पटक, पटक उनी बैंक गए । तर, खातामा पैसा नै छैन कसरी साटिन्थ्यो चेक । फोन गरे । आयोजकले फोन नै उठाएनन् । उठाउनेले केही दिन भन्छन् । तर, त्यो केही दिन भैरव आर्यालको ‘जय भोलि’ जस्तै हो । वर्ष बित्यो तर कहिल्यै आएन ।
“पहिला नयाँ–नयाँमा त यो समस्या झन् धेरै थियो । पछिल्ला वर्षमा अलि कम भएको हो । नयाँ गायकगायिकालाई त झन धेरै हैरान पार्छन्,” कमल दुःख पोख्छन्, “एउटा संस्थाले त नेपाल टुरको पारिश्रमिक पनि दिएन । बीचबाटै छोडेर हिँड्नुपर्यो ।”
नेपाल टुरको आयोजकले देशभरका मुख्य सहरमा कन्सर्ट आयोजना गरेको थियो । ५० हजार एडभान्स दिएको थियो । तर, कन्सर्ट आधा भइसक्दा पनि बाँकी पारिश्रमिक नदिए पछि कमलले उक्त नेपाल टुर बीचमै छोडेर हिँडे ।
मेला महोत्सवले उपलब्ध गराउने पारिश्रमिकमा समस्या नरहेको तर व्यक्ति विशेषले गर्ने कन्सर्टमा यस्तो नियती धेरै झेल्नुपरेको उनको अनुभव छ । “पहिला पारिश्रमिक लिएर मात्रै स्टेज चढ्नुपर्ने अवस्था छ,” उनी भन्छन् ।
गायिका आस्था राउतको चेक बाउन्स नै त भएको छैन । तर, उनले पनि कमलकोभन्दा कम तनाव भोग्नुपरेको छैन । केही समय अगाडि तीनवटा कार्यक्रमका लागि सम्झौता गरेर आस्था अस्ट्रेलिया पुगिन् । तर, न त्यहाँ तीनवटा कार्यक्रम भए न त एग्रिमेन्ट अनुसारको पारिश्रमिक नै पाइन् उनले ।
“कार्यक्रम अगाडि नै पारिश्रमिक लिने एग्रिमेन्ट थियो । तर अघिल्लो दिन ती आयोजकले रोइकराई गरेर केहीदिन पछि पारिश्रमिक दिन्छु भने,” आस्था भन्छिन्, “तर उसको त नियत नै खराब रहेछ, किन दिन्थ्यो र ।”
नौ महिना लाग्यो उनलाई आफ्नो पारिश्रमिक उठाउन । अस्ट्रेलियामा रहेका आफन्तलाई भनेर पारिश्रमिक उठाइन्, त्यो पनि सम्झौता गरेको रकमको ६० प्रतिशत मात्रै ।
“सयौं पटक फोन र च्याटमा तेरो नाम सार्वजनिक गर्छु भनेर धम्क्याउनु परेको छ,” आस्था भन्छिन्, “सायद यस्तै भएर हो अहिले कलाकार अगाडि नै पारिश्रमिक लिएर मात्रै स्टेज चढ्न थालेका छन् ।”
उद्योग वाणिज्य महासंघ तथा नगरपालिकाहरूबाहेक अरूले व्यक्तिगत रूपमा आयोजना गर्ने कन्सर्टमा शंका गर्नुपर्ने अवस्था रहेको उनी बताउँछिन् ।
“उद्योग वाणिज्य संघ र अरू केहीबाहेकका कन्सर्टमा जाँदा कन्सर्ट नसकिएसम्म पैसा दिन्छ कि दिँदैन भन्ने मनमा शंका भइरहन्छ,” आस्था भन्छिन्, “कसैले कसैलाई विश्वास गरेर पहिला नै पारिश्रमिक नलिई कन्सर्टमा सहभागी हुन्छौं भने आयोजकले पनि विश्वासघात गर्नु हुँदैन ।”
केही दिन अगाडि गायक सुगम पोखरेलले आफूलाई आयोजकले विभिन्न बाहाना देखाएर लामो समयदेखि पारिश्रमिक नदिएको भन्दै २४ घण्टाभित्र पारिश्रमिक उपलब्ध नगराए आयोजकको तस्बिरसहित नाम सार्वजनिक गर्नेभन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए । २४ घण्टाभित्र सम्पर्कमा नआउने दुई जना आयोजकको नाम र तस्बिर सार्वजनिक पनि गरे । तर सार्वजनिक गरेको केही समयमै हटाए ।
“तत्काल पारिश्रमिक दिन्छु भन्दै नाम र तस्बिर हटाउन आग्रह गरेपछि हटाएको हुँ,” सुगम भन्छन्, “यहाँ आफूले पाउनु पर्ने पारिश्रमिक पाउन पनि भिष मागे झै माग्नुपर्छ ।”