सार्वजनिक यातायात सेवा जनजीवनको अभिन्न अंग बनिसकेको छ । सहजबजारमा मात्र हैन गाउँघरमा पनि सार्वजनिक यातायात नहुँदा गुजारै नचल्ने अवस्था छ । राज्य चलाउनेहरूलाई भने सार्वजनिक यातायातको महत्त्व स्वीकार गर्न निकै कठिन भएजस्तो छ । यसैले त नेपालमा निजी सवारी साधन चलाउन बन्दाबन्दीले खासै बाधा परेन भने सार्वजनिक यातायात सेवा तीन महिना पुग्दा पनि पूरा खेलिएको छैन । बल्ल काठमाडौं उपत्यकामा ट्याक्सी र फाट्टफुट्ट ठूला बसहरू चलाउन थालिएको छ । यातायात व्यवसायीहरूका केही मागप्रति सरकार सकारात्मक भएको ठहर गरी उनीहरूले सवारी साधन चलाउन थालेको बताएका छन् । कोभिड—१९को संक्रमण रोक्न सवारी साधनमा आधाजति यात्रुमात्र राख्नुपर्ने भएकाले सरकारले ५० प्रतिशत भाडा बढाउने अनुमति दिएको छ ।
कोभिड—१९ को संक्रमण केही समयसम्म अझै भइरहने देखिन्छ । कतै त संक्रमणको तेस्रोसमेत लहर फैलन लागेको छ । विश्व स्वास्थ्य संगठनले खतरा झन् बढ्न सक्ने चेतावनी दिएको छ । यो विश्व महाव्याधिबाट नेपाल जोगिन सकेन । यसैले महाव्याधिसँगै बाँच्ने बानी पार्नुबाहेक सायद हामीसँग अर्को उपाय छैन । यसरी बाँच्ने जीवनशैलीलाई संसारमा ‘नयाँ सामान्य’ (न्यु नर्मल) भन्ने गरिएको छ । धेरै मुलुकहरूमा कोभिड—१९ को संक्रमण नरोकिँदै विद्यालयहरू सञ्चालन गरिएको छ । यस वर्षको आरम्भदेखि फैलेको महाव्याधि रोक्न गरिएको बन्दाबन्दीका कारण विश्व अर्थतन्त्र नै थला परेपछि उद्योग व्यवसाय पनि सञ्चालन गर्न थालिएको छ । यसैले नेपाल सरकारले पनि समस्यालाई निषेध गरेर हैन यथार्थपरक दृष्टिकोण राखेर समाधानका उपायहरू खोज्नुपर्छ ।
अब पुरानै अवस्थामा छिटै फर्कन नसकिने हुनाले नयाँ तौरतरिका अपनाएर जीवन सहज बनाउनुको विकल्प छैन भन्ने यथार्थसकेसम्म चाँडै आत्मसात् गर्नु उचित हुन्छ । सार्वजनिक यातायातका हकमा संक्रमणबाट सुरक्षित हुनेगरी यात्रु व्यवस्थापन गरेर सञ्चालन गर्नुपर्छ । राज्यले पहिलेभन्दा बढी अनुगमनमा ध्यान दिनुपर्छ भने यात्रु, कामदार र व्यवसायी सबैको हित हुने उपायहरू खोज्नु जरुरी हुन्छ । कम क्षमतामा चलाउँदा व्यवसायीलाई हुने घाटा सबै यात्रुबाट मात्र असुल्ने सरकारी निर्णयमा पुनर्विचार हुनु आवश्यक छ भने लामा दूरीमा पनि सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिनुपर्छ । एउटा जिल्लाभर चलाउन दिने हो भने यात्रुहरू जिल्ला सार गरेर पनि लामो दूरीका गन्तव्यमा पुग्छन् । अव्यवहारिक र अन्यायपूर्ण नियम पालना हुँदैन रहेछ भन्ने पाठ त बन्दाबन्दीका बेला लगाइएको आवागमनको उल्लंघनबाट पनि स्पष्ट भएको छ । यसैले सरकार र व्यवसायी दुवै पक्षले सहकार्य गरेर नयाँ परिस्थितिमा सुरक्षितरूपमा सेवा सञ्चालन गर्ने उपाय खोजून् । छोटो दूरीको यातायात खोलिसकेपछि लामो दूरीको सेवामात्र रोक्नु बुद्धिमानी हुँदैन । यसले अपेक्षाकृत गरिबहरूलाई बढी सास्ती र महँगोमात्र हुन्छ । त्यतिमात्र हैन संक्रमणको जोखिम पनि यसरी यात्रा गर्दा बढी हुन्छ । अतः सकेसम्म चाँडो सुरक्षितरूपमा लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर !