काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । र, यो प्रकारान्तरले विभाजनको सन्निकट अवस्था रहेको नेकपाका नेताहरूले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरूलाई बोलाएर पार्टी एकता सङ्कटमा पुगेको र पार्टी एक नरहनसक्ने बताएपछि सङ्कट पार्टी फुटउन्मुख बनेको उनीहरूको भनाइ छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतलनिवासबाट फर्किएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीलाई बालुवाटारमा बोलाएर ‘पार्टी एक नहरहने भो, कता लाग्ने हो कित्ता क्लियर गर्नू’ भनेका थिए । “प्रधानमन्त्रीले मविरूद्ध षड्यन्त्र भइरहेको छ । स्थायी कमिटीमा छलफल भइरहेको छ । स्थायी कमिटीको क्षेत्राधिकार पनि त्यो होइन । स्थायी कमिटीलाई त्यो अधिकार पनि छैन भनेर भन्नुभयो,” प्रधानमन्त्रीसँगको छलफलपछि कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसालले बाह्रखरीसँग भने ।
“मेराविरूद्धमा प्रचार भइरहेका छन् । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउने तयारी भइरहेको छ । म यो दुवै पद छाड्दिनँ । यो सबैलाई ‘बाइ वर्ड’, ‘बाइ स्टेप’ सामना गर्छु । यस्तो अवस्थामा तपाईंहरू कता लाग्ने हो मैले सोध्नुपर्ने हुनसक्छ । त्यसका लागि तयार रहनू,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री भुसालले थपे ।
आफूविरूद्ध षड्यन्त्र भइरहेको बताएपछि मन्त्री भुसालले प्रधानमन्त्री गलत सूचनाको शिकार भएको तर्क गरे । दोस्रो विश्वयुद्धताकाको घटना स्मरण गराउँदै मन्त्री भुसालले प्रधानमन्त्री संयमित हुनुपर्ने र सूचनालाई तथ्यको कसीमा जाँच्नुपर्ने बताएका थिए ।
“अहिले धेरै काम सूचनाले गरेको छ । त्यसमध्ये पनि बनाइएका, ‘फेब्रिकेटेड’ सूचनाले काम गरेको छ । पहिलो विश्वयुद्धमा पोस्टर–पम्लेटहरू बनाइन्थे । मार्केटको लुछाचुँडीमा पुँजीपतिहरूले एक जातिविरूद्ध, अर्का जाति, एक समूदायविरूद्ध अर्को समूदायविरूद्ध पोस्टरहरू बनाएर बेच्थे । पोस्टरमा ‘...हत्यारा हुन् । यिनीहरूकाविरूद्ध उठ, जाग, मार’ भन्थे । को हत्यारा भनेर लेख्दैनथे । त्यसमा जर्मनहरूले फ्रेन्च हत्यारा लेख्थे । फ्रेन्चहरूले जर्मन हत्यारा हुन् भनेर लेख्थे । बेच्ने एउटै पुँजीपति हुन्थे, भनेर त्यतिबेलोका घटना सम्झाउँदै मैले भने,” भुसालले बाह्रखरीसँग भने ।
उनले नेकपाभित्र चलिरहेका विभिन्न खाले गलत हल्ला, अफवाह र सूचनाको तथ्य आफूसँग भएको बताएका थिए । “हिजो पनि त्यस्तै भयो । बालुवाटारमा एउटा सूचना सुनेँ । पछि तथ्यको कसीमा जाँच्दा गलत निस्कियो भनेर प्रधानमन्त्रीलाई भनेँ । उहाँले थप कुरा गर्नुभएन,” भुसालको भनाइ थियो ।
छलफलमा ऊर्जामन्त्री वर्षमान पुनले प्रधानमन्त्रीले मन्त्रिपरिषद्का सदस्यसँग यस्तो कुरा गर्न नहुने भन्दै प्रतिवाद गरेको एक मन्त्रीले बताए । “हामी संसद्का सदस्य हौं । जनताबाट निर्वाचित भएर आएका हौं,” यस्ता कुराहरू यहाँ राख्ने होइन,” पुनको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, “पार्टी संसदीय दल छ । कमिटी छ । छलफल गर्ने फोरम छन् । त्यहाँबाट समाधान गर्न सकिन्छ । विवाद छन्, हल गर्न सकिन्छ ।”
केही मन्त्रीहरू स्थायी कमिटीमा नरहेकाले प्रधानमन्त्रीले पार्टीभित्रको सङ्कटको बारेमा सूचना दिन बोलाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले जानकारी दिए । “स्थायी कमिटीमा नभएका मन्त्रीहरूलाई जानकारी दिन बोलाएको हुँ । पार्टी सङ्कटमा छ । एक नरहन सक्छ भनेर भन्नु भयो,” उनले पनि भने ।