कोरोनाभाइरसको महामारी व्यवस्थापनमा देखिएका कमजोरी र बदनियतको दुष्परिणाम विभिन्नरूपमा देखिन थालेको छ । आर्थिक क्षेत्रको क्षति सरकारले सही नीति अपनाए केही वर्षमा पूर्ति हुनसक्ला तर मानवीय क्षति भने कहिल्यै पूर्ति हुँदैन । त्यसमा पनि शिशु मृत्युमा भएको उच्च वृद्धिले लामो समय लगाएर राज्यले हासिल गरेको उपलब्धि गुमेको लक्षण देखिएको छ । कोभिड—१९ को महामारीपछि बितेका तीन महिनामा गत वर्षका तीन महिनाको तुलनामा लगभग तेब्बर शिशुको मृत्यु भएको छ । सरकारी तथ्यांकअनुसार २०७६ सालको माघ, फागुन र चैतको तीन महिनामा ३१५ शिशुको मृत्यु भएकोमा यस वर्षको सोही अवधिमा १०३८ जनाको मृत्यु भएको छ । गत माघमा नेपालमा पहिलो कोभिड—१९ संक्रमित व्यक्ति भेटिएका थिए ।
कोभिड—१९ को व्यवस्थापनमा क्रममा महत्त्वपूर्ण विभिन्न पक्षमा सरकारको ध्यान नपुगेका कारण महामारी यता शिशु मृत्यु दर चिन्ताजनक दरमा बढेको स्पष्टै देखिन्छ । मृत्यु हुनेमा स्वास्थ्य संस्थामा भन्दा घरैमा मर्नेहरूको संख्या पनि यस अवधिमा बढेको छ । गत वर्ष स्वास्थ्य संस्थामा मर्नेहरूको संख्या धेरै हुन्थ्यो भने यस वर्ष घरमा धेरैको मृत्यु भएको छ । सम्भवतः कोभिड—१९ कै कारण बिरामी बालबालिकालाई स्वास्थ्य संस्थामा लैजान अभिभावकहरू डराएको हुनुपर्छ । संक्रामक रोग फैलेका बेला पनि स्वास्थ्य संस्थामा वैयक्तिक सुरक्षा सामग्री नभएका कारण स्वास्थ्य संस्थामा लगिएका कतिपय बिरामीसमेत उपचारविना फर्काइएका समाचार आएका थिए । यसरी फर्काइनेमा बालबालिका पनि पक्कै थिए होलान् । महामारीका बेलामा बालबालिकाको स्वास्थ्यका विषयमा विशेष ध्यान नदिइँदा नै यति धेरैको अकाल मृत्यु भएको हो ।
देशमा लोकतन्त्रको पुनःस्थापनापछि नेपालमा बाल मृत्युदर उल्लेखनीयरूपमा कम भएको हो । राज्यले जनस्वास्थ्यलाई दिएको महत्त्व, बाल स्वास्थ्यप्रतिको जनचेतना र ग्रामीण क्षेत्रमा पनि स्वास्थ्य संस्थाको विस्तारका कारण बाल मृत्युदर घटाउन उल्लेख्य सफलता हासिल भएको थियो । विसं २०४६ मा प्रतिहजार जीवित जन्मा १०० रहेको शिशु मृत्युदर २०७६ मा २६ मा ओर्लेको छ । अर्थात् ३० वर्षमा अकाल मृत्युबाट प्रतिहजार जीवित जन्ममा ७४ जनालाई बचाउन सकिएको छ । यो चानेचुुने सफलता होइन । यस अवधिमा प्रत्येक वर्ष लगातार लगभग ४ प्रतिशतका दरले शिशु मृत्युदर कम हुँदै गएको देखिन्छ । कोभिड—१९ पछिका तीन महिनामा भने बालबालिकाको मृत्यु दर गत वर्षका तुलनामा ह्वात्तै बढ्नुले आगामी वर्षहरूमा यो घट्ने प्रवृत्ति उल्टिने जोखिम बढेको देखियो । कोभिड—१९ पछिका अवधिमा नियमित खोप कार्यक्रम पनि सञ्चालन हुन सकेको छैन । बाल मृत्युदर कम गर्न खोपको पनि उल्लेखनीय भूमिका हुन्छ ।
कोभिड—१९ ले प्रत्यक्षरूपमा ५ लाखभन्दा बढीको ज्यान लिइसकेको छ । तर, अप्रत्यक्षरूपमा कोभिड—१९ जन्य अरू कारणबाट पनि हजारौंको मृत्यु भएको छ भने यो संख्या अझ बढ्ने जोखिम देखिएको छ । द वासिंगटन पोस्टले अमेरिकी सरकारको तथ्यांक विश्लेषण गरी तयार गरेको प्रतिवेदनमा जनाइएअनुसार महामारीपछि न्यु योर्क सहरलगायतका राज्यमा मृत्युदर गत वर्षको यही अवधिका तुलनामा २७ प्रतिशत बढेको देखियो । यसरी मर्नेहरूमा धेरै मुटुका रोगी रहेको अध्ययनले देखाएको छ । जेहोस्, कोभिड—१९ को संक्रमणबाट जोगिनेहरू पनि यसका स्वास्थ्य व्यवस्थापनमा उत्पन्न गडबडीका कारण मर्नसक्ने रहेछन् । यस्तोमा सरकारले स्वास्थ्य सेवालाई विशेष सजग गराउनु पर्ने देखियो । यसैले बालबालिकालाई अकाल मृत्युबाट जोगाउन त्यसैमा कन्द्रित विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ । स्थानीय तह र प्रदेश सरकारहरूले पनि यसमा ध्यान दिऊन् । बालबालिकाका क्षेत्रमा क्रियाशील अरू सरकारी र गैरसरकारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले पनि यस विषयमा सहकार्य गरेर आफ्नो अस्तित्वको औचित्य सिद्ध गरून् !