पुस्तौं देखि दोहोरिँदै-तेहरिँदै,
एकोहोरो वाचन भइरहेको ,
कथित मेरो संसार र मेरो जीन्दगी
सुक्सुकाउँदै रुने गरेका जीवनका निरीह पात्रहरू,
मेरो जीन्दगीमा तुफान उठे झैं आउँछन्
कहिले म भीमकाय राक्षस बन्न खोजिरहेको हुन्छु
त कहिले दयावान्, उद्धारकर्मी देवता ।
दुनियाँ स्वार्थी र मजाक छ
हजार रंग हुन्छन् यसका
पटक-पटक फेरिन्छन् पात्रहरू
र कैयौंपटक दोहोरिन्छन् अनुहारहरू पनि
म पुलकित कहिल्यै भएको छैन
एउटा अद्भूत र अदम्य साहसी मान्छे देखेर
मेरो मनले दन्त्यकथा को राजकुमार कसैलाई आजसम्म मान्न सकेको छैन
एकतमासले घोडाको टाप बजाउँदै आउने,
र तमाम परिवर्तन गरेर जाने,
तागत कसैले देखाउन सकेन आजसम्म।
मेरी हजुरआमाले साँझमा भन्ने गरेका दन्त्य कथाहरू,
एउटा संशयका रूपमा प्रस्तुत हुन्थे
तर सुखद र शान्त संसारमा त्यसलाई सधैं अवतरण गराइन्थ्यो
म डराएको क्षण क्रान्त हुन्थें
अनि सुखद अन्त्य को साथ लोलाउन पुग्थें
मेरी हजुरआमा आज पनि निरन्तर हुनुहुन्छ
ती राजकुमारका कथाहरू पछिल्लो पुस्ताहरुलाई सुनाउन
सायद, म जति ती उत्तेजित नहुन पनि सक्छन्
न सुन्न पनि सक्छन् ती दन्त्यकथाहरू आजका
नानीहरू ।
सधैं असल र सत्यको जित देखाउने हजुरआमाका ती दन्त्य कथाहरु
मेरो मनभित्र सुटुक्क बसेर मलाई बदलिदिएछ भने
एउटा मीठो आशामा कुर्ने बानी पर्नेछ सायद मलाई
कतै चमत्कार हुने आशा टुसाउँदो हो मेरो मनभित्र पनि
म मान्छे, कतै देउताको प्रतिक्षामा कुरिरहने गर्दो हुँ
राक्षसहरु कथामा जसरी निमिट्यान्न हुने सपना देखाइन्छ
ती अदभूत कथाहरूसँग मेरी हजुरआमालाई सम्झँदै,
आज मलाई पनि त्यस्तै दन्त्य कथाको वाचक बन्ने रहर जागेको छ-
एकादेशमा एउटा राजकुमार थिए
ती असल र सदाचारी थिए
सारा प्रजाका सुख: दु:खका ती रेखदेख गर्थे
राजकुमार जनताको घरमा बास बस्न जान्थे
जनताहरू राजकुमारदेखि असाध्यै खुसी हुन्थे ।
(पुनश्च : राजकुमार एउटा विम्ब मात्र हो ।)