काठमाडौं । लकडाउनका कारण विश्वभरका आर्ट ग्यालरी बन्द छन् । नेपालका ग्यालरी पनि यसबाट अछुतो रहने कुरै भएन । सरकारले लकडाउन घोषणा गर्नु केही साताअघि देखि बन्द भएका ग्यालरीहरू तीन महिना भइसक्दासम्म पनि बन्दै छन् ।
लकडाउन विस्तारै खुकुलो हुँदै छ । तर नेपालमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । यस्तो अवस्थामा लकडाउन पूर्ण रूपमा खुले पनि सामाजिक दूरी कायमै गर्नु उचित हुनेछ । जसका कारण अझै लामो समय नेपालका आर्ट ग्यालरीका ढोकामा झुन्डिएका ताला खुल्ने कुनै सुरसार देखिँदैन ।
यसैकारण हाम्रा ग्यालरी सञ्चालकहरू विस्तारै विकल्पका रूपमा भर्चुअल ग्यालरीको अवधारणामा जाँदै छन् । कुनै ग्यालरीले अनलाइन प्रदर्शनी सुरु गरिसकेका छन् । केहीले कलाकारहरूसँग अनलाइन टक शो सञ्चालन गरिरहेका छन् । एकाध ग्यालरी सञ्चालनको सुरुवात अनलाइनकै अवधारणाबाट अघि बढेका छन् ।
तर अहिले भइरहेका अनलाइन प्रदर्शनी नाफामूलकभन्दा पनि कला प्रदर्शन गर्नेजस्तो मात्रै भइरहेको ग्यालरी सञ्चालकहरू बताउँछन् ।
०००
कलाकार तथा ‘क्लासिक ग्यालरी’ की सञ्चालक सरीता डंगोलले पनि लकडाउनको विकल्पमा भर्चुअल ग्यालरीकै अवधारणालाई आत्मसात् गरेकी छिन् ।
क्लासिक ग्यालरीले यही जुन १५ (मंगलबार) देखि अन्तर्राष्ट्रिय अनलाइन कला प्रदर्शनी सुरु गरेको छ, जुन जारी छ । यसपछि पुनः दोस्रो अनलाइन प्रदर्शनीका रूपमा नेपालका कलाकारहरूको प्रदर्शनी हुँदै छ ।
“अनलाइनमा अवलोकन गर्नु प्रत्यक्ष ग्यालरीमा गएर गर्नुजस्तो हुन्न । तर पनि यो लामो बन्दाबन्दीले कलाप्रेमीलाई र कलाकारहरूलाई पनि आफ्नो कला देखाउने अवसर मिलोस् भनेर अनलाइन कला प्रदर्शनी गरिएको हो,” उनले भनिन् ।
यसको मुख्य उद्देश्य नाफा कमाउनुभन्दा पनि नेपाली र विदेशी कलाकारबीच भर्चुअली भए पनि सम्बन्ध विस्तार गर्नु रहेको उनको स्पष्टोक्ति छ ।
०००
अरूबेला प्रायः चहलपहल भइरहने सिद्धार्थ आर्ट ग्यालरी यतिबेला सुनसान छ । लकडाउन हुनु सातदिन अघिदेखि तीन साताका लागि भनेर ‘प्रिन्ट मेकिङ’ कला प्रदर्शनी भइरहेको थियो ।
तर एकसातामै लकडाउन सुरु भयो । जसको विकल्पमा ती कलालाई अनलाइनमार्फत दर्शकसामु पस्किने निधो भयो । करिब दुई महिना अनलाइनमा प्रदर्शनी जारी रह्यो । सबैले हेरे, लाइक पनि गरे तर बिक्री शून्य ।
यसैकारण अहिले कला प्रदर्शनीको पनि विकल्पमा भर्चुअल टक शो सुरु गरेको ग्यालरी सञ्चालिका संगीता थापा बताउँछिन् । “दुई महिनासम्म राख्दा पनि लाइक सबैले गरे तर बिक्री भएन । त्यसैले अहिले हामीले कलाकारहरूसँगै जुम एपमार्फत टक शो सुरु गरेका छौं,” उनले सुनाइन् ।
यो तीन महिनाको बन्दाबन्दीले ग्यालरीले घाटा त व्यहोर्यो नै । बन्द भए पनि भाडा तिरिराख्नुपर्ने र यो घाटा अझै लामो हुने थापाको अनुमान छ । त्यही भएर कलालाई प्रदर्शनीमा सीमित राख्नुभन्दा पनि यसलाई अझै नयाँ आयामबाट अघि बढाउने तयारी छ ।
०००
मिथिला आर्ट ग्यालरी सञ्चालक तथा कलाकार सुन्दर यादव पनि यो महामारीले कलाकार र ग्यालरी सञ्चालकलाई दीर्घकालीन घाटा हुने बताउँछन् । २०२० को फेब्रुअरीदेखि मिथिलामा बंगलादेशको २ र इन्डोनेसिया, कोरियालगायत नेपाली कलाकारहरूको कला प्रदर्शनी तय थियो ।
तर प्रदर्शनी सुरु हुन नपाउँदै महामारीबाट विश्व प्रभावित बन्यो । अर्थात् विश्व नै लकडाउनमा जानुपर्यो । ग्यालरी बन्द छ कहिले खुल्ने अत्तोपत्तो छैन । तर पनि ग्यालरीमै भएका केही पुराना तथा लकडाउनका सिर्जनालाई सामाजिक सञ्जाल फेसबुकमार्फतै भए पनि दर्शकसामु पुर्याइरहेका छन् । “हामीले अरू ग्यालरीजस्तो अनलाइन प्रदर्शनी भनेर गरेका त छैनौँ । तर ४, ५ जना साथीको समूह बनाएर फेसबुकमा राख्ने गरिरहेका छौं,” उनले भने ।
यसरी बिक्री हुँदैन यादवलाई थाहा छ, तर पनि यति धेरै उत्पादन भइरहेका नयाँ सिर्जना घरभित्रै मात्रै थन्क्याउनुभन्दा सामाजिक सञ्जालका भित्तामार्फत भए पनि केही कलाप्रेमीसामु पुर्याउने कोसिस उनले गरेका छन् । “यो भनेको पेन्टिङ बिक्री हुनेभन्दा पनि प्रदर्शन गर्ने र कलाकारबीच सम्बन्ध बनाइराख्ने बाटो मात्रै हो,” उनले भने ।
०००
अरू ग्यालरीले जस्तै ई–आर्टस् नेपालले पनि लकडाउनको पहिलो साता नै महामारी र लकडाउनको विषयमा कलाकारहरूको तीन साताको अनलाइन प्रदर्शनी गर्यो । तर, ई–आर्टसका लागि यो पहिलो अनलाइन प्रदर्शनी भने होइन । ग्यालरीका सह-संस्थापक तथा कलाकार आशा डंगोल ई–आर्टस् ग्यालरी नेपालको पहिलो अनलाइन ग्यालरी भएको दाबी गर्छन् ।
“हामीले २०१० मा ग्यालरी सञ्चालनमा ल्याएका हौं । स्थापनकालदेखि नै अनलाइन ग्यालरीका रूपमा सञ्चालन गरेका थियौं । जुन पहिलो नेपाली अनलाइन ग्यालरी थियो,” उनले भने । ग्यालरीमा प्रत्यक्ष हेर्नुभन्दा अनलाइनमा रङ, आकार इत्यादिमा केही फरक हुने कुरा डंगोल नकार्दैनन् । तर यो अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने र ‘डिजिटल अभिलेखका लागि राम्रो माध्यम रहेको उनको बुझाइ छ ।
“ग्यालरीमा प्रत्यक्ष भएको प्रदर्शनी सीमित केही कलाप्रेमीसम्म मात्रै पुग्छ भने यो विश्वको जुनसुकै ठाउँमा पनि पुग्ने र कमर्सियल हिसाबमा पनि अझै फराकिलो हुन्छ,” उनी थप्छन्, “हुन त दुवैको आ–आफ्नै राम्रो अनि नराम्रो पाटो त हुन्छ नै तर पनि हाम्रो मुख्य उद्देश्य भनेकै हरेक सिजनालार्ई डिजिटल अर्काइभ गर्नु हो, किनभने अहिले डिजिटल युगको जमाना छ ।”
सिद्धार्थ ग्यालरीका संगीता थापाको कुरामा सहमत गर्दै उनी पनि पछिल्लो डेढ वर्षदेखि नेपाली कलाको स्थानीय बजार राम्रो हुन थालेको महसुस गर्छन् ।
०००
तारागाउँ म्युजियमका सञ्चालक रोशन मिश्र पनि यो महामारीले कला क्षेत्रमा धेरै चुनौती आइपरेको महसुस गर्छन् । तर उनी यो चुनौतीलाई अवसरका रूपमा लिइरहेका छन् । अरू ग्यालरीहरू विस्तारै भर्चुअलमा गएको उनलाई पनि जानकारी छ । उनी भने अनलाइन प्रदर्शनीभन्दा पनि ग्यालरीको वेबसाइट सक्रिय बनाइरहेका छन् ।
किनभने उनका अनुसार प्रत्यक्ष ग्यालरीमा हुने प्रदर्शनीलाई भर्चुअल प्रदर्शनीले कहिल्यै पनि ‘च्यालेन्ज’ गर्न सक्दैन । “अनलाइन प्रदर्शनी भनेको यो समयका लागि एक वैकल्पिक बाटो मात्रै हो । भर्चुअल एक्जिबिसन भनेको अस्थायी मात्रै हो । यो अवस्थापछि पुनः सबै प्रत्यक्ष ग्यालरी भिजिटकै अवधारणामा फर्किनेछन्,” उनले भने ।
उनी अहिले अनलाइन प्रदर्शनीभन्दा पनि ग्यालरीको वेबसाइटलाई कसरी सक्रिय बनाएर आम दर्शकसामु पुग्ने भन्ने तयारीमा जुटेका छन् । साथै यो चुनौतीलाई अवसरका रूपमा लिएर कलालाई प्रदर्शनीको हिसाबभन्दा माथि उठेर अरू पक्षबाट पनि हेर्ने कोसिस गरिरहेका छन् । जसअनुरूप कलाकारहरूको टक शोलाई प्राथमिकता दिएर अघि बढाइरहेका छन् ।
०००
ग्यालरी लाकी सञ्चालक तथा कलाकार अनिशा महर्जन पनि यो महामारीबाट नेपाली कला, कलाकार र ग्यालरीहरूलाई पहिलेकै अवस्थामा फर्किन अझै लामो समय लाग्ने बताउँछिन् ।
“ग्यालरी भनेको किराना पसलजस्तो हुँदैन । जहिले आवश्यक परिराख्ने र लकडाउन खुल्नेबित्तिकै ग्राहक आउन थाल्ने । त्यसैले यो महामारीबाट उम्किन अझै लामो संघर्ष गर्नुपर्ने हुन्छ,” उनले दीर्घकालीन संघर्षबारे प्रस्ट्याए ।
महर्जन र कलाकार लक्ष्मणवज्र लामा मिलेर दुई वर्षअघि मात्रै यस ग्यालरी सञ्चालनमा ल्याएका हुन् । जहाँ अरू ग्यालरीमा जस्तो प्रदर्शनी भइरहँदैन । महिला दिवस र ग्यालरीकै वार्षिकोत्सवमा मात्रै कला प्रदर्शनीमा राख्ने गर्छन् । भने अरू बेला उनीहरूको ग्यालरीमा भएका कलाहरू विशुद्ध बिक्रीका लागि नै हुन्छन् ।
महर्जन भन्छिन्, “अनलाइन प्रदर्शनीमा कला मात्रै शो गर्ने हिसाबमा मात्रै राखिन्छ जस्तो मलाई लाग्छ । किनभने अनलाइनमार्फत नै किन्ने ग्राहक सायद कमै होला ।” त्यसैले यो लकडाउनमा प्रदर्शनीका लागि चटारो उनीहरूमा छैन । तर यसो भने पनि ग्यालरीमा थन्किएका पुराना कला र यो लकडाउनमा कलाकारहरूले सिर्जना गरिरहेका कलाले कहिले ग्राहक पाउने भन्ने अन्योल भने कायमै छ ।