site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जनता समाजवादी पार्टी निर्माणको अर्थ

देश अहिले कोरोनाको कहरमा छ । कोरोना संकट दिनहुँ गहिरिँदो छ । कोरोनाका कारण देशले बन्दाबन्दीको सकस सहिरहेकै बेला हाम्रो संसद्ले राष्ट्रियताप्रति अपूर्व एकता प्रदर्शन गरेको छ । हामी राष्ट्रिय एकता देखाएर कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सालाई संविधान संशोधन गरेर आफ्नो निशान छापमा समावेश गर्न सफल भएका छौँ । तर, यो आलेखमा चर्चा गर्न खोजिएको विषय भने भिन्न छ । 

यतिबेला  जनता समाजवादी पार्टी (जसपा) नेपालको नाममा देशमा नयाँ पृथक राजनीतिक शक्ति निर्माण भएको छ ।  केही दिन पहिलामात्र राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीचको एकीकरणबाट निर्माण भएको जसपाले निर्वाचन आयोगमा दल दर्ता गराई सकेको छ । जसपा गठन हुनुको अर्थ के होला र यसले नेपालको राजनीतीमा के महत्त्व राख्छ ? अनि जसपाको भविष्यको यात्रा कस्तो रहला ? 

सबैभन्दा पहिला त जनता समाजवादी पार्टी नेपाल निर्माणको पृष्ठभूमिबाट चर्चाको थालनी गरौँ । पछिल्लो प्रतिनिधि सभाको चुनावको बेला तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र संघिय समाजवादी पार्टी नेपालले चुनावी तालमेल गरेर भविष्यमा  दुई पार्टीको मिलन हुने सम्भावनाको रेखा कोरेका थिए । दुवै पार्टीले  कम्युनिस्ट गठबन्धनको रापताप हुँदाहुँदै पनि अपेक्षाकृत धेरै स्थानमा जित हासिल गर्न सफल भए । छ वटै प्रदेशमा नेपाल कम्युनिस्ट पार्टीले सरकार बनाउँदा प्रदेश नम्बर २ मा राजपा र समाजवादी पार्टीले गठबन्धनको सरकार बनाएर दुई पार्टीबीच एकीकरणको लाभलाई बुझ्न थप बल प्रदान गरेको थियो । चुनावपश्चात नै यी दुई दलबीच एकीकरणकोे गृहकार्य जारी थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री केपी ओलीले दल टुक्य्राउन सजिलो बनाउने गरी अध्यादेश ल्याउनेबित्तिकै हामी एक हुनुपर्ने भयो । हामीलाई फुटाउन ल्याइएको बदनियतपूर्ण अध्यादेशका कारण उल्टै हामी तत्कालै एकताको धागोमा बाँधिन सफल भयौँ । यस अर्थमा प्रधानमन्त्री ओलस् धन्यवादका पात्र भएका छन् ! 

हाम्रो पार्टी निर्वाचन आयोगमा दर्ता हुँदै गर्दा धेरैले जसपाको आयु किटानसमेत गरिरहेको देख्दा उनीहरुले जसपाको ओजको बारेमा नबुझेको हुनुपर्छ भनी सकारात्मक हिसाबले नै हामीले लियौँ । जसपाका नेताहरु पद र मर्यादाक्रमको विषयमा एकजुट हुनसक्चैनन् भनी समेत आलोचनाहरु भए । तर, मधेस राजनीतिका अगुवाहरु, प्रधानमन्त्री भएर देशको बागडोर सम्हाली सकेका नेताहरूले पद र मर्यादालाई एकीकरणको अवरोधक हुनबाट जसरी बचाए त्यो आफैँमा आलोचकहरुको लागि ठूलो जबाफ हुन पुग्यो । साथै जसपाका शीर्ष नेताहरुले देखाएको लचकता र सहजताले यसको महत्त्वलाई समेत अथ्र्याएको छ । त्यो कसरी भने, जसपा एउटा यस्तो राजनितीक शक्ति हो जसले यो देशमा उत्पीडनमा परेका समुदायका पक्षमा खुलेर आफ्नो धारणा मुखरित गर्दै आएको छ । 

Global Ime bank

उत्पीडित जनता देशको हरेक कुनाकाप्चामा बसोबास गर्छन् । पहिले, मधेस केन्द्रित दल भनेर परिचय पाएका दलहरुले नचाहँदा नचाहँदै केही जिल्लामा सीमित हुनुपर्ने बाध्यात्मक अवस्था थियो । अब पार्टीको आकारमा फैलाबट आएसँगै देशका हरेक जिल्लामा आफ्नो संगठन बनाउन सक्ने सामथ्र्य प्राप्त भएको छ ।  

यो भन्दैगर्दा धेरैको मनमा प्रश्न आउन सक्छ पूरा राष्ट्रिय भनिने दलहरु हुँदाहुँदै पनि जनताले जसपालाई किन रोज्छन होला र ? यो प्रश्न स्वाभाविक हुनसक्छ । यो प्रश्नको ठ्याक्कै जबाफ दिनुभन्दा पहिला एउटा तथ्यबारे प्रस्ट हुनु जरुरी छ । तत्कालीन मधेसवादी दलहरुको सांगठनिक आकार सानो भए पनि ती दलले उठान गरेका विषयहरु राष्ट्रिय नै थिए र छन् । संघीयता, समावेशिता र समानुपातिकता मधेसको मात्र आवश्यकता थिएन, हैन । हिमाल पहाडमा चेपिएर बस्नुपरेका सबै सीमांतकृत वर्गको लागि अपरिहार्य थियो र अहिले पनि छ । 

अब आउँ माथि उल्लेखित सम्भावित प्रश्नको जबाफतर्फ । पुराना रष्ट्रिय भनिने दलहरुले लामो समयसम्म यो देशको सत्ता संचालन गर्ने जिम्मा पाए । तर सीमांतकृत वर्गले किन अधिकार पाएनन् ? आर्थिक र सामाजिकरुपले चेपुवामा परेका जनताको हकहितका लागि के नै गरे ती दलले ? जसपाले आफ्नो संगठन पहाडका अन्य जिल्लामा फैलाउँदा जसपाले बोकेको सीमान्तकृतको विषयबारे उनीहरुलाई स्पष्टसँग भन्नेछ । संविधानमा अपरिहार्य रहेको संशोधनबाहेक राजपाको उद्देश्य समग्रमा सामाजिक न्यायको स्थापना गराउनु नै हो । सामाजिक न्यायको स्थापना नै अहिलेको युगको प्रमुख माग हो जुनविना कुनै पनि देशले दिगो शान्तिको परिकल्पना गर्न सक्तैन । 

संघीयता, समावेशिता र समानुपातिक व्यवस्थामा अहिले पनि नेपाली कांग्रेस र  नेकपा ढुलमुल देखिन्छन् । उनीहरुले बेलाबेलामा यी मुद्दामा बदनियत देखाउँदा जसपा नै सदनदेखि सडकसम्म खुलेर विरोधमा उत्रने र शासकको बदनियतलाई चुनौती दिँदै आएको पार्टी हो । नेपालमा सामाजिक न्यायसँग सम्बन्धित व्यवस्थाको रक्षा गर्न जसपा सिंगो पार्टी एक भएर उभिन्छ ।  

जसपाले आफ्नो विधानमै पूर्ण समानुपातिक निर्वाचनको उल्लेख गरेको छ । नेपालको सन्दर्भमा प्रत्यक्ष र मिश्रित चुनावी प्रावधानको प्रयोग भइसकेको छ । लोकतन्त्रमा चुनाव एउटा ठूलो कडी हो । र चुनावी लोकतन्त्रले प्राप्त उपलब्धिमा समेत धावा बोलेको थुप्रै राजनीतिक घटना नेपालमै भइसकेको छ । तसर्थ पार्टीको विचार, सिद्धान्तलाई मनन गरी समानुपातिक निर्वाचन प्रणालीमा देशलाई लैजाने हाम्रो सम्पूर्ण प्रयास जारी रहनेछ । जनतालाई यसबारे सचेत गराउँदै जनदबाब पनि सिर्जना गराउने नै छौँ । यो नीति वञ्चितीकरणमा परेका जनताकै लागि हो । 

ठूला भनिएका दल र पूर्वाग्रही प्राज्ञिक चिन्तन गर्नेहरुले जसपाका नेताको देशभक्तिमाथि कपोलकल्पित शंका गर्दै आएका छन् । तर, उनीहरुले राष्ट्रवादका नायक बनाएकाहरुको चरित्र पनि जनताका आँखा अगाडि नै छ । भ्रमको पर्दा हालेर सत्य धेरै दिन छोपिँदैन । समय र घटनाक्रमले यी कुरा उद्घाटित गरेको छ र भवष्यमा पनि गर्छ नै । नेपालको संविधान संशोधनका क्रममा संसद्मा हाम्रा पार्टीका नेताद्वय राजेन्द्र महतो र उपेन्द्र यादवले जसरी राष्ट्रियताका पक्षमा दृढ अडान उजागर गरे त्यसले  मधेसीको राष्ट्रियतामा शंंका गर्नेहरुको मुखमा बुजो लगाइदिएको छ ।

जसपाको सबल पक्षमध्ये एउटा देशभक्तिका विषयमा चट्टान झैँ उभिने संकल्प पनि हो । हाम्रा अर्का नेता पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेपालमा साझा पहिचानको इन्द्रेणीको कल्पना गर्छन् । नेपाल मूलतः तीनवटा जातीय समूहको साझा फूलबारी हो । खसआर्य, मधेसी र आदिवासी जनजाती । यी तीनै समूहको समानुपातिक सबलीकरणविना नेपाल अपुरो रहने सबैले स्वीकार गर्नु आवश्यक छ ।

यसको लागि अहिलेको सरकारलाई जसपाले रचनात्मकरुपमा दबाब दिइनै रहनेछ । देशमा सबै सीमांतकृतहरुको सबलीकरण गरी देशबाट सबैखाले द्वन्द्वका सम्भावनालाई समेत हटाउने संकल्प जसपाले लिएको छ । अतः जसपा नेपालको राजनीतिमा एउटा नयाँ प्रयोग र वैकल्पिक शक्तिको रुपमा स्थापित हुनेमा शंका गर्नु पर्दैन । 

(प्रतिनिधि सभा सदस्य, जनता समाजवादी पार्टी, नेपाल ) 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ३, २०७७  ०९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय