काठमाडौं । केही गायक तथा संगीतकारहरूले नेपाली सांगीतिक क्षेत्र पुनः नारायण गोपाल तथा भक्तराज आचार्यकै युगमा फर्किएको बताएका छन् । कोभिड–१९ को महामारीले सांगीतिक क्षेत्रमा हुने आम्दानीका सम्पूर्ण क्षेत्र बन्द हुँदा गीत–संगीतको क्षेत्र नारायण गोपाल तथा भक्तराज आचार्यकै युगमा फर्किएको गायक तथा संगीतकारहरूले बताएका हुन् ।
रेकर्डिङ तथा सांगीतिक कार्यक्रमहरू बन्द हुँदा गीत–संगीतको क्षेत्रमा आम्दानीको स्रोत बन्द भएको र अब यो पेसाभन्दा पनि साधना मात्रै भएको उनीहरूको बुझाइ छ । यता, केहीको मत भने फरक छ । उनीहरू प्रविधिले विकल्पहरू खोज्ने बताउँछन् । आधुनिक प्रविधिको विकास र प्रयोग हुँदै आएको सन्दर्भमा त्यसको प्रयोग नेपाली सांगीतिक क्षेत्रले पनि गर्नेमा उनीहरू ढुक्क छन् ।
“हामीले जिन्दगीभर सिकेको र जानेको भनेको गाउने बजाउने मात्रै हो । बजाए पनि यही बाजा हो नबजाए पनि यही हो,” संगीतकार सुरेश अधिकारी भन्छन्, “मेला, महोत्सव, कन्सर्ट तथा रेकर्डिङ बन्द भएपछि आम्दानीका स्रोतहरू पनि बन्द भएका छन् । कोरोनाको खोपको विकास नभएसम्म यो अवस्था कायम रहन्छ ।”
संगीतकार अधिकारी अब व्यवसायभन्दा पनि गीत–संगीत साधना मात्रै भएको बताउँछन् ।
गीत–संगीत भनेको देशको संस्कार र संस्कृति भएको भन्दै उनी देशको मेरुदण्डका रूपमा रहेको सांगीतिक क्षेत्रलाई राज्यले नजरअन्दाज गर्न नहुनेमा जोड दिन्छन् । राष्ट्र र राष्ट्रियताको कुरा उठिरहेका बेला राष्ट्रको पहिचानका रूपमा रहेको सांगीतिक क्षेत्रलाई सरकारले बेलैमा ध्यान दिनुपर्ने उनको धारणा छ ।
अहिलेको अवस्थामा डिजिटल प्लेटफर्म कलाकारको आम्दानीको स्रोत हुन सक्ने भए पनि सरकारले प्रतिलिपि अधिकार सुरक्षित नगर्दा यो पनि विकल्पबाट स्रष्टाहरू वञ्चित हुनुपरिरहेको अधिकारी बताउँछन् ।
गायक हेमन्त शर्मा अबको केही वर्ष सांगीतिक क्षेत्रबाट आम्दानी गरेर जीविकोपार्जन गर्न कठिन हुने बताउँछन् । “जुन समय गीत साधनाका लागि मात्रै गाइन्थ्यो, व्यवसायका रूपमा लिँदैन थियो ठीक त्यस्तै अवस्थामा अहिले हामी आइपुगेका छौं,” शर्मा भन्छन्, “जसरी नारायण गोपाल, भक्तराज आचार्य, गोपाल योञ्जनहरू गीत–संगीतलाई साधना मात्रै सम्झिएर गाउनुहुन्थ्यो, अहिलेको समय पनि त्यस्तै भएको छ ।”
कम्तीमा अबको डेढ–दुई वर्ष कलाकारले मञ्च नपाउने र रेकर्डिङमा पनि कमी आउने उनको भनाइ छ । गीत–संगीतलाई साधनाका रूपमा लिने र अन्य वैकल्पिक स्रोतबाट जीविकोपार्जन गर्नेहरूलाई मात्रै अबका केही वर्ष सहज हुने उनी बताउँछन् ।
गायक रामकृष्ण ढकाल कोरोनाका कारण सांगीतिक क्षेत्रमा भइरहेको लगानी घट्ने बताउँछन् । विदेशमा हुने नेपाली गीतकार तथा संगीतकाहरूले ठूलो लगानी गरिरहेको भन्दै त्यताबाट हुने लगानीमा कमी आउने उनको भनाइ छ ।
“अब आफैंले लगानी गरेर गीत निकाल्नुपर्ने अवस्था छ,” रामकृष्ण भन्छन्, “बाहिरबाट हुने लगानी कम भएपछि हामी आफैंले लगानी गरेर स्रोता तथा दर्शकका लागि आफ्ना गीत ल्याउनुपर्ने अवस्था छ ।” ओपन कन्सर्टजस्तै भर्चुअल कन्सर्टमा जानुपर्नेमा उनी जोड दिन्छन् । नयाँ डिजिटल प्लेटफर्म र कपिराइटको अधिकार सुनिश्चित गर्नसके कलाकारका लागि सहज हुने रामकृष्ण बताउँछन् ।
गायक सत्यराज आचार्य आफ्नो बुबा (भक्तराज) तथा नारायण गोपालकै युगमा सांगीतिक क्षेत्र नपुगे पनि कालो बादल भने लागेको बताउँछन् । “यो समय सबैभन्दा ठूलो असर ओपन कन्सर्ट गर्नेहरूलाई परेको छ । त्यसैले यो समय सांगीतिक क्षेत्रमा संकटकालको अवस्था नै छ भन्न सकिन्छ,” उनी भन्छन्, “तर ओपन कन्सर्टबाहेकका काम सुरु भइसकेका छन् । गीत रेकर्डिङको काम सुरु भइसकेको छ । विद्यार्थीलाई पढाउने काम सुरु भइसकेको छ ।”
प्रविधिमा आएको विकासले विकल्पहरूको ढोका खोल्ने उनको भनाइ छ । जुमबाट अन्तर्वार्ताहरू भइरहेको भन्दै उनी घरमै रेकर्ड गरेर गीत तयार भइरहेका कारण पनि विकल्पहरूको खोजी हुनेमा उनी ढुक्क सुनिन्छन् ।
गायक शिव परियार पनि विकल्पहरूको खोजी हुनेमा आशावादी छन्् । मान्छेका लागि गीत–संगीत अनिवार्य जस्तै भइसकेकाले विकल्पहरू आउँदै जानेमा उनी विश्वस्त छन् ।
“हिजोका दिनमा गीत–संगीत कसैका लागि साधना, कसैका लागि सोख र कसैका लागि मनोरञ्जन थियो होला । तर उहाँहरू पनि खुसीखुसी नै बाँच्नु भएको थियो । तर आज गीत साधना मात्रै रहेन पूर्ण व्यवसाय भइसकेको छ,” शिव भन्छन्, “सुरुमा यो क्षेत्रमा नामका लागि रहर लाग्छ । रहरले काम गर्दा–गर्दै नाम दिन्छ र विरासत बन्छ । पछि त्यही विरासत बचाउन आर्थिक अवस्था कमजोर हुँदा पनि गायक–गायिकाले यही क्षेत्रमा काम गरिरहेका हुन्छन् । पक्कै पनि केही समयका लागि तुलनात्मक रूपमा कठिन होला तर प्रतिभावानहरूका लागि पक्कै पनि विकल्पहरू आउँदै जान्छन् ।”
लकडाउनका कारण गीत–संगीतका अधिकांश काम बन्द छन् । लकडाउन सकिएपछि पनि सामाजिक दूरी कायम राख्नुपर्ने अवस्थाले कन्सर्ट तथा मेला महोत्सव नहुने भएका कारण स्टेज पफर्मेन्सलाई नै आम्दानीको मुख्य स्रोत बनाउनेका लागि कठिन हुने गायक–गायिकाहरू बताउँछन् । स्टेज पफर्मेन्स नै नहुने भएपछि चार–पाँच लाख रुपैयाँ खर्च गरेर गीत बजारमा ल्याउन कठिन हुने गायक हेमन्त बताउँछन् । “लगानी गरेरै भए पनि गीत नल्याउँ दर्शक स्रोताले बिर्सिएलान् भन्ने चिन्ता निकालौं भने ठूलो लगानी लाग्छ तर रिटन्र्स हुँदैन,” हेमन्त भन्छन् ।