site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारविरूद्ध सडकमा– लिपुलेक त समेट्यौ, १० अर्बको  हिसाब खोई ?
SkywellSkywell

काठमाडौं । ‘कोभिड–१९; इनफ इज इनफ’ ग्रुपमा शुक्रबार राति अबेरदेखि समस्या आयो । दिउँसोसम्म स्वःस्फूर्त रूपमा आन्दोलनमा जुट्न आह्वानसहितका नारा ग्रुपमा पोस्ट भएका थिए । 

बेलुका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का छद्म नामधारी युवा प्रवेश गरेर समूहमा जोडिएकालाई भड्काउन थाले । शनिबारको माइतीघर मण्डलामा हुन लागेको प्रदर्शन संविधान संशोधनविरूद्धको भड्काव हो भनेर पोस्ट गर्न थालेपछि आन्दोलनप्रति संशय उत्पन्न भयो ।

शुक्रबार बेलुकीको घटना सम्झँदै आन्दोलनको अगुवाइ गरिरहेकी नग्मा भन्छिन्, “आन्दोलनलाई प्रायोजित भनियो । लिपुलेक, लिम्पियाधुरालाई नक्सामा समेटिएको विरोधमा युवा सडकमा आएका हुन् । संविधान संशोधन हुने दिन सडकमा किन आउनु ? भनेर प्रश्न गरियो ।”

KFC Island Ad
NIC Asia

सरकार समर्थित युवा पसेर भड्काउन थालेपछि एडमिनले कोभिड–१९; इनफ इज इनफलाई हतारहतार आर्काइभ गरे । पोस्टहरू हेर्न मिल्थ्यो, नयाँ पोस्ट गर्न मिल्दैनथ्यो । शनिबार बिहानसम्म समूह ‘सक्रिय’ नभएपछि आन्दोलन अनिश्चित पनि बनेको थियो ।

तर, बिहान १० नबज्दै भित्री गल्ली हुँदै छिरेका युवा माइतीघर मण्डलामा भेला भइसकेका थिए। बिहानैदेखि चोक–चोकमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको थियो। तै पनि उनीहरू प्रहरीको आँखा छल्दै प्रदर्शनस्थल आइपुगे ।

Royal Enfield Island Ad

थापाथली, रामशाह पथ, बबरमहल क्षेत्रमा तैनाथ प्रहरीले बटुवालाई समेत रोकेर राखेका थिए । मिनेट–मिनेटमा माइकिङ गरेर माइतीघरमा भेला भए सङ्क्रामक रोग निवारण ऐनका दफा लगाएर कारबाही गर्ने चेतावनी दिइरहेका थिए । 

प्रहरीले गौंडागौंडामा त रोकेको थियो नै, पेटीमा हिँड्ने बटुवालाई समेत केरकार गरिरहेको थियो । प्रहरीको कडा निगरानीका कारण युवा नाकामै रोकिएको प्रदर्शनमा आएकी महिमा श्रेष्ठ बताउँछिन् । प्रहरीले नाकाबाटै फर्काएका कारण आन्दोलनकारीको संख्या घटेको थियो । मङ्गलबार, बिहीबारको तुलनामा प्रदर्शनकारीको संख्या केही खुम्चियो । “प्रहरीको आँखा छलेर यहाँ आउनुपर्‍यो,” उनी भन्दै थिइन्, “प्रहरीले रोक्ला भनेर प्लेकार्डसमेत नलिइ आएँ,” श्रेष्ठले थपिन् ।

कालापानीको नारा थपियो
सरकारविरूद्ध सहरी विद्रोह झाँगिएपछि अनेरास्ववियू, राष्ट्रिय युवा संगठनका नेता–कार्यकर्ता हतप्रभ बनेको आरोप प्रदर्शनकारीको छ । उनीहरूले समूहको एडमिन, मोडरेटरलाई लाञ्छित गर्न खोजेको उनीहरू गुनासो गर्छन् ।

शनिबारै संसद्मा नयाँ नक्सा अनुकूलन हुने गरी निशाना छाप परिवर्तन गर्न संविधान संशोधन पारित गर्न लागिएकाले प्रदर्शनकारीलाई ‘विरोधी जमात’ चित्रण गर्न सजिलो पनि भएको थियो । सामाजिक सञ्जालमा सक्रिय युवाले नै प्रदर्शनकारीलाई शनिबारको आन्दोलन आइतबार धकेल्न र लाञ्छनाबाट बँच्न सुझाइरहेका थिए । कोभिड–१९ को बेथितिलाई केन्द्रीय मुद्दा बनाइरहेका युवाले कालापानी– लिपुलेक भूभागलाई नक्सामा समेटेकोमा धन्यवाद थपेका थिए ।

“लिम्पियाधुरा क्षेत्रलाई नक्सामा समेटेको सिंगो देशले नै सरकारलाई धन्यवाद दिइरहेको छ । हामीले पनि दिई नै रहेका थियौं । कोभिड–१९ को बेथिति यसैले छोप्न पाइँदैन भनेर हामीले हिसाब मागेका हौं । संयोगले आजै संविधान संशोधन प्रस्ताव पारित गर्ने दिन भएकाले सरकारलाई बधाइ दियौं,” आन्दोलनकारीमध्येकी श्रेष्ठ कारण बताउँछिन् ।

विवेकशील नेपाली दलका पूर्वअध्यक्ष उज्ज्वल थापा र वर्तमान अध्यक्ष मिलन पाण्डे यही सन्देशसहितको प्लेकार्ड बोकेर मैदानमा आएका थिए । यद्यपि उनीहरूले राजनीतिक सहभागिता नभई युवाको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन आएको बताउँछन् ।

“आन्दोलनमा विवेकशील नेपाली दलका अध्यक्षसहितका केन्द्रीय नेताहरू सहभागी हुनुहुन्छ । तर, यो हामी राजनीतिक हिसाबले आन्दोलनमा सरिक भएका होइनौं । मुद्दामा संलग्नता हो । युवा जहाँ उभिन्छन्, विवेकशील पनि त्यहीँ उभिन्छ,” केन्द्रीय सदस्य रजिया बानु प्रस्ट्याउने कोसिस गर्दै थिइन् ।

गुलाफको फूल र सामाजिक दूरी
युवाको आन्दोलन रचनात्मक र अहिंसात्मक छ । गान्धीवादी शैली पछ्याएका छन् भन्दा हुन्छ । भ्रष्टाचार कोभिड–१९ भन्दा चर्को बनेको र पुस्तैनी रोग बनेकाले यसकाविरूद्ध अहिंसात्मक विद्रोह, सहरी विद्रोह, युवा विद्रोह अत्यावश्यक भएको उनीहरूको बुझाइ छ । त्यसैले आन्दोलनलाई उनीहरूले सकेसम्म सिर्जनात्मक बनाउने कोसिस गरेका छन् ।

बिहीबारको आन्दोलनमा सामाजिक दूरी खज्मजिएपछि आजको आन्दोलनमा उनीहरू आफैंले कडाइ गरेका थिए । प्रहरीले मण्डलामा उभिन दिएको थिएन । मण्डलामा उभिन नपाउने भएपछि उनीहरूले दक्षिणतर्फको सडकपेटी ‘अकुपाइ’ गरेका थिए । पत्रकारलाई समेत दूरी कायम गर्न सुझाएका थिए ।

प्रदर्शनकारीको संख्या थपिँदै गएपछि प्रहरीले उनीहरूलाई सर्भिस लेन उपलब्ध गराएको थियो । र, उनीहरू सर्भिस लेनमै एकएक मिटरको सामाजिक दूरी कायम गरेर प्रदर्शन गरेका थिए । आन्दोलनको अर्को सिर्जनात्मक पक्ष, प्रदर्शनमा सहभागीले नाराबाजी पनि गरेनन् ।

“हाम्रो अहिंसात्मक, शान्त विद्रोह हो । नाराबाजी त के ताली बजाउनसमेत निषेध गरेका छौं,” के एन्ड के कलेजका एकजना छात्र भन्दै थिए, “प्रदर्शनकारी कसैले नाराबाजी ग¥यो भने हाम्रो समूहको होइन भनेर प्रहरीलाई पहिचान गर्न पनि सहज बनाइदिएका छौं ।”

नयाँ नक्सालाई स्वागत छ तर १० अर्ब खोई ? (तस्बिरमा)

मङ्गलबारको प्रदर्शनमा पानीको फोहोराले तितरबितर बनाउन खोजेपछि बिहीबार युवाले प्रहरीलाई ‘मामा’ को उपमा दिएका थिए । ‘के भन्लिन् आमाले, कुटेभन्दा मामाले’ भन्दै प्रहरीलाई संयम बनाउने नारासमेत पहिल्याएका थिए । शनिबार प्रदर्शनकारीले हातमा गुलाफको फूल बोकेर आएका थिए । हिसाब माग्दा भाटा तेस्र्याएकाले फूल उपहार दिएको उनीहरूको जवाफ थियो ।

स्वयंसेवक चिन्न हरियो रिबन
कोभिड–१९; इनफ इज इनफको मोडरेटरमा नग्मा श्रेष्ठलगायत २० युवा छन् । उनीहरूमध्ये धेरैको आपसमा चिनजान छैन । सरकार सुध्रियोस् भन्ने समान भावना छ । त्यही सूत्रले उनीहरूलाई ग्रुपमा जोडेको छ । 
समूहमा एउटाले आन्दोलनमा सहभागी हुन आह्वानसहित पोस्ट गर्छ । त्यही सबैले सेयर गर्छन् । आन्दोलन खर्चिलो छैन । प्लेकार्डको बन्दोबस्त आफैं गर्छन् ।

शनिबारको प्रदर्शनमा अगुवा चिन्न सजिलो होस् भनेर हातमा हरियो रिबन बाँधेका थिए । “यो स्वयंसेवकको पहिचान हो । हुन आन्दोलनकारी सबै स्वयंसेवक हुन् । तै पनि व्यवस्थापन गर्न सजिलो होस् भनेर रिबन बाँध्ने उपाय पहिल्याएका हौं,” उनले भनिन् ।

पाँच विदेशी पक्राउ
आन्दोलनमा नाराबाजी निषिद्ध थियो । तर, प्रदर्शन सुरु नहुँदै एकजना युवा प्लेकार्डसहित मण्डलमा उभिन आइपुगे । “सरकारको हातमा रगत छ,” भन्दै चिच्याएका उनलाई सुरुमै प्रहरीले पक्राउ गरेका थिए । प्रहरीको भ्यानभित्रैबाट उनले आफूलाई ‘ई’ नामले चिनाएका थिए । 

‘ई’ नाम दिएका उनी नाराबाजी गर्न थालेपछि प्रदर्शनकारी युवा हाम्रो समूहको त होइन, कहाँबाट आएका हुन् थाहा छैन भनेर पन्छिएपछि प्रहरीले पक्राउ गरेको थियो । उनी नै आन्दोलनकारीका अगुवा ईशान अधिकारी भएको प्रदर्शनकारी बताउँछन् ।

प्रदर्शनमा विदेशी नागरिक पनि सहभागी भएको प्रहरीको दाबी छ । माइतीघर मण्डलको दक्षिणतर्फको सडकपेटीबाट अमेरिकी युवतीसहित एक नेपाली सुरुमै पक्राउ परेका थिए । प्रहरीलाई ‘हात नलगाउनुस्’ भनेर हप्काइरहेका ती नेपालीले आफूलाई पक्राउ गरेको कारणबारे केही थाहा नभएको प्रतिक्रिया दिएका थिए ।

उनीहरू दुवै प्रदर्शनकारी नै भएको निष्कर्ष प्रहरीको छ । तीबाहेक एकजना चिनियाँ नागरिक पनि पक्राउ परेको प्रहरीले बताएको छ । चिनियाँ र अमेरिकीसहित पक्राउ पर्ने विदेशी नागरिकको सङ्ख्या पाँच रहेको प्रहरीको भनाइ छ । उनीहरू सबै आन्दोलनकारी नै भएको प्रहरीले निचोड निकालेको छ ।

राष्ट्रिय गानबाट समापन
कार्यक्रमको आरम्भमा बज्ने राष्ट्रियगान माइतीघर परिसरमा भने समापनमा गुञ्जिएको थियो । युवा राष्ट्रिय भावनाले ओतप्रोत छन् भनेर सन्देश दिएको महिमा श्रेष्ठले बताइन् । “वयोवृद्ध अवस्थामा रहेका शासकहरूमा देशको माया छैन । भ्रष्टाचार गरेर अकुत कमाएका छन् । उनीहरू जहाँ पनि सेटल हुन सक्छन् । हाम्रो त यही भूमि हो,” बैंग्लोरमा अध्ययनरत श्रेष्ठले बाह्रखरीसँग आक्रोश पोखिन्, “हाम्रो ठूलो माग छैन, कोभिडको खर्च पारदर्शी गर, पीसीआर परीक्षणको दायरा बढाऊ, कोरोना भाइरसबाट बचाऊ । सरकारले सुन्दैन भने त आन्दोलनको के विकल्प हुन्छ ?”

सरकार कोरोनाविरूद्धको लडाइँमा पूर्णतः असफल भइसकेको नग्माको निष्कर्ष छ । कोभिड–१९ को महामारीमा पनि सरकारले भ्रष्टाचारलाई निरन्तरता दिएका युवा बाध्य भएर सडकमा आएको उनले बताइन् ।
“हामीले जति सहन सह्यौं । अब भ्रष्टाचारको निर्मूल नगरी सडकबाट फर्किंदैनौं,” मिस युनिभर्स–२०१७ की टाइटल विजेता नग्माले सम्झिएजस्तो गरी भनिन्, “भ्रष्टाचार निर्मूल पार्ने त सरकारको पनि नारा हो क्यारे । हाम्रो आन्दोलनले सरकारलाई नै सघाएको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro