काठमाडौं । नेपालीहरूले परम्परागत डाक्टरको उपमा दिने झाँक्रीले साबुन पानीले हात धोइरहेका छन् । भने नेवारी समुदायका लाखेले स्यानिटाइजर हातमा लगाइरहेका छन् ।
पार्श्वमा नेपाली बाजाको धुनसहित भनिरहेको छ हात धोएर अनि घरघरमै बसेर यो युद्धलाई जितौँ ।
यो दृश्य हो, शनिबार सार्वजनिक भएको दीपक वज्राचार्यको गीत ‘कोरोना ।’
गायक वज्राचार्यले अहिले विश्व नै लडिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि यस जनचेतानामुलक गीत तयार पारेका हुन् ।
युनिसेफ दक्षिण एसियाको सहकार्यमा तयार पारेको यस गीतमा दीपकलाई उनकी छोरी चेरिसा वज्राचार्यले गायकीमा साथ दिएकी छन् ।
माथि उल्लिखित दृश्यलाई अझै प्रष्ट्याउँदै गायक वज्राचार्य भन्छन्, “कोरोना भाइरसले कसैलाई चिन्दैन । यो रोग जसलाई पनि लाग्न सक्छ । त्यसैले धर्मकर्म भनेको एक ठाउँमा छ । तर, अहिले हामीले ध्यान दिनुपर्ने कुरामध्ये साबुन पानीले हात धुने अथवा स्यानिटाइजर लगाएर संक्रमणबाट बच्नु नै रहेको छ । जसरी भिडियोमा झाँक्री अनि लाखेले पनि आफ्नो ज्यान बचाउन त्यसै गरिरहेका छन् ।”
गीतका शब्द र भिडियोले यो भयावह समयमा नअत्तालिन र सबै एकजुट भई सकारात्मक सोच र सावधानीका साथ महामारीको अन्त्य गर्न सुझाएको छ ।
कोरोनाबाट बच्न लकडाउनलाई पालना गरी सबै घरघरमै बसिरहेका बेला दीपक, उनकी छोरी र रिदम ब्यान्ड भने काठमाडौंको विभिन्न ठाउँमा निस्किरहेका थिए ।
ज्यानको माया त पक्कै लाग्छ, तर पनि काँधमा भएको एक महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्न उनीहरू आवश्यक सावधानी अपानाएर कहिले अस्पताल, कहिले रोड गरी करिब एक साता जति यसकै तयारीमा धाइनै रहे ।
छायांकनको दिन सम्झँदै उनी भन्छन्, “भिडियो राम्रो बनाउनु पर्छ भनेर हामीले अस्पताल, अनि बाटोमा खटिरहनु भएका प्रहरी लगायतलाई पनि भिडियोमा समेटेका थियौं । तर, युनिसेफको आफ्नै नियमहरू भएकाले ती कुराहरू भिडियोमा राख्न पाएनौं ।”
उनले थप्दै भने, “ब्यान्डका सदस्यहरू, लगायत अरू साथीहरू पनि भएको र टिम अलि ठूलो भएकाले हामीले सामाजिक दूरी कायम गर्दै विभिन्न पक्षमा ध्यान दिँदै बनाउनुपर्ने भएकाले अलि समय पनि लाग्यो र केही गाह्रो पनि भयो । अन्तमा भिडियो राम्रो बनेको छ त्यसमा खुसी छु ।”
भिडियोका लागि धेरै टिम चाहिएको भएर मान्छेहरू धेरै देखाउँदा गलत सूचना जान्छ कि भन्ने डर भने छायांकनको समयमा भइरहेको उनले बताए ।
युनिसेफले मनमगन जस्तै भिडियो बनाउन सुझाएको तर यो समयमा सम्भव नहुने भएकाले केही हदसम्म भने त्यो फ्लेवर दिन प्रयास गरेको उनले बताए । जसमा परम्परागत नेवारी बाजागाजा, नेपाली भिन्नभिन्न पोसाक तथा झाँक्री र लाखे लगायतका कुराहरू समेटेर नेपालको कला प्रस्तुत गर्न खोजेको गायक वज्राचार्यले बताए ।
मनमगनभन्दा पनि यो गीतले दर्शकको धेरै माया र साथ पाइरहेकाले उनी निकै दंग छन् ।
यो नेपालले मात्र नभई सार्कका आठै राष्ट्रहरूले आ–आफ्नो भाषामा गाउने तयारी भइरहेको जानकारी उनले दिए । तर, संगीत भने दीपककै हुनेछ । तर, शब्द र भिडियोमा भने केही थपघट हुनसक्ने उनले बताए । जसमा नेपालबाट नेपाली भाषामा दीपकले र अंग्रेजी भाषामा उनकी छोरी चेरिसाले गायकी छन् ।
युनिसेफले सार्क राष्ट्रमध्ये सबैलाई दिएको यस जिम्मेवारीमा नेपाल अगाडि बढेर पहिलो पहल गर्दै आफ्नो संस्कृति झल्कने गीत र भिडियो तयार पार्न सफल भएकोमा गायक वज्राचार्य निकै नै गौरवान्वित महसुस गरिरहेका छन् ।
जसको तारिफ वर्ल्ड युनिसेफ लगायत नेपाली दर्शकहरूबाट पनि पाइरहेकोमा उनले खुसी व्यक्त गरे । साथै नेपाली मिडियाले पनि समयसापेक्ष गीतका लागि स्वागत गरेको उनले बताए ।
कोरोनाका कारण अस्ट्रेलिया र न्युजिल्यान्डको सांगीतिक कार्यक्रम स्थगित गरेर चैतको पहिलो साता नेपाल आएका रिदम ब्यान्डका टिमहरू १४ दिन घर नगई क्वारेन्टाइनमा बसे ।
क्वारेन्टाइनको त्यो समयमा रिदम ब्यान्डले युनिसेफसँग यो जिम्मेवारीपूर्ण काममा सहकार्य गर्ने मौका पाएको थियो । जसअनुसार शब्द पनि त्यही समयमा ब्यान्डकै सदस्य रिक्की शाक्यले भरेका हुन् । भने संगीत दीपक स्वयंले दिएका हुन् ।
यो लकडाउनको समयमा यति ठूलो अनि राम्रो उद्देश्य बोकेको प्रोजेक्टमा सहकार्य गर्न पाएकोमा गायक वज्राचार्य निकै खुसी छन् ।
करिब २ महिना लामो होम क्वारेन्टाइनको बसाइपछि छायांकनका लागि पहिलो दिन पूरै काठमाडौं घुम्दा उनी अक्कनबक्क भएका थिए ।
राति पनि ननिदाउने काठमाडौंमा दिउँसै सुनसान देख्दा उनी अनौठो महसुस गरिरहेका थिए । “त्यस्तो ह्यापेनिङ दरबारमार्गतिर पनि सुनसान अनि चिल, चराहरू पनि निकै तल–तल आएर उडिरहेको देख्दा केही समय म त त्यो दृश्य हेर्नमा हराएँ ।”
यद्यपि उनी काठमाडौंको त्यो चहलपहल र जीवन्त रूप फेरि हेर्न र जिउन आतुर भइसकेका छन् । चाँडै नै यो कुराको अन्त्य होस् भन्ने प्रतीक्षामा उनी छन् ।
यसो भन्दैमा हामी आत्तिन नहुने वज्राचार्य बताउँछन् । “न डराउनु, न आत्तिनु तर होसियार हुन जरुरी छ । सामाजिक दूरी कायम गर्ने, स्यानिटाइज र हाइजेनिक हुने बाहेक हामीसँग अहिले अरू केही उपाय छैन यो महामारीसँग लड्नका लागि । त्यसैले मैले गीतमार्फत् पनि र अहिले पनि यही भन्छु सबैजना सुरक्षित हुनुस् ।”
गायक वज्राचार्यले गीतमा भने जस्तै एकअर्कासँग टाढा बसेरै तर एकजुट भएर कोरोना हटाउन अनुरोध गरेका छन् ।