अभिनेता खगेन्द्र लामिछानेले ०७७ साउन ३० गतेलाई रिलिज डेट लिएर चलचित्र ‘पानी फोटो’ निर्माण/निर्देशन गरिरहेका थिए । कोरोना संक्रमणको जोखिम नेपालमा पनि उच्च रहेको भन्दै सरकारले ठूलो संख्यामा भेला नहुन तथा समूहमा जम्मा भएर गरिने काम नगर्न भनिसकेको थियो । हेल्थ क्लब तथा सिनेमा घरहरू बन्द गर्न निर्देशन दिइसकेको थियो । खगेन्द्रले त्यहीबेला फाइनल एडिटिङ गरेर बाँकी काम सम्बन्धित व्यक्तिलाई दिइसकेका थिए । फाइनल एडिटिङ गरेको चार दिनमा लकडाउन भयो ।
अहिले ब्याकग्राउन्ड स्कोर, साउन्ड डिजाइन र कलर करेक्सनको काम भइरहेको छ । “सबैले ब्याकग्राउन्ड स्कोर, साउन्ड डिजाइन र कलर करेक्सनको काम घरमै बसेर गरिरहनुभएको छ । सबै काम अन्तिम चरणमा पुगेको छ । अब म बसेर एकपटक हेरेर मिक्सिङ गरेपछि चलचित्रको फाइनल प्रिन्ट तयार हुन्छ,” खगेन्द्र भन्छन्, “स्टुडियो सेटअप घरमै भएकाले आरामले काम गरिरहेका छन् । लकडाउनमा पनि काम रोकिएको छैन । पर्याप्त समय भएकाले राम्रोसँग काम भइरहेको छ ।”
चलचित्रको काम चलिरहेका बेला खगेन्द्र अरू काममा पनि व्यस्त रहे । दसैंलक्षित गर्दै साउनमा खगेन्द्र उपन्यास सार्वजनिक गर्ने तयारीमा थिए । त्यही बेला बुक फेयर पनि हुन्थ्यो । त्यही मौकामा पाठकमाझ आफ्नो उपन्यास पुर्याउने तयारिमा थिए । तर समय बदलियो । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वभर फैलियो । नेपालमा पनि त्यसले फणा फिँजाएपछि अवस्था सहज रहेन । खगेन्द्रको पूर्वनिर्धारित योजना पूर्वनिर्धारित समयमा नहुने भयो ।
उपन्यास साउनमा नआउने पक्कापक्की भएपछि खगेन्द्रले फेरि त्यसलाई रि–राइट गरे । “एकपटक पढेपछि ठाउँठाउँमा यसो गर्न सके अझै राम्रो हुन्छ भन्ने लाग्यो र त्यसमा पुनः रि–राइट गरेँ,” उनी भन्छन्, “वास्तवमा मेरा लागि यो निकै राम्रो हो ।”
डिलरहरूले खगेन्द्रसँग उनको कथा संग्रह ‘फुलानी’ गत वर्ष नै रि–प्रिन्ट गरेर भए पनि दिन भनेका थिए । तर उनले उपन्यास र ‘फुलानी’ एकैपटक प्रिन्ट गर्ने भनेर बसेका थिए । त्यसमा रहेका केही कमजोरी पनि खगेन्द्रले सच्चाएर प्रिन्टमा लैजान तयार पारे ।
उनको नाटक संग्रह ‘पानी फोटो’ पनि प्रिन्टमा जाँदै छ । यसमा भने उनले निकै परिमार्जन गर्दै छन् । जस्तै पुस्तकको नामै परिवर्तन गरेर ‘पानी फोटो’ बाट ‘खगेन्द्र लामिछानेका नाटकहरू’ राख्दै छन् । कारण ‘पानी फोटो’ नामक चलचित्र नै बन्ने भएपछि उनले नाम परिवर्तन गर्ने सोच बनाएका छन् ।
दुईवटा नाटक पनि थप्दै छन् । ‘अटलबहादुरको आतंक’, ‘दाँतको डोब’ उनले थप्न लागेका नाटक हुन् । अटलबहादुरको आतंक’ गुरुकुलको अन्तिमनाटक पनि हो । यसमा खगेन्द्र गेस्ट डाइरेक्टर भएर काम गरेका थिए ।
“नाम परिवर्तन गरे पनि पाठकलाई स्पष्ट जानकारी दिन भूमिकामा यसबारे लेख्छु,” खगेन्द्र भन्छन्, “यो नाटक संग्रहको काम पनि यही लकडाउनमा गरेँ ।”
चलचित्रको काममा खगेन्द्र धेरै व्यस्त भएकाले लेखनको काम ओझेलमा परेको थियो । यो लकडाउनमा यसबाहेक सिर्जनाको क्षेत्रमा अरू पनि काम गरेका छन् । त्यसलाई बिस्तारै बाहिर ल्याउने उनी बताउँछन् ।
मनोवैज्ञानिक त्रासका कारण धेरैले आफूलाई सिर्जनशील क्षेत्रमा सक्रिय गराउन नसकेको बताइरहेका बेला खगेन्द्रले भने आफूलाई मजाले लेखनमा सक्रिय बनाए ।
खगेन्द्र हरेक दिन साथीभाइसँग गफ गर्छन् । घरमा फोन गरेर सञ्चो–बिसञ्चो सोध्छन् । दिनभर लेखनमा उनी खासै बस्दैनन् । जब अरूको रात सुरु हुन्छ अनि खेगेन्द्रको लेखन सुरु हुन्छ । “काम त भइरहेको छ तर दैनिक सेड्युल भने अलि बिग्रिएको छ । राति अरू सुतेपछि म लेख्न बस्छु । राति कफी पिउँदै लेख्न बसेपछि खुब मजा आउँछ । जब सोचेजस्तो लेख्न सकिन्छ निद्रा आउँदैन,” खगेन्द्र सुनाउँछन्, “बिहानको २–३ बजेसम्म लेखेपछि बल्ल सुत्छु । दैनिकी बिग्रिएको छ । स्वास्थ्यका लागि नराम्रो भए पनि लेखनको कामचाहिँ भइरहेको छ ।”
चलचित्र ‘पानी फोटो’ अब केही समयमा तयार हुन्छ । उपन्यासको काम पनि प्रेसमा मात्रै जान बाँकी छ । ‘फुलानी’ र ‘खगेन्द्र लामिछानेका नाटकहरू’को काम पनि प्रिन्टमा जान मात्रै बाँकी छ । तर खगेन्द्र यी सबै काम लकडाउन खुल्नेबित्तिकै दर्शक तथा पाठकमाझ लिएर बजारमा जाने सोचमा छैनन् । कारण अवस्था सामान्य बनिसकेपछि चलचित्र रिलिज र पुस्तक सार्वजनिक गर्ने उनको तयारी छ ।
“पहिला त जीवन रहनुपर्छ । जीवन रहे मात्रै कला संस्कृति तथा आर्थिक क्रियाकलाप हुन्छ,” खगेन्द्र भन्छन्, “हतार गरे यो असहज अवस्थामा दुःखले गरेको काम छायामा पर्छ । त्यसैले यो महामारीबाट जीवन सामान्य अवस्थामा नफर्किएसम्म चलचित्र र पुस्तक दुवै लिएर बजारमा आउँदिनँ । बजार तयार भएपछि मात्रै आउँछु ।”
यो बेला हरेक व्यक्तिको प्राथमिकता जीवन सहज बनाउनेतर्फ छ र हुनु पनि पर्ने उनी बताउँछन् । “यो समय जीवन सहज बनाउनमै समय खर्चिने हो । हुन त मैले के योगदान गर्न सक्छु होला र समाजलाई तर जति सकिन्छ अब त्यतातर्फ केन्द्रित हुने सोचमा छु,” खगेन्द्र भन्छन्, “यो बेला व्यावसाय र कामभन्दा पनि सकेसम्म सहज परिस्थितिका लागि केन्द्रित हुनुपर्छ ।”