कोरोनाको महामारी नभइदिएर अवस्था सहज भएको भए यतिबेला निर्देशक दीपेन्द्र के खनाल फिल्डमा नयाँ रिसर्च गरिरहेका हुन्थे । नयाँ चलचित्रका लागि उनले दिमागमा स्टोरी लाइनअप गरिसकेका थिए । त्यही स्टोरीका लागि दीपेन्द्र रिसर्चका लागि फिल्डमा हुने थिए । तर, सधैं समय कहाँ दाहिना हुन्छ र ? विश्व नै कोरोनाको सन्त्रासमा घरभित्र थुनिएका बेला उनको पनि पूर्व निर्धारित काम प्रभावित भयो ।
“चलचित्र आमा चल्दाचल्दै बीचमै उत्रिनु पर्ने थिएन । यतिबेला ५१ दिन मनाएर त्यसको हिसाब पनि आइसकेको हुने थियो,” दीपेन्द्र भन्छन्, “तर कोरोना कै कारण चलचित्र बीचमै उतार्नुपर्यो । दुई महिना भयो । हलको हिसाब पनि आएको छैन । अवस्था सहज नभएकाले हिसाब पनि गरेको छैन ।”
दीपेन्द्रलाई विश्वास गर्ने हो भने ४० लाख रुपैयाँ ओभरसिज मार्केटका कारण आमाले घाटा बेहोर्नुपर्यो । एकातिर कोरोनाका कारण हलमा रहेको चलचित्रलाई हात लागिसकेको पैसा गुमाउनुपर्यो अर्कोतर्फ नयाँ स्टोरीको काममा अबरोध झेल्नुपर्यो ।
दोस्रो समस्या भने दीपेन्द्रले मात्रै होइन आम चलचित्रकर्मीले भोगिरहेको समस्या हो । अझ नेपाली चलचित्र क्षेत्रबाहिर निस्किने हो भने हलिउड, बलिउडलगायत विश्वभरका चलचित्र उद्योगले ।
हलमा रहेका चलचित्र कोरोनाको महामारीले उत्रिए । लाग्ने तयारीमा रहेका चलचित्रको रिलिज अनिश्चित बन्यो । पोस्टमा रहेका चलचित्रको काम रोकियो । नयाँ चलचित्र निर्माणका लागि निर्माताहरूले आँट गर्न सकिरहेका छैनन् ।
गास, बास, कपासपछि जीवनको प्राथमिकताको अन्तिममा पर्ने मनोरञ्जन उद्योग त्यसमा पनि चलचित्र उद्योग अब ध्वस्त भयो भन्ने धारणा चौतर्फी आइरहेका बेला दीपेन्द्र भने आशावादी सुनिन्छन् ।
नेपाली चलचित्रको विदेशको बजार भत्कियो र अब त्यहाँबाट पहिलाजस्तै पैसा आउन वर्षौं लाग्छ भन्ने चिन्ता धेरैले गरिरहेका बेला त्यसको विकल्प थुप्रै रहेको उनी सुनाउँछन् । त्यसो त कोरोनाको कहर अगाडि पनि विदेशमा केही मेकरमा सीमित चलचित्र मात्रै विदेशमा पुस सेल हुने गरेको उनी बताउँछन् ।
दीपेन्द्र ओटीटी प्लेटफर्म नेपाली चलचित्रका लागि राम्रो विकल्प हुन सक्ने बताउँछन् । “म धेरै पहिलादेखि नै भन्दै आएको छु । विदेशका थिएटरमा नेपाली चलचित्र बलिउड, हलिउडका चलचित्र सरह रिलिज सायद कहिले पनि हुन सक्तैनन् त्यसैले जबरजस्ती पुस सेल होइन यसको विकल्प खोजौं,” दीपेन्द्र भन्छन्, “डिजिटल प्लेटफर्म ओटीटी जस्तो वालेटबाट पैसा तिरेर विश्वको जुनसुकै ठाउँबाट चलचित्र हेर्नसक्ने व्यवस्था मिलाऔं, यतिमात्रै गर्न सकियो भने मेकरलाई अहिले ओभरसिज मार्केटबाट आउने रकमको सयौं गुणा बढी पैसा आउँछ ।”
ओटीटीलाई प्रभावकारी बनाउन चलचित्र युट्युबमा अपलोड गर्ने प्रचलन भने हटाउनुपर्ने उनी बताउँछन् । सुलभ मूल्यमा सहजै ओटीटीमा चलचित्र हेर्न सकिने व्यवस्था मिलाउने हो भने मिडल इस्टमा रहेका अधिकांश नेपालीले चलचित्र हेर्ने र त्यहाँबाट ठूलो रकम मेकरको हातपर्ने उनको तर्क छ । यसका लागि लोकल वालेटबाट पैसा तिर्नसक्ने व्यवस्था मिलाउनु पर्ने दीपेन्द्र बताउँछन् ।
“इन्डियामा ओटीटीले फिल्म रिलिजका लागि २५० करोड दिने भइसक्यो । हाम्रोमा अहिलेसम्म सुरु नै भइसकेको छैन,” दीपेन्द्र भन्छन्, “ओटीटीमा चलचित्र हेर्न सकिने व्यवस्था मिलाउने हो भने विश्वभर रहेका नेपालीले चलचित्र हेर्छन् । नेपालमा पनि हल नजाने दर्शकका लागि यो सिनेमा हलको विकल्पमा रूपमा स्थापित हुनसक्छ ।”
नेपाली चलचित्र क्षेत्रमा पहिरो नै गयो भन्नेमा दीपेन्द्र छैनन् । उनकै शब्द सापटी लिने हो भने केही भएकै छैन । मात्रै दुईचार महिनालाई अप्ठ्यारो भएको । संसार नै नजरबन्दमा रहेका बेला चलचित्र मेकरले चाहिँ छुट पाउँछन् भन्ने हुँदैन । दुईचार महिना दुईचार महिना दुःख गर्नुपर्यो ।
घरमै बसेको यो समयलाई सदुपयोग गर्न उनको सुझाव छ । पढ्न अनुरोध गर्छन् । अध्ययन गर्न नपाएको र नभ्याएको कुरा अध्ययन गर्न भन्छन् ।
“मलाई त स्कुलमा बसे जस्तो भइरहेको छ । कहिल्यै नपढेको कुरा पढिरहेको छु । चलचित्र मेकिङका नयाँ नयाँ अभ्यासको अध्ययन गरिरहेको छु, चलचित्र हेरिरहेको छु” दीपेन्द्र समयको सदुपयोग गरिरहेको सुनाउँछन्, “अपडेट आफैं हुने हो । अपग्रेड आफैं हुने हो । चिन्तन मनन गरेर आफैंले आफैंलाई सुधार गर्दै जाने हो ।”
नेपाली चलचित्रको अवस्था नै बिग्रियो भन्ने पक्षमा उनी छैनन् । तर्क छ उनीसँग– ट्रमाबाट निस्किएपछि मान्छेले खोज्ने भनेको मनोरञ्जन नै हो । मनोरञ्जनको मुख्य माध्यम अहिले चलचित्र नै हो ।
लकडाउनमा विश्वभरका मान्छेले के गरे ? दीपेन्द्र भन्छन्, फिल्म नै हेरे । यसको अर्थ दुःख होस् अथवा सुख मान्छेले साथ खोज्ने चलचित्र कै त रहेछ । यसअर्थ चलचित्र मान्छेको जिन्दगीको एक अभिन्न अङ्ग बनिसक्यो । त्यसैले हामी आत्तिनु पर्ने अवस्था छैन । आत्तिनु भएन । अपडेट हुनुपर्यो ।
कोरोनाले विश्व चलचित्र जगत प्रभावित हुँदा नेपाली चलचित्र क्षेत्र पनि प्रभावित भएको छ । ०७६ फागुन १६ गतेबाट चलचित्र रिलिज हुन सकेका छैनन् भने सिनेमा घरहरू बन्द छन् ।