काठमाडौं । निर्देशक दीपेन्द्र के. खनाललाई उनको पछिल्लो चलचित्र ‘आमा’ बाट अमेरिका, अस्ट्रेलियालगायत देशबाट ५८ लाख रुपैयाँ आयो । पूर्वी एसियालगायत अन्य केही देशबाट आउने तय भइसकेको ४० लाख रुपैयाँ लकडाउनका कारण रोकियो । अब प्रदर्शन हुन बाँकी ओभरसिज मार्केटमा उनको चलचित्र लाग्छ भन्ने उनलाई लाग्दैन ।
“बलिउड, हलिउडले जस्तो हाम्रो चलचित्रले ओभरसिज मार्केट बनाइसकेको छैन । मेकरले जबरजस्ती पुस् गरेर चलाउने गरिएको थियो । यो पनि केही मेकरका मात्रै हो,” दीपेन्द्र भन्छन्, “ओभरसिज मार्केटबाट जति पैसा आउँथ्यो त्यो अब छैन भनेर सम्झिए हुन्छ ।
उनी अब भरपर्दो डिजिटल प्लेटफर्ममा जानुपर्नेमा जोड दिन्छन् । भारतमा लोकप्रिय रहेको डिजिटल प्लेटफर्म ओटीटी वा त्यस्तै प्लेटफर्म अबको आवश्यकता रहेको उनी बताउँछन् ।
रवीन्द्रसिंह बानियाँ कोरोना भाइरसको संक्रमणको महामारीले नेपाली चलचित्रको ओभरसिज मार्केट लामो समयका लागि करिब बन्द भएको बताउँछन् । कोरोना भाइरसको खोपको विकास भएर यसको संक्रमण अन्त्य नभएसम्म नेपाली चलचित्रको ओभरसिज मार्केटको अपेक्षा गर्न नसकिने उनी बताउँछन् ।
“राम्रो चलचित्र छ र राम्रो मिहिनेत गर्यो भने करिब एक करोड रुपैयाँसम्म नेपालबाहिरको बजारबाट कलेक्सन गर्न सकिन्थ्यो अब त्यो सम्भावना रहेन,” रवीन्द्र भन्छन्, “अवस्था सामान्य भएर पुरानै अवस्थामा बजार नफर्किएसम्म ठूलो बजेटमा बनेका चलचित्र रिलिज हुने सम्भावना कम छ ।”
ओभरसिज मार्केटबाट आएको पैसा निर्माताका हातमा आउने ‘क्यास’ रकम हो । यो रकम प्रायः कुनै पनि पक्षमा बाँडफाँड हुँदैन । ओभरसिज मार्केटबाट एक करोड रुपैयाँ आउनु र नेपालबाट पहिलो सातामा तीन करोड ग्रस कलेक्सन हुनु निर्माताका लागि करिब उस्तै भएको रवीन्द्र बताउँछन् ।
“अब अवस्था सामान्य नभएसम्म ठूलो बजेटमा चलचित्र बनाएर रिलिज गर्न सकिँदैन, त्यसैले नयाँ स्क्रिप्टमा काम गरेर बस्नुको विकल्प भएन,” उनी भन्छन्, “अब ओटीटीमा जानेतर्फ पहल गर्नुपर्ने देखिन्छ । यदि ओटीटीमा जान सकियो भने यो नेपाली चलचित्र र मेकरका लागि ठूलो फाइदा हुनेछ ।”
रवीन्द्रको जस्तै धारणा कलाकार दीपकराज गिरीको पनि छ । कोरोना संक्रमणको जोखिमका कारण ओभरसिरिज मार्केट अब नेपाली चलचित्रका लागि लामो समय नखुल्ने भन्दै डिजिटल प्लेटफर्म खोज्नुपर्नेमा उनको जोड छ । चलचित्रहरू तत्काल हल रिलिज हुने सम्भावना नरहेको विद्यमान अवस्थामा डिजिटल प्लेटफर्ममा जानसके केही राहत मिल्ने उनको भनाइ छ ।
तत्काल हल रिलिजको सम्भावना नरहेको तथा संक्रमण न्यूनीकरणपछि पनि छिटै ओभरसिज मार्केटमा जान कठिन भएकाले डिजिटल प्लेटफर्मको खोजी गर्नुपर्ने उनी बताउँछन् । नेपाली डिजिटल प्लेटफर्म भरपर्दो र लोकप्रिय नभएका कारण भारतीय डिजिटल प्लेटफर्म ओटीटी अहिलेका लागि राम्रो विकल्प हुने दीपक बताउँछन् ।
“भारतमा ठूलो संख्यामा दार्जिलिङ, कालिम्पोङ, खर्साङ, डुवर्गलगायत क्षेत्रमा ठूलो संख्यामा नेपाली भाषी छन् । उहाँहरूलाई पनि हामीले लक्षित गर्नुपर्छ,” दीपक बाह्रखरीसँग भन्छन्, “नेपाली भाषीबाहेक ठूलो संख्यामा नेपाली रोजगारीका लागि भारतमा बस्नुहुन्छ । उहाँहरूका लागि पनि हामीले अब ओटीटीमा जानुपर्छ ।”
ओटीटी भारतमा लोकप्रिय रहेको ठूलो डिजिटल प्लेटफर्म हो । बलिउडमा ठूला ब्यानरमा बनेका चलचित्र पनि यसले खरिद गर्दै आएको छ । राम्रो चलचित्र बनाउन सके ओटीटीले नेपाली चलचित्र पनि लिने दीपक बताउँछन् । नेटफ्लिक्ससम्म जान केही समय लागे पनि ओटीटीका लागि पहल गर्नसके चाँडै नेपाली चलचित्रले उक्त प्लेटफर्म प्रयोग गर्नसक्ने उनको विश्वास छ ।
नायक निखिल उप्रेती नेपाली चलचित्र कोरोना संक्रमणको महामारी विश्वमा फैलिनुभन्दा अगाडि नै ओभरसिज मार्केटमा कमजोर भइसकेको बताउँछन् । कोरोना फैलिनुअगाडि नै कमजोर भइसकेको बजार अब झन् कमजोर बन्ने र पुरानै अवस्थामा फर्किन समय लाग्ने उनी बताउँछन् ।
“हाम्रा चलचित्र नेपालबाहिर जति प्रदर्शन भइरहेका थिए, ती धेरै दुःखले देखाइन्थे । कहीँ होटलमा, कतै सभा हलमा, कतै चिनजान र अनुरोधमा, कतै दबेर, कतै अनुमति नलिई त कतै हल बुक गरेर चलचित्र देखाइन्थ्यो,” निखिल भन्छन्, “व्यावसायिक रूपमा इज्जत साथ हाम्रा चलचित्र कहिल्यै पनि विदेशमा चलेका छैनन् । हाम्रा कमजोर चलचित्रका कारण बजार कहिले बन्दै बनेन ।” आग्रह र अनुरोधमा नेपाली बसेको ठाउँमा जबरजस्ती सहयोगका लागि देखाइने चलचित्रबाट २५÷३० लाख रुपैयाँ विदेशबाट आउने गरेको उनी बताउँछन् । अब यो अवस्था पनि लामो समय रहने उनको भनाइ छ ।