काठमाडौं । लकडाउनका कारण काठमाडौं उपत्यकामा रहेका विश्व सम्पदामा सूचीकृत सम्पदाहरूको पुनर्निर्माण रोकिएको छ ।
कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि गत चैत ११ बाट जारी गरिएको लकडाउनका कारण सम्पदाहरूको पुनर्निर्माणको काम रोकिएको हो । भूकम्पले क्षतिग्रस्त सम्पदाहरूको पुनर्निर्माणमा खटिएका कामदारहरूले लकडाउनका कारण काम गर्न पाएका छैनन् ।
सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माणको काम मजदुरको सुरक्षाको प्रत्याभूति गरी काम सुरु गर्ने बताए पनि विश्व सम्पदामा सूचीकृत सम्पदाहरूको पुनर्निर्माणको काम ठप्प भएको छ ।
वर्षायाम सुरु हुनअघि सक्नुपर्ने काम पनि लकडाउनका कारण प्रभावित भएको छ । लकडाउन सकिएपछि वर्षायाम सुरु हुने र काम प्रभावित हुने भएकाले पुनर्निर्माणको काम अझै पर धकेलिने संकेत देखिएको छ ।
काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका क्षेत्र, ललितपुरको पाटन दरबार क्षेत्रलगायत ठाउँका सम्पदाको पुनर्निर्माण पनि रोकिएका छन् । सम्पदा क्षेत्र सुनसान छन्, भने मजदुरहरू पनि छैनन् । सम्पदा क्षेत्रभित्रका मन्दिरहरूमा हुने नियमित पूजाअर्चनाका कामहरूसमेत सञ्चालनमा आउन सकेका छैनन् ।
पाटन दरबार क्षेत्रभित्र रहेको कृष्ण मन्दिर, बगलामुखी, भीमसेनको मन्दिर, कुम्भेश्वरलगायत मन्दिरहरू बन्द छन् । यस्ता कतिपय मन्दिरको पुनर्निर्माणको काम प्रभावित भएका छन् । लकडाउनका कारण पर्यटकीय क्षेत्रसमेत रहेको सो क्षेत्रका स्थानीयको व्यवसायसमेत ठप्प छन् ।
यसैगरी काठमाडौंको रानीपोखरीको पुनर्निर्माणले पनि गति लिएको छैन । यद्यपि रानीपोखरी पुनर्निर्माणका लागि केही कामदार भने खटिएका छन् । उसो त रानीपोखरीको पुनर्निर्माण यही वैशाखको १२ पूरा गरी हस्तान्तरण गर्ने भनिए पनि लकडाउनका कारण पछि धकेलिएको हो । तसर्थ चाँडो हस्तान्तरण गर्नका लागि भन्दै हिजो (शनिबार) देखि कामदारहरू पुनर्निर्माणमा जुटेका हुन् । हेरौं थप तस्बिरहरु :