
जनकपुर । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच बुधबार मध्यराति एकीकरण भई नयाँ गठन भएको दल बिहीबार बिहान ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ताका लागि पुगेको छ ।
१३८८ दर्ता नम्बर पाएको जनता समाजवादी पार्टीको नाम बिहीबार बिहान ११ बजेर १६ मिनेट जाँदा आयोगमा दल एकता सम्बन्धी जानकारी गराएको पार्टी नेता केशव झाले बाह्रखरीलाई जानकारी दिए ।
सरकारले पार्टी फुटाउन कानुनी सहजता ल्याएसँगै बुधबारदेखि समाजवादीको एक खेमा दल फुटाएर अर्को दल दर्ता गराउने तयारी अगाडि बढाइसकेपछि हतारमा मध्यराति यी दुई पार्टी एकीकरण भई बिहीबार आयोगको कार्यालय नखुल्दै एकीकृत पार्टी दर्ताको लागि नेताहरू पुगिसकेका थिए ।
दुई पार्टी तत्काल एकता गरी एकीकृत पार्टीको नाउँमा दल दर्ता गराए पनि पार्टी एकताको विस्तृत कार्य लकडाउनपछि गर्ने नेता राजेन्द्र महतोले सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका छन् ।