
जनकपुर । प्रतिनिधिसभा सदस्य एवं पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवको अपहरण नभएको र उनी सकुशल घरमा रहेको उनका परिवारिक स्रोतले जनाएको छ ।
साँझ ५ बजे अपहरणमा परेको भन्दै डा. यादवको बारेमा विभिन्न सञ्चारमाध्यममा समाचार आउन थालेपछि बाह्रखरीले घटनाको वास्तविकता खोज्दै गएपछि उनका भान्जा राजेश यादवले यस्तो जानकारी दिएका हुन् ।
समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका डा. यादव महोत्तरीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनलाई पार्टी फुटाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेदेखि प्रलोभन दिँदै आएको र सोही उद्देश्यले बुधबार साँझ पाँच बजे प्रहरीमार्फत अपहरण गर्न लगाएको भन्दै पार्टी स्रोतलाई हावाला दिँदै सञ्चारमाध्यममा समाचार प्रकाशन, प्रशारण भएको छ ।
समाजवादी पार्टीका प्रदेश २ कार्यसमितिका सचिवसमेत रहेका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले भने उनको अपहरणसम्बन्धी खबर सही रहेको बताएका छन् ।
उनले बाह्रखरीसँग भने, “समाचार सही हो । तर, डाक्टरसाब अपहरणमुक्त भइसकेको खबर प्राप्त भएको छ ।” यद्यपि, डा. यादवको मोबाइल स्वीच अफ रहेको भन्दै यो समाचार तयार पार्दासम्म पार्टीसँग र आफूसँग पनि डाक्टर यादवको संवाद हुन नसकेको मन्त्री यादवले बताए ।
यसअघि समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले प्रधानमन्त्री ओलीको सिधा आदेशमा काठमाडौंबाट आएको प्रहरी टोलीले डा. यादवलाई बुधबार साँझ पाँच बजे जनकपुरबाट अपहरण गरी लगेको सञ्चारमाध्यममा प्रतिक्रिया दिएका थिए ।