site stats
बाह्रखरी :: Baahrakhari
देश
घर जान पाइने आशामा सयौं थानकोट पुगे, जनप्रतिनिधि भन्छन्– यसरी थेग्न सकिँदैन 

काठमाडौं । लकडाउनका कारण काठमाडौंमा समस्या भएपछि सयौँ नागरिक चन्द्रागिरीको त्रिभुवनर्पाकमा पुगेका छन् ।

चन्द्रागिरी नगरक्षेत्रका जनप्रतिनिधिको पहलमा शनिबार सातवटा बसमा समस्यामा परेका विभिन्न जिल्लाका नागरिकहरुलाई पठाइदिएपछि आज पनि सयौँको संख्यामा त्यहाँ सर्वसाधारण पुगेका छन् ।

तर स्थानीय तहले अहिले यसरी पठाउन र खान बस्न दिन नसकिने बताएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हामीले साच्चै अप्ठेरोमा परेका मजदुरवर्गलाई सहयोग गरेका हौँ,” वागमती प्रदेशसभा सदस्य रमा आले मगरले बाह्रखरीसँगको कुराकानीमा भनिन्, “तर आज काठमाडौंमै पनि डेरा भएका र डेरामा बस्न समस्या नभएका पनि आएको पायौँ । यसरी सबैलाई हामीले पठाउनै सक्दैनौँ ”

विभिन्न क्षेत्रका नागरिक अभियानले त्रिभुवनपार्क पुग्नेहरुको व्यवस्थापन गर्दै आएको थियो । तर अहिले नजिक घर भएका पनि आउने थालेपछि समस्या भएको उनीहरुको गुनासो छ ।

अभियानमा खटिएका अगुवाहरुले आज पनि कम्तिमा २५० जना नागरिक जम्मा भएको उल्लेख गर्दै नजिक हुनेहरुलाई घर फर्किदिन आग्रह गरेको छ भने जो रामेछाप, दोलखा, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट आएका छन् उनीहरुलाई मात्रै त्यहाँ बस्ने व्यवस्था गर्ने र भोलिका दिनमा कसरी पठाउन सकिन्छ भन्नेबारेमा छलफल गर्ने बताएका छन् ।

शनिबार विभिन्न जिल्लाबाट आएका ३०२ जनालाई सातवटा बसमा पठाइएको थियो ।

“यहाँ आउने सबैलाई पठाउँछन् भन्ने म्यासेज सञ्चारमाध्ममा गयो,” आले मगरले भनिन्, “त्यस्तो होइन, जो नजिकको हुनुहुन्छ, काठमाडौंमा डेरा छ उहाँहरु आफ्नै कोठामा बसिदिनूस् । एकदमै समस्यामा परेकालाई मात्रै हामीले शनिबार सहयोग गरेका हौँ । सबैलाई होइन ।”
नजिक हुनेहरुलाई आफ्नो कोठामा सुरक्षित बसिदिन उनको आग्रह थियो ।

नजिक बस्ने व्यवस्था हुनेहरुलाई जनप्रतिनिधिले आफ्नै ठाउँमा फर्किन र खाने व्यवस्थाका लागि वडाका लागि अनुरोध गर्ने आश्वासन दिएका छन् । 


 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १४:३६
प्रतिक्रिया दिनुहोस्