काठमाडौं । मुलुकमा अहिले लकडाउन छ । कोरोना संक्रमण फैलिन नदिन सरकारले वैशाख १५ गतेसम्मका लागि लकडाउन घोषणा गरेको छ । चैत ११ गतेदेखिको लकडाउनका कारण मजदुर तथा विपन्न वर्ग सबैभन्दा बढी प्रभावित भएका छन् । यस्तोमा केही मनकारी युवाले भने मजदुर तथा अलपत्र परेकाहरूलाई खानाको व्यवस्था मिलाएका छन् ।
उसो त काठमाडौं उँःबाहका युवाहरू मिलेर लकडाउन भएदेखि नै पानी र चाउचाउ बाँडेर विपन्न वर्गका व्यक्तिहरूलाई सहयोग गर्दै आएका थिए । तर, लकडाउन लम्बिएसँगै खानेकुरा खान नपाउँदा गरिब, अशक्त तथा मजदुर वर्ग भोकै मर्नुपर्ने अवस्था आउन लागेको भन्दै गएको सात दिनयता ती युवाले दालभात नै खुवाउँदै आएका छन् ।
उनीहरूले विदेशमा रहेका साथीहरूको केही सहयोग र अलिअलि आफ्नै खर्चमा खाना खाने व्यवस्था मिलाएका हुन् ।
तरकारी काट्दै युवाहरू । लक डाउन सुरु भए देखि पानी र चाउचाउ जस्ता खानेकुराहरू बितरण गर्दै आएका काठमाडौं उँःबाहका युवाहरूले, सात दिन देखि भात खुवाउदै आएका छन् । मित्रता समूह नाम गरेको यो युवाको समूहले काठमाडौंका विभिन्न ठाउँमा खान नपाएकाहरूलाई खानाको प्याकेट बनाएर बाँड्ने गरेका छन् ।
सरदर दैनिक तीन सयभन्दा बढी प्याकेट उनीहरूले बाँड्ने गरेको बाह्रखरीलाई सुनाए । अझ यो खानका लागि दैनिक १८ हजार रुपैयाँ खर्च लाग्ने उनीहरूको भनाइ छ । “अझ टोलका बासिन्दाकै सहयोगले थप हौसला मिलेको छ, यस्तै वेलामा त हो सहयोग गर्ने,” एक युवाले सुनाए ।
हेरौं ती कर्मठ युवाले खाना तयारी गरिरहेकै अवस्थाका थप तस्बिर :