काठमाडौं । वि.सं. २०७५ को भन्दा ०७६ मा निकै कम चलचित्र रिलिज भए । ०७५ मा ९६ चलचित्र रिलिज भएका थिए । ०७६ मा ४१ वटा कम अर्थात् ५५ वटा चलचित्र मात्रै रिलिज भए ।
कम चलचित्र रिलिज हुनुको कारण कोरोनाको प्रकोप मात्रै भने होइन । कोरोनाका कारण ‘लक्का जवान’, ‘प्रेमगीत–३’, ‘चपलीहाइट–३’, ‘म यस्तो गीत गाउँछु–२’ रिलिज हुन पाएनन् । बाँकी ०७६ मा रिलिजका लागि डेट लिएका चलचित्र प्रदर्शन भए । ०७६ को अन्तिम चलचित्र ‘धुलो’ हुन पुग्यो, जुन फागुन १६ मा रिलिज भएको थियो ।
चलचित्र निर्माणमा एक्कासि गिरावट आउनुको कारण कमजोर बक्स अफिस नै हो । निरन्तर बक्स अफिसमा कमजोर हुनु नै चलचित्र थोरै बन्नुको मुख्य कारण हो । यो वर्ष ५५ चलचित्र रिलिज हुँदा चारवटाले मात्रै राम्रो व्यापार गरे । त्यसबाहेक केही चलचित्रले मुस्किलले लगानी उठाए पनि बाँकी सबै घाटामा गए । एकपछि अर्को चलचित्र लगातार घाटामा गएपछि निर्माताहरू लगानी गर्न हच्किन थालेका छन् ।
०७४ मा ‘जात्रैजात्रा’, ‘छ माया छपक्कै’, ‘कबड्डी कबड्डी कबड्डी’ र ‘आमा’ बाहेक अन्य चलचित्रको व्यापार सन्तोषजनक रहेन । कमजोर कथा, फितलो पटकथा, न्यून बजेट तथा हतारमा निर्माण तथा प्रदर्शनका हानथाप नै चलचित्र घाटामा जानुको मुख्य कारण हो । नयाँ वर्ष, दसैं, तीज तथा सार्वजनिक बिदामा चलचित्र लगाउन हुने होडबाजीका कारण एकै दिन तीन÷चार वटा प्रदर्शनमा आउनु पनि अर्को मुख्य कारण हो ।
गत वर्ष फागुन ९ गते शिवरात्रीको विदाको मौका पारेर चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ एकै दिन रिलिज भएका थिए । दीपेन्द्र के खनालको ‘आमा’ र रामबाबु गुरुङको ‘सेन्टी भाइरस’ रिलिजपूर्व दुवै अपेक्षा गरिएका चलचित्र थिए । तर एउटै मितिमा प्रदर्शनमा आउँदा दुवैले बक्स अफिसमा घाटा बेहोर्नुपरेको थियो ।
निर्देशक दीपेन्द्र के खनाल ०७७ सालमा चलचित्र निर्माणको संख्यामा अझै कमी आउने बताउँछन् । अहिले फ्लोरमा चलचित्र कम रहनुले पनि यसको संकेत गरिरहेको उनी बताउँछन् ।
“यो वर्ष गत वर्षभन्दा पनि कम चलचित्र रिलिज हुन्छन् । अहिले फ्लोरमा रहेका चलचित्रको संख्या निकै कम छ,” दीपेन्द्र भन्छन्, “फ्लोरमा गएर छायांकन सुरु भएका चलचित्रलाई पनि अफ्ठ्यारो छ । रिलिज हुन तयार भएका चलचित्र कहिले रिलिज हुने ठेगान छैन ।”
सयवटाको आसपासमा निर्माण हुँदा बर्सेनि करिब एक दर्जन चलचित्रलाई छोडेर अधिकांश घाटामा गएपछि लगानी गर्ने सशंकित हुन थालेपछि चलचित्रको संख्या नै कम हुन थालेका हो । अक्सर विदेशमा बस्ने नेपालीले चलचित्रमा लगानी गर्दै आएकामा लगातार घाटा बेहोर्नुपरेपछि उनीहरू पछि हट्न थालेका छन् । एनआरएनबाट आउने लगानी अझै कम हुने निर्देशक नवीन सुब्बा बताउँछन् ।
“नेपाली चलचित्रमा केही समय सुन व्यापारीहरूले लगानी गरिरहेका थिए । त्यसपछि जग्गाका कारोबारीहरूले लगानी गरे । त्यो समय पनि सकियो । त्यसपछि एनआरएनहरूले लगानी गरिरहेका छन्,” सुब्बा भन्छन्, “एनआरएनहरू पनि अब चाँडै सकिँदै छन् भन्ने दृश्य स्पष्ट देखिसकेको छ । अहिले कर्मचारी र राजनीतिज्ञहरूको पैसा नदेखिने गरी बाङ्गो तरिकाबाट आइरहेको छ । यहाँको लगानी पारदर्शी छैन ।”
चलचित्रमा व्यवसायिकभन्दा पनि अरू उद्देश्यले पैसा लगानी भइरहेको छ । त्यसैले वार्षीक ठूलो रकम डुब्दा पनि फरक पारिरहेको छैन । एउटा चलचित्र निर्माणका लागी औसतमा एक करोड रुपैयाँ मात्रै लाग्ने हो पनि ठूलो रकम घाटा हुन्छ ।
घाटामा जाने अधिकांश चलचित्रले पोस्टरको पैसा पनि उठाउन नसक्ने बरु उल्टै वितरकलाई थप रकम तिर्नुपर्ने अवस्था रहेको निर्माता तथा कलाकार निर्मल शर्मा बताउँछन् । नेपाली चलचित्र चलेनन् भने लगानीको अधिकांश रकम डुब्ने गरेको उनको भनाइ छ ।
नेपालमा रिसर्चको अवस्था कमजोर छ । चलचित्र घाटामा गए भनिरहे पनि कारण के हो ? कसैले अध्ययन गरेको छैन । अध्ययन अनुसन्धान गर्ने निकाय नै मौन छन् । पत्रकार, प्राज्ञिक संस्थाहरूको पनि यसमा ध्यान गएको छैन ।
एकाधबाहेक नेपाली चलचित्रले पैसा कमाइरहेका छैनन् । तर चलचित्रले नै पैसा कमाइरहेका छैनन् भन्ने होइन । भारतीय चलचित्र बजारबाट आएकामध्ये वार्षिक करिब एक दर्जन चलचित्रले पैसा कमाइरहेका छन् ।
भारतीय चलचित्रको बजार र नेपाली चलचित्रको बजार कत्रो छ भन्ने नेपाली चलचित्रकर्मीले अध्ययन गरेको पाइँदैन । नेपालले चलचित्रमा वार्षिक कति भइरहेको छ र फिर्ता कति आयो त्यसको पनि भरपर्दो तथ्यांक छैन । चलचित्र हलमा रहेका बेला करोडौं कलेक्सन भएको बताउँदै केक काट्ने निर्माता÷निर्देशकहरू ६ महिनापछि ‘त्यो’ चलचित्र त खासमा घाटामा गएको थियो भन्छन् ।
चलचित्रको सफलता र असफलताको मापक के हो ? यसको पनि कुनै मापदण्ड छैन । राम्रो समीक्षा नपाएका चलचित्रले करोडौं कमाइरहेका हुन्छन् । राम्रो समीक्षा पाएका चलचित्रले पोस्टर टाँस्ने माडको पैसा पनि उठाइरहेका हुँदैनन् । चलचित्रकर्मीहरू नै चलेका सबै चलचित्र राम्रा र नचलेका सबै चलचित्र नराम्रा हुँदैनन् भन्दै आएका छन् ।
हलिउड, बलिउड र विश्वका अन्य सफल र लोकप्रिय चलचित्र उद्योगले सफलताको मापन कसरी गरिरहेका छन् ? यसको विस्तृत अध्ययन गरेपछि वास्तविक कुरा आउँछ । लगानी आकर्षित र सुरक्षितको सम्भावना बढी हुन्छ । अन्यथा नेपाली चलचित्र तङग्रिँदैन ।
अभिनेता दयाहाङ राई राम्राभन्दा पनि आकर्षक चलचित्र बनाउनु नै नेपाली चलचित्र उद्योगको मुख्य समस्या रहेको बताउँछन् ।
“हामीले राम्रा चलचित्र नै बनाएनौं, आकर्षक मात्रै बनायौं । दर्शकलाई योचाहिँ मनपर्छ होला भनेर दर्शकलाई भुलाउन मात्रै चलचित्र बनायौं,” भन्छन्, “हामी राम्रो चलचित्र बनाउनै छोडिसकेका थियौं । बनेका केही चलचित्र पनि यीचाहिँ दर्शकका लागि बनाएनौं ।” जबसम्म बजारको मनोविज्ञानबाट माथि उठेर मेकरले आफ्नो प्यासनले चलचित्र बनाउँदैन त्यो समयसम्म नेपाली चलचित्र तङ्ग्रिँदैन ।