काठमाडौं । विश्व नै लकडाउनमा फसेपछि यसको असर अन्य क्षेत्रमा झैं मनोरञ्जन विधामा पनि परेको छ । मनोरञ्जनमा पनि डान्सबार, क्लब तथा सिनेमाको व्यवसायमा यसको असर धेरै परेको छ । महामारीपछि अन्य उद्योग व्यवसाय त तत्काल सुरु होला तर चलचित्रमा भने यसको प्रभाव लामो समयसम्म पर्ने देखिन्छ ।
सयौंको संख्यामा एकै ठाउँमा जम्मा भएर हेरिने चलचित्र फुर्सदमा, खुसीमा र पुगिसरी आउँदा हेरिने मनोरञ्जनको विधा हो । तर कोभिड–१९ को त्रासले यसलाई लामै समय प्रभाव पार्ने निर्देशक दीपेन्द्र के खनाल बताउँछन् ।
“तत्काल कोरोना संक्रमण रोकिएर सञ्चालनमा आए पनि दर्शक हलमा जान डराउँछन्,” निर्देशक खनाल भन्छन्, “कस्तो मान्छे हलमा गएको थियो, उसलाई संक्रमण पो थियो कि भन्ने त्रास दर्शकमा भइरहन्छ । यसको असर लामै समय देखिनेछ ।”
कोभिड–१९ को औषधि पत्ता नलागेसम्म दर्शक विनात्रास हलमा जानेमा उनी शंका व्यक्त गर्छन् ।
अहिलेको अवस्था सामान्य हुनेबित्तिकै हलमा चलचित्र हेर्न जाने वातावरण बन्छ भन्नेमा शंका रहेको अभिनेता दयाहाङ राई बताउँछन् । सिनेमा हलको विकल्प खोजिरहेका बेला दर्शकले जोखिम उठाउनेमा उनी शंका व्यक्त गर्छन् ।
“एकातिर डिजिटल प्लेटफर्मले दर्शकलाई आकर्षित गरिरहेका छन्, अर्कातर्फ हलमा जान त्रास छ,” दयाहाङ भन्छन्, “नेटफ्लिक्सजस्ता डिजिटल प्लेटफर्मले बजार लिने उच्च सम्भावना छ ।” अबको चलचित्र उद्योगमा निर्माणदेखि प्रदर्शनसम्म अहिलेको तौरतरिकाको विकल्प खोज्नुपर्ने उनी बताउँछन् । हल सञ्चालकहरूले सिनेमा हलहरू सुरक्षित रहेको छ भनेर दर्शकलाई विश्वास दिलाउन सक्नु नै अबको चुनौती रहेको उनको भनाइ छ ।
दयाहाङ सिनेमा मेकिङको डिजाइनमै परिवर्तनको आवश्यकता औंल्याउँछन् । चलचित्र हेर्ने प्लेटफर्म परिवर्तन हुँदै गएको यथार्थलाई नजरअन्दाज गर्न नसकिने भन्दै उनी थप्छन्, “अहिले नै डिजिटल प्लेटफर्मबाट धेरैले चलचित्र हेरिरहेका छौं भन्ने सत्य हामीले बिर्सिनु हुन्न ।”
नेटफ्लिक्सजस्ता विश्वमा लोकप्रिय डिजिटल प्लेटफर्महरू भए पनि नेपाली चलचित्रका लागि यस्ता प्लेटफर्म नभएको निर्देशक खनाल बताउँछन् । “नेटफ्लिक्स, अमेजन प्राइमजस्ता लोकप्रिय डिजिटल प्लेटफर्म भए पनि नेपाली चलचित्रका लागि भएनन्,” उनी भन्छन् ।
नेपाली चलचित्र तङ्ग्रिन लामो समय लाग्ने दयाहाङको बुझाइ छ । “नेपाली चलचित्र पहिला नै संकटमा परिसकेको थियो । हामीले राम्रा चलचित्र नै बनाएनौं, आकर्षक सिनेमा मात्रै बनायौं । दर्शकलाई योचाहिँ मनपर्छ होला भनेर दर्शकलाई भुल्याउन मात्रै चलचित्र बनायौं,” दयाहाङ अगाडि भन्छन्, “हामी राम्रो चलचित्र बनाउनै छोडिसकेका थियौं । बनेका केही चलचित्र पनि यी चाहिँ दर्शकका लागि होइनन्, मेकरको प्यासनले मात्रै बनाइएका हुन् भन्ने अवस्था थियो ।”
निर्देशक तथा कलाकार दीपाश्री निरौला पहिलो प्राथमिकता व्यक्तिको स्वास्थ्य भएकाले कोरोना संक्रमण रोकिएपछि पनि यसको प्रभाव लामो समय पर्ने बताउँछिन् । “कोरोना संक्रमण रोकिएपछि पनि कम्तिमा चलचित्र उद्योग ६ महिना सहज हुन्छ जस्तो मलाई लाग्दैन,” दीपाश्री भन्छिन्, “जबसम्म त्रास सिर्जना भइरहन्छ, त्यो समयसम्म सिनेमा हलमा दर्शक जाँदैनन् ।”
उनी पनि डिजिटल प्लेटफर्म लोकप्रिय हुँदै गएको भन्दै त्यसतर्फ दर्शकको आकर्षण देखिएको स्वीकार्छिन् । क्षमतावान् व्यक्तिले जुनसुकै प्रविधि र डिजाइनमा पनि काम गर्न सक्ने उनको भनाइ छ ।
यद्यपि स्थिर केही पनि नरहेको भन्दै दीपाश्री ६÷७ महिनापछि चलचित्र उद्योग पनि सहज हुने विश्वास व्यक्त गर्छिन् ।
कोभिड–१९को महामारीले विश्व नै थलिएका बेला डिजिटल प्लेटफर्ममा नेटफ्लिक्स लगायतमा दर्शकको चाप बढे पछि उनीहरूले पुरानै गुणस्तरमा सेवा दिन नसकिएको बताउँदै आएका छन् । कोरोनाका कारण विश्वभर हजारौं चलचित्र प्रदर्शन हुन नपाउँदा खरबौं रुपैयाँ चलचित्र उद्योगलाई घाटा लागेको छ ।