काठमाडौं । लकडाउनको १८औं दिन शुक्रबार पनि राजधानीका सडक सुनसान बने ।
चैत ११ बाट सुरु लकडाउनकै कारण राजधानीका सडक सुनसान छन् । सुनसान सडक सफा पनि देखिएका छन् ।
अत्यावश्यक सवारीसाधनबाहेक अरू गुडेका छैनन् । वातावरण पनि सफा देखिएको छ । रिङरोडमा अत्यावश्यक सेवा र सामग्री बोकेका गाडी र पासवाहक सवारीसाधन मात्र चलेका छन् । प्रहरीले ठाउँ–ठाउँमा चेकिङमा कडाइ गरेको छ ।
नेपालमा कोरोना संक्रमित देखिएपछि चैत १८ सम्मका लागि पहिलोपटक लकडाउन घोषणा गरिएको थियो । सो अवधिमा अरू व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिएपछि सरकारले लकडाउन थप गरेको छ ।
सरकारले दोस्रोपटक चैत २५ सम्मका लागि समय थप गरेको थियो । संक्रमितको संख्या बढ्दै गएपछि सरकारले तेस्रोपटक गत सोमबार वैशाख ३ गतेसम्म लकडाउनको अवधि थपेको थियो । सरकारले अन्तर्राष्ट्रिय सीमानाका र हवाई उडानसमेत बन्द गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमका कारण सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा ९ जनामा कोरोना संक्रमण देखिएको छ । एकजना उपचारपछि निको घर घर फर्किएका छन् भने ८ जनाको उपचार भइरहेको छ । हेरौं राजधानी उपत्यकामा आज देखिएको दृष्य :