काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) को सन्त्रास छँदै छ । नेपालमा पनि यसको असर परेको छ । कोरोना संक्रमणबाटै बच्न नेपालमा लकडाउन गरिएको आज नवौं दिन पुगेको छ ।
आजै परेको चैते दसैं पनि सुनसान बनेको छ । आज चैते दसैंका अवसरमा काठमाडौंको वसन्तपुरमा रहेको कुमारीघरबाट तलेजु भवानीको दर्शनका लागि कुमारीलाई लगिएको छ ।
अघिपछिजस्तो निकै भीड हुने यसपटक भने भीडबिनै जीवित देवी कुमारीले तलेजु भवानी मन्दिर पुर्याइएको थियो ।
कुमारीघरबाट देवी कुमारीलाई बोकेरै तलेजु भवानीको मन्दिर पुर्याइएको थियो । चैते दसैंका दिन देवी कुमारीले तलेजु भगवतीको पूजा गर्ने चलन छ ।
यसपटक धेरै भीड नहोस् भनेर उपत्यकाका जात्रा पर्वहरू पनि प्रभावित बनेका छन् । आजै (चैत शुक्ल अष्टमी) का दिनदेखि सुरु हुने सेतो मच्छिन्द्रनाथको रथ यात्रा पनि रोकिएको छ । जीवित देवी कुमारीलाई दर्शनका लागि तलेजु भवानी मन्दिर लैजाँदै गर्दाको केही दृष्य यस्ता :