site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पेट्रोल : निगमले ५२ रुपैयाँमा किन्दा उपभोक्तालाई १०८, ४४ मा किन्दा १०६, कसरी ?

काठमाडौं । नेपाल आयल निगमले ८ रुपैयाँ सस्तोमा पेट्रोलियम पदार्थ खरिद गर्दा उपभोक्ता मूल्य २ रुपैयाँमात्र कम गरेको छ । निगमले अन्तर्राष्ट्रिय बजारअनुरूप रक्सौल÷बरौनीको पेट्रोल खरिद मूल्य प्रतिलिटर ५२ बाट ४४ तिर्दा उपभोक्तालाई भने २ रुपैयाँ मात्र कम पर्ने मूल्यसूची सार्वजनिक गरेको हो ।

नयाँ मूल्यसूचीअनुसार नेपाली उपभोक्ताले पेट्रोल किन्दा १ सय ६ रुपैयाँ तिर्नुपर्छ । जबकि निगमले सो तेल भारतीय आयल निगम (आईओसी) सँग ४४ रुपैयाँमा किनेको हो । निगमका अनुसार ४४ रुपैयाँ ३२ पैसामा किनेको पेट्रोल ६१ रुपैयाँ ८६ पैसा बढीमा बेचिन्छ । डिजेल पनि ४९ रुपैयाँ ५३ पैसामा किनेर ९५ रुपैयाँमा बेचिने निगमको हिसाब छ ।

यो मार्च १६ मा भारतीय आयल निगमले पठाएको मूल्यसूचीअनुसार हिसाब गरिएको हो । यसअघि मार्च १ मा आईओसीले पठाएको मूल्य सूचीअनुसार नेपाल आयल निगमले पेट्रोल किन्न ५२ रुपैयाँ ५ पैसा तिर्थ्यो भने उपभोक्ताले १ सय ८ रुपैयाँ तिर्नुपर्थ्यो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कसरी बढ्छ मूल्य ?
आईओसीबाट ४४ रुपैयाँमा किनेपछि पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ २३ पैसा सरकारलाई तिर्नुपर्छ । त्यसमा ४ रुपैयाँ सडक मर्मत सम्भार कर, १० रुपैयाँ पूर्वाधार कर, डेढ रुपैयाँ प्रदुषण शुल्क, १ रुपैयाँ ६ पैसा मूल्य स्थिरीकरण कोष, १२ रुपैयाँ १९ पैसा मूल्य अभिवृद्धि कर जोडिन्छ ।

यसरी सम्पूर्ण सरकारी राजस्व तथा मुअ कर गरी ४३ रुपैयाँ ९८ पैसा जोडिएपछि ढुवानी भाडा, पेट्रोलियम पदार्थ मौज्दात ब्याज खर्च, प्रशाशनिक खर्च, प्राविधिक नोक्सानी समेत जोड्दा डिपो पुग्नूपर्व ८९ रुपैयाँ ७४ पैसा पर्दछ । त्यसमा विक्रेता खर्च तथा नाफा ४ रुपैयाँ ७ पैसा दिँदा पेट्रोलको मूल्य १ सय ६ रुपैयाँ पुग्छ जसमा निगमले प्रतिलिटर ७ रुपैयाँ ४८ पैसा नाफा सुनिश्चित गर्छ ।

उपभोक्ता मूल्य २ रुपैयाँले मात्र किन घट्छ ?
निगमले भने स्वतः सञ्चालित मूल्य संरचनाअनुरूप पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने गरेको बताउँदै आएको छ । यस व्यवस्थाअनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा सोहीअनुसार नेपालमा पनि मूल्य कायम हुनुपर्ने हो ।

स्वचालित मूल्य प्रणालीअनुसार तेलको मूल्य निर्धारण हुने भए पनि अन्तर्राष्ट्रिय बजारमा हुने परिवर्तनको प्रभाव केही समयपछि मात्र नेपालमा पर्ने निगमका अधिकारी बताउँछन् । निगमले सोझै अन्तर्राष्ट्रिय बजारबाट तेल खरिद नगर्ने भएकाले पहिले भारतमा प्रभाव देखिने र त्यसको केही समयपछि मात्र नेपालमा पर्छ । वास्तवमा अन्तर्राष्ट्रिय बजारमा आज मूल्य घट्यो भने भारतमा पनि आजै घट्छ । तर, नेपालले भने १५ दिनको औसतमा मूल्य प्राप्त गर्छ ।

यसको अर्थ, १५ दिनको बीचमा कच्चा तेलको मूल्यमा हुने घटबढले नेपाललाई केही फरक पर्दैन । नेपालीमा अभ्यास गरिएको स्वतः सञ्चालित मूल्य संरचनाअनुसार पनि आईओसीले १५ औं दिनमा कायम गर्ने तेलको मूल्यले मात्र नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्यलाई ‘ड्राइभ’ गरेको छ । अर्कातर्फ निगमले २०७१ देखि पेट्रोलियम पदार्थको मूल्य स्वतः सञ्चालित मूल्य प्रणालीबाट तय गर्दै आएको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार स्वतः सञ्चालित मूल्य प्रणाली कार्यविधिले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँभन्दा बढीले बढघट गर्न नपाउने व्यवस्था गरेको छ । उनले बाह्रखरीसँग भने, “सोही अधिकार प्रयोग गरेर २–२ रुपैयाँ कम गरिएको हो ।” यद्यपी यो मूल्य विस्तारै कम हुँद्यै जाने र उपभोक्ताले पनि अनुभूत गर्ने उनको बुझाइ छ । आज निगमले बढी नाफा गरेको देखिएपनि भोलिका दिनमा घाटै खाएर पनि निगमले कम मूल्यमा तेल बेच्ने उनको दाबी छ । निगमले विगतका दिनमा पनि यस्तो गर्दै आएको छ ।

उनले भने, “आज तेलको मूल्य ५ रुपैयाँमा घटाउँदा भोलि बढेको बेलामा सोही दरमा बढाउन सक्दैनौं ।” यसो त, स्वचालित मूल्य प्रणाली भन्नाले अन्तर्राष्ट्रिय बजारमा जतिले बढ्यो त्यतिले घट्ने भने होइन । निगमले स्वविवेक प्रयोग गरेर अर्थतन्त्रमा सन्तुलन ल्याउने अधिकार दिएको छ । उनले निगम बलियो हुँदा सम्भावित धक्का सोस्ने दाबी पनि गरे ।

प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  १९:४५
प्रतिक्रिया दिनुहोस्