
जनकपुर । तीन महिनापछि शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री लालबाबु राउत र प्रतिपक्षी दलका सांसदबीच चर्काचर्की भएको छ ।
प्रदेश २ मा गत आवमा प्रदेशसभा सदस्यहरूमार्फत उपभोक्ता समितिद्वारा सञ्चालन गरिएका योजनाको फर्स्योट हुन सकेको छैन । सोही विषयलाई लिएर सत्तापक्षसमेतका सांसदहरूको अवरोधको कारण तीन महिनादेखि प्रदेशसभाको बैठक बस्न सकिरहेको थिएन ।
शुक्रबार बसेको बैठकको विशेष समयमा सत्तापक्षसमेतका १० सांसदले भुक्तानीको विषयलाई जोडदार रूपमा उठाएका थिए । बैठकमा उठेका विषयलाई सम्बोधन गर्न सभामुख सरोजकुमार यादवले मुख्यमन्त्री राउतलाई निर्देशन दिए ।
राउतले भुक्तानीमा विलम्ब भएको कुरा व्यक्त गर्न भूमिका बाँध्नै लाग्दा प्रमुख प्रतिपक्षी दल नेकपाका सांसद रामचन्द्र मण्डलले सीधासीधा जवाफ दिन भन्दै बीचमै बोलेपछि बबाल मच्चियो :
मुख्यमन्त्री राउत : भुक्तानीमा ढिलाइ हुनुको कारण सरकार होइन...
प्रदेशसभा सदस्य मण्डल : भूमिका नबाँध्नुस् भुक्तानीमा ढिलाइको कारण के हो त्यो सीधासीधा भन्नुस् ।
राउत : तपाईंहरूले बोल्दा मैले धैर्यपूर्वक सुनेको थिएँ, अब तपाईंहरू पनि सुन्नुस्, धैर्य गर्नुस् ।
मण्डल : (सिटबाट उठ्दै) कति धैर्य मात्रै गर्नु ...
मण्डल गर्जिन थालेपछि सत्तापक्षका सांसदहरू सबै उठेर उनीविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुँदै धैर्यताको पाठ सिकाउन थाले । यता प्रतिपक्ष दल कांग्रेस र नेकपाका सांसदहरूलाई पनि मण्डललाई शान्त गर्न केही समय लागेको थियो ।