-1745139334.jpg)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सिंहदरबारबाट पक्राउ परेका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतालाई तत्काल छाड्न माग गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले आफ्ना नेताहरूलाई सिंहदरबार परिसरबाट पक्राउ गरिनु आपतिजनक र दुर्भाग्यपूर्ण भएको निष्कर्ष निकालेको छ ।
संविधानप्रदत्त अधिकारको उपभोग गर्ने क्रममा सरकारले अवरोध गरेको राप्रपाको टिप्पणी छ । बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा राप्रपाले आगामी दिनमा थप सशक्त ढंगबाट विरोध र प्रतिवाद गर्ने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनुपर्ने उल्लेख छ ।
राप्रपाले सरकारको रबैया अलोकतान्त्रिक, सर्वसत्तावादी र विपक्षी आवाजलाई निस्तेज पार्ने निरंकुश चरित्र भएको आरोप लगाएको छ ।
“अध्यक्ष र नेताहरू पक्राउको राप्रपा घोर निन्दा र भर्त्सना गर्छ । यसको सर्वत्र विरोध गरिनुपर्छ । शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदैगर्दा गिरफ्तार हुनुभएका अध्यक्ष र सबै नेताहरूको अविलम्ब रिहाइको राप्रपा माग गर्दछ,” राप्रपाले भनेको छ ।
आइतबार सिंहदरबारभित्र प्लेकार्ड प्रदर्शन गरेपछि अध्यक्ष लिङ्देन, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाही पक्राउ परेका थिए । यसैगरी, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पनि पक्राउ परेका थिए ।
चैत १५ गतेको तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्ने र हिरासतमा रहेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशम्शेर राणालगायत नेता, कार्यकर्ताहरूलाई रिहा गर्नुपर्ने माग राप्रपाको छ ।