site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 आफ्नै उमेरको समूह देखेपछि सहजै पत्याइन् !

जनकपुर । घटना बुधबार दिउँसो एक बजेको हो । धनुषाको गणेशमान चारनाथ नगरपालिका –५ चिसापानीस्थित नयाँबस्तीमा अपरिचित १७ जनाको टोली आयो । सबैले कुनै न कुनै हतियार बोकेका थिए । कसैसँग पेस्तोल त कसैसँग सकेट बम थियो । 

उदयपुरतिरबाट आउने उनीहरुले नयाँबस्तीका गोठाला शान्तिराम श्रेष्ठलाई आफूहरु विप्लव समूहका कार्यकर्ता रहेको भन्दै खाना खुवाउन आग्रह गरे । 

शान्तिरामले त्यतिजनालाई खुवाउन गोठमा केही नरहेको भनेपछि छिमेकी गोठाला लालबहादुर तामाङकहाँ पुगे । 

तामाङ दम्पती सिन्धुलीको दुधौलीमा बाबुको क्रिया गर्न गएका रहेछन् । 

गोठ ‘रुङ्न’ एक्ली छोरी करिना बसेकी थिइन् । उक्त समूहको आग्रहलाई करिनाले अस्वीकार गर्न सकिनन् र सबैलाई खाजा खुवाइन् ।

सुरुमा उनीहरुले शान्तिरामलाई नै जनमुक्ति सेनामा जान आग्रह गरेका थिए । 

उनले गाईगोरु हेर्नुपर्ने भन्दै असमर्थता जनाएपछि करिनालाई फकाउन थाले । आफ्नै उमेरका केटाकेटीहरुलाई देखिन् । उनीहरुमा देखिएको उत्साहले करिना पनि सहजै तयार भएको शान्तिरामको भनाइ छ । 

‘देशको भविष्य बनाउन र गरिबीबाट उन्मुक्ति पाउन एक पटक फेरि क्रान्तिको आवश्यकता रहेको र यो क्रान्तिमा सहभागी हुने अवसर छोड्नु हुँदैन’ उक्त टोलीका सदस्यहरुले करिनासँग भनेछन् । 
करिना तयार भइन् । 

अपराह्न करिब साढे तीन बजे उनीहरु उदयपुरतिर लागे । 

लगत्तै शान्तिरामले करिनाका बाबु लालबहादुरलाई घटनावारे मोबाइलमार्फत जानकारी गराए । 

लालबहादुरले सिन्धुली प्रहरीलाई र शान्तिरामलगायत छिमेकीले धनुषा प्रहरीलाई खबर गरे । 

घटनास्थलमा प्रहरी पुग्दा साँझको सात बजिसकेको थियो । सशस्त्र प्रहरीको रघुनाथपुर वेश क्याम्पका इन्चार्ज इन्स्पेक्टर गणेश पाण्डे र ढल्केवर इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर तिर्थबहादुर कार्कीको संयुक्त टोली परिचालन भयो । 

प्रहरीले घटना विवरण संकलन गरी करिनासहितको टोली निस्केको बाटो पछ्याउन थाल्यो । 

चिसापानीको नयाँबस्तीबाट मैनाबती, छोटकी दमार, दमारहुँदै धनुषाको संयुक्त प्रहरी टोली उदयपुरको सीमासम्म पुग्यो । 

करिनालगायतको टोली हिँडेको बाटो पत्ता लागिसकेपछि धनुषाको प्रहरीले सिन्धुली र उदयपुर प्रहरीलाई खबर ग¥यो । 

“हामीले रातभर नसुती हतियारधारी टोलीलाई पछ्याइरह्यौं,” धनुषा प्रहरी टोलीको अगुवाइ गर्ने सशस्त्र प्रहरीका इन्स्पेक्टर पाण्डेले बाह्रखरीसँग भने, “समयमा खबर पाएको र रातारात पछ्याएपछि करिनासहितको टोलीलाई नियन्त्रणमा लिन सफल भयौं ।”

करिनालाई लिन धनुषा आएको टोली उदयपुरतर्फ निस्केको बाटो पत्ता लागेपछि सिन्धुली, उदयपुर र सिरहाको प्रहरी टोलीले सबैतिरबाट हतियारधारी टोलीलाई घेरा हाल्दै अघि बढ्न थाल्यो । 

बिहीबार दिउँसो करिब एक बजेको समयमा उदयपुरस्थित कटारी नगरपालिकाको वडा नम्बर १, खसीबासबाट करिनासमेत १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

बिहीबारै साँझ सबैलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको छ । 

करिनालाई अभिभावकको जिम्मा लगाइएको तथा अन्य १४ जनालाई जिल्ला अदालत धनुषाबाट म्याद थपगरी कारवाही प्रक्रिया सुरु गर्न लागेको धनुषा प्रहरी प्रमुख एसपी रमेश बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार उनीहरुविरुद्ध हातहतियार तथा खरखजाना र अपहरण तथा शरीर बन्धक मुद्दा अन्तरगत कारवाही हुन्छ । 

पक्राउ पर्ने टोलीसँग तीन थान पेस्तोल, त्यसमा प्रयोग हुने नौ राउण्ड गोली, १२ थान सकेट बम र एउटा प्रेसरकुकर बमलगायत हातहतियार बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रामेश्वर कार्कीले जानकारी दिए । 

पक्राउ पर्नेहरुको नामावली

अविनाश तामाङ, वर्ष १८, ताबिल, उदयपुर

आशिष लामा, वर्ष २०, गाईघाट, उदयपुर

रञ्जना राई, वर्ष १६, ताप्लेजुङ

अनिता राई, वर्ष १९, पाख्रीबास, धनकुटा

अनुष्का राउत, वर्ष १९, कैलाली

सपना राई, वर्ष १७, आइतबारे, मोरङ

आशिष श्रेष्ठ, वर्ष १५, मोरङ

ईश्वर पुन मगर, वर्ष १९, जुवाडे, सिन्धुली

मुस्कान राई, वर्ष २०, फाकफोक, इलाम

रिता कार्की, वर्ष १६, लालबन्दी, सर्लाही

आयुष मगर, वर्ष १७, बतासे, इलाम

विकास राई, वर्ष २०, खोक्सिङ, ताप्लेजुङ

विवेक खडेका, वर्ष २८, इटहरी, सुनसरी

मनोराम राई, वर्ष ४५, भोजपुर 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  ०९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro