site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्तरगृह घुम्दै सकियो परिक्रमा

जनकपुर । जनकपुरको अन्तरगृह परिक्रमा गर्दै सोमबार मिथिलाको १५ दिवसीय ‘मध्यमा परिक्रमा’ सम्पन्न भएको छ । 

फागुन (१२ गते) शुक्ल औंसीका दिन धनुषाको कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट सुरु मध्यमा परिक्रमा धनुषा र महोत्तरीसहित भारत, विहारको विभिन्न स्थान घुम्दै आइतबार जनकपुर आइपुगेको थियो । सोमबार बिहान जनकपुरको पञ्चकोसी (अन्तरगृह) परिक्रमा गरी यात्रामा सहभागी नेपाल तथा भारतका सम्पूर्ण तीर्थयात्री घर फर्केका हुन् । 

मुलुकमा सरकारले पर्यटन वर्ष मनाइरहेको बेलामध्यमा परिक्रमाको महत्त्वलाई राष्ट्रियस्तरमा परिचित गराउन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि सहभागी गराइएको थियो । नेपाल र भारतका हजारौं तीर्थालु सहभागी रहेको परिक्रमा थालनीमा दाहालले मिथिलाविहारी मन्दिरबाट रामको डोला उठाएका थिए । उनले उठाएको डोला साधुसन्तले सम्हाल्दै १५ दिवसीय यात्रा प्रारम्भ भएको थियो । 

कचुरीबाट अघि बढेको परिक्रमामा सहभागी तीर्थयात्रीहरू पहिलो साँझ जनकपुरस्थित हनुमानगढीमा विश्राम लिए । दोस्रो दिन भारत, विहारस्थित कलना पुगे भने तेस्रो दिन विहारकै गिरिजास्थानमा विश्राम लिएका थिए । चौथो दिन नेपाल फर्किंदै महोत्तरीको मटिहानीमा विश्राम गरे । त्यसपछि क्रमशः जिल्लाको सदरमुकाम जलेश्वर, मडई, ध्रुवकुण्ड हुँदै अघिल्लो आइतबार कञ्चन वन पुगेर विश्राम गरेका थिए ।
सोमबार धनुषाको पर्वता पुगेका तीर्थयात्रीहरू क्रमशः धनुषाधाम, सतोषर र औरहीमा डोला बिसाए । शुक्रबार पुनः बिहारको करुणा पुगेका तीर्थालु शनिबार साँझ बिसौलमा थकाई मेटे । आइतबार कल्याणेश्वर हुँदै जनकपुर आइपुगेका उनीहरू साँझ रंगभूमि मैदान बाह्रबिघामा विश्रामगरी सोमबार जनकपुरको अन्तरगृह परिक्रमा गरी आ–आफ्ना घर फर्केका हुन् । 

के हो मध्यमा परिक्रमा ?
हिन्दु धर्मको प्रसिद्ध ग्रन्थ ‘मिथिला महात्म्य’ मा १५ दिवसीय मध्यमा परिक्रमाबारे उल्लेख छ । १८औं शताब्दीमा उक्त ग्रन्थ लेखिएको भनाइलाई आधार मान्ने हो भने यो परिक्रमा १८औं शताब्दीभन्दा पनि पहिलेदेखि सुरु भएको भन्न सकिन्छ । 

हरेक वर्ष फागुन शुक्ल औंसीको दिन सुरु हुने यो परिक्रमा पूर्णिमाको दिन जनकपुरमा अन्तरगृह घुमेर सकिन्छ । जनकपुरको अन्तरगृह परिक्रमा गरेको भोलिपल्ट मात्रै जनकपुरमा होली खेल्ने चलन छ । मध्यमा परिक्रमामा मुलुकका विभिन्न जिल्लासँगै भारतको विहार तथा उत्तरप्रदेशबाट उल्लेख्य संख्यामा साधुसन्तहरू सहभागी हुन्छन् । खासगरी रामायणमा वर्णन गरिएबमोजिम राम र सीताले घुमेको प्रसिद्ध धार्मिक स्थलहरूको दर्शन गर्न यो परिक्रमाको थालनी भएको जनकपुरका साधुसन्तहरूको भनाइ छ ।

जनकपुरस्थित सुन्दर सदनका महन्त नवलकिशोर शरणका अनुसार प्राचीन मिथिलाका राजा जनकको दरबार र आसपास क्षेत्रको परिक्रमा गर्दा पुण्यप्राप्ति हुने विश्वास छ । मिथिला क्षेत्रका बासिन्दाले मर्नु अघि कम्तीमा एकपटक मध्यमा परिक्रमामा सहभागी हुँदा मरणोपरान्त राम्रो हुने जनविश्वास छ । त्यसैले यो परिक्रमामा वृद्ध, वृद्धाको संख्या बढी हुने गरेको उनी बताउँछन् । 

यद्यपि, मध्यमा परिक्रमाको अन्तिम दिन जनकपुरको अन्तरगृह परिक्रमामा भने शिक्षक, कर्मचारी, खेलाडीदेखि बालबालिकासम्मको उल्लेख सहभागिता देख्न सकिन्छ । जनकपुरको पिराडी चोक, मिल्स एरिया, भानु चोक, कदम चोक, विषहरा चोक, मुरली चोक, भ्रमरपुरा चोक, ज्ञानकुप हुँदै पुनः पिराडी चोकसम्म आइपुग्दा करिब पाँच किलोमिटर पुग्छ । यो परिक्रमालाई पञ्चकोसी परिक्रमा पनि भनिन्छ । मिथिला मध्यमा परिक्रमामा सहभागी हुन नसक्नेले कम्तीमा अन्तरगृह घुम्नुपर्ने बताइन्छ । यसमा जनकपुरसँगै आसपासका ग्रामिण क्षेत्रका हिन्दु समुदाय सहभागी हुन्छन् । 

क्याप्सन
सोमबार बिहान अन्तरगृह परिक्रमामा देखिएको दृश्य । तस्बिर सौजन्य : अमरेन्द्र यादव

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro