काठमाडौं । उमेरले थलिन लागे पनि चाबहिल सरस्वतीनगर–६ काठमाडौंका कृष्णबहादुर कणेलको राजनीतिप्रतिको चासो कम भएको छैन । यसअघिका स्थानीय निकायका चुनावमा भोट हालेका उनी पहिलोपटक हुन लागेको स्थानीय तहको निर्वाचन कस्तो हुने हो ? भन्ने कौतूहलता मनभरी साँचेर बसेका छन् ।
“चुनाव हुन्छ कि हुँदैन भन्दाभन्दै भोट हाल्ने दिन मुखैमा आइपुग्यो । अब भने हुन्छ कि जस्तो लाग्न थाल्यो,” कणेल भन्छन्, “तर, कसलाई भोट हाल्ने भन्ने टुङ्गो गरिसकेको छैन ।”
भोट माग्न को आउँछ र कसका कृुरा राम्रा लाग्छन्, उसैलाई भोट हाल्ने योजनामा छन् कणेल । तर, उनलाई दलहरूको विश्वास भने छैन । “रामराज्य होइन यो, रावणराज्य हो । जसलाई जे मन लाग्यो, त्यही गर्छन् । न विकास छ, न योजना । काठमाडौंमा हिँड्ने बाटो छैन । धुलो र धुँवाको कुइरीमण्डल छ,” बिहीबार बिहान सबेरै धुम्बाराहीमा भेटिएका कणेल भन्छन्, “विकास कसैले गर्दैन । कुनै दल छैन गतिलो, सबै आफ्ना लागि मात्रै हुन् ।”
राजाको एकमना शासनदेखि अनेकौं पार्टीको शासनसत्ता आफ्नै जीवनमा भोगेका उनले कुराकानीमै एउटा उखान पनि मिसाए, ‘तेल पानी एकातिर, पिना अर्कैतिर’ ।
“दलहरूले गर्ने झगडा त बाहिर देखाउने मात्रै हो । बजेट खाने बेलामा सबै भित्रभित्रै मिल्छन्,” उनी भन्छन्, “त्यसैले हामी जनताका लागि यी दलहरूले केही गर्दैनन् । त्यसैले त हो, मैले अगि भनेको रावणराज्य हो यो ।”
लम्जुङ बेंसीसहर–११ का सुजन पन्त पेसाले वकिल हुन् । ललितपुरको पाटन बस्दै आएका उनी स्थानीय तहको निर्वाचनको मतदानमा सहभागी हुन गाउँ जाँदैछन् । एक गैरसरकारी संस्थामा कार्यरत पन्त भन्छन्, “वडा अध्यक्षमा मेरै साथी उठेको छ । उसैलाई भोट दिने हो । उसैलाई भोट हाल्न अफिस बिदा भएपछि घर जाँदैछु ।”
स्थानीय संसद् नै भएकाले यो निर्वाचनमा मतदाताले विशेष ख्याल पुर्याउनुपर्ने उनको भनाइ छ ।
“संसदीय निर्वाचन भएको भए आफ्नो सिद्धान्तअनुसारको पार्टीलाई भोट दिँदा फरक पर्दैनथ्यो” पन्त भन्छन्, “यो स्थानीय तहको संसद्को पनि भूमिका खेल्ने निर्वाचन भएकाले जसले गाउँमा बसेर काम गर्छ, त्यसैलाई भोट हाल्नुपर्छ ।”
लमजुङ हाइड्रोको हब भएकाले पनि स्थानीय स्रोतको पहिचान गर्दै त्यसलाई बुझ्न सक्ने मान्छेलाई मतदान गर्न उनी आग्रहसमेत गर्छन् । संघीय संविधानको कार्यान्वयन गर्ने यो पहिलो खुड्किलो भएकाले पनि आफ्नो मतको सही सदुपयोग गर्नुपर्नेमा उनको जोड छ ।
झापा भद्रपुर–७ का सुवास पोखरेल काठमाडौं बस्न थालेको एक दशकभन्दा पनि बढी भयो । काठमाडौं बस्दै आए पनि उनको मताधिकार भने झापामै सुरक्षित छ । त्यसैले उनी मतदान गर्न झापा नै जानेछन् । तर, उनको जिल्लामा भने दोस्रो चरणमा मात्रै निर्वाचन हुनेछ ।
“हाम्रोमा पहिलो चरणमा नहुने भए पनि दोस्रो चरणमा निर्वाचन हुनेछ, मतदानका लागि गाउँ जाने सोच बनाएको छु,” पोखरेलले भने, “पहिलो चरणको निर्वाचन यहीँ बसेर हेर्नेछु ।”
वैशाख ३१ गते निर्वाचनमा सहभागी हुन नपाए पनि उनी साथीभाइलाई निर्वाचनमा उत्साहपूर्ण सहभागिताका लागि हौस्याइरहेका छन् । कर्मचारीको हातबाट आफ्नै जनप्रतिनिधिको हातमा विकासका योजना र काम आउने भएकाले पनि यो निर्वाचनको विशेष महत्त्व रहेको उनको भनाइ छ ।
“स्थानीय निर्वाचनको माहोलसँगै जनतामा विकासको आशा पलाएको छ । यो निर्वाचनलाई विकासको प्रवेशबिन्दुका रूपमा लिएर सोही अनुसारका प्रतिनिधि छनोट गर्नुपर्छ,” बिहीबार बिहान विशालनगरमा भेटिएका पोखरेलले भने, “यो निर्वाचन स्थानीय तहको विकासका लागि भएकाले जाति, भाषा, धर्म र पार्टी नहेरी उमेदवारको योग्यता, क्षमता, योजना र कार्यकुशलतालाई मतदानको आधार बनाइनुपर्छ ।”
पोखरेललाई पछिल्लो केन्द्रीय राजनीतिप्रति वितृष्णा रहेछ । मनमा रहेको तुुस पोखिहाले, “मेरो सबै मतदातासमक्ष आग्रह– अहिलेको केन्द्रीय नेतृत्वजस्ता प्रतिनिधि भने नछानौं । यो गलत प्रवृत्तिलाई अब हामीले निरुत्साहित गर्दै जानुपर्छ ।”
अछाम दर्नाका भक्ति शाह यो पटक दोस्रोचोटि मतदान गर्दैछन् । उनको विचार पनि पोखरेल र पन्तको भन्दा धेरै फरक छैन । शाह पार्टी र आफ्नो भन्दा पनि काम गर्ने व्यक्तिलाई भोट दिनुपर्ने बताउँछन् ।
“हाम्रोभन्दा पनि राम्रो उमेदवारलाई भोट दिनुपर्छ जस्तो मलाई लाग्छ,” शाह भन्छन्, “चुस्त दुरुस्त काम गर्ने व्यक्ति मेरो रोजाइमा पर्छ ।”
स्थानीय तहको निर्वाचनमा पहिलोपटक भोट हाल्न लागेका उनी आफू मतदानको व्यग्र प्रतीक्षामा रहेको बताउँछन् । “मतदान गर्न घर जाने योजनामा छु,” उनले भने, “हाम्रो जिल्लामा दोस्रो चरणमा निर्वाचन हुने भएकाले वैशाख ३१ को निर्वाचन भने काठमाडौंमै बसेर हेरिन्छ ।”