काठमाडौं । “ न्युड भनेको न्युड हो । यसलाई नग्नता, अश्लिलता जस्ता कुनै पनि शब्द नदिनु होस् । मैले कति साथीहरूलाई अनुरोध गरें तर अन्तिममा समाचार आउँदा उही शब्द आउँछन् ।” चाकुपाटस्थित एमक्युब ग्यालरीमा ‘न्युड’ कलाको बारेमा हामीसँग कुरा गर्दै कलाकार कपिल मणि दीक्षित आफ्नो निराशा पोख्दै थिए ।
कलाकार दीक्षित लगायत १९ जना ‘न्युड’ फर्म आर्टिस्टको ‘सेलिब्रेसन अफ ह्युमन बडी’ थिमका ‘२० सेड्स अफ न्युड’ शीर्षकमा कला प्रदर्शनीमा राखिएका छन् ।
दीक्षितका अनुसार नग्नता र वस्त्रहीनताभन्दा अरुले जबरजस्ती नग्न बनाइदिएको जस्तो सुनिन्छ । जसमा ‘न्युड’ आर्ट भनेको स्वतन्त्रताको चित्रण हो । त्यसैले यसलाई यही शब्दले सम्बोधन गरिनु उपयुक्त हुन्छ ।
प्रदर्शनीमा उनको पनि एउटा न्युड आर्ट छ । सुन्दरता र न्युडको कुरा आउँदा चाहे त्यो क्यानभासमा होस् या, गीतको शब्दमा होस्, कवितामा होस् या साहित्यको अरु कुनै विधामा होस् महिला पात्र नै अगाडि देख्छौं । तर कलाकार दीक्षितले भने आफ्नो कलामा पुरुष पात्रलाई उभ्याएका छन् ।
“किन सुन्दरताको कुरा आँउदा जहिले पनि महिलाको मात्रै वयान गर्नु, के हामी केटा पनि राम्रा छैनौ र ? भगवान्ले महिला र पुरुष दुवैलाई त्यही शरीर दिएको हो भने हामी किन सुन्दरतामा महिलालाई मात्रै ल्याउछौँ ?” उनी प्रश्न गर्छन् ।
उनी आफ्नो यो कलामार्फत् त्यही सोचलाई परिवर्तन गर्न खोज्दै छन् । मानव सुन्दरता भनेपछि महिला पुरुष दुवैको कुरा आउने उनी बताउँछन् ।
उनले क्यानभासलाई अरुले जस्तो भित्तामा टाँसेर राखेका छैनन् । झुण्डाएर राख्दा स्वतन्त्र उड्दै गरेको महसुस गराउँछ रे ।
उनले भगवान् शिवले शतिदेवी (पार्वती) को पाश्र्व शरीर काँधमा बोकेर पृथ्वी घुमेको र शतिदेवीको शरीरका अंगहरू झरेको शक्तिपीठहरू बनेका ठाउँलाई रंग र ब्रस मार्फत् उतारेका छन् ।
तर उनले शिवको परिचय बोकेको त्रिशुल, डमरु जस्ता केही पनि प्रतीक समावेश गरेका छैनन् र त्यसको जरुरत पनि उनी ठान्दैनन् । किनभने उनी शिव भगवान्लाई मात्रै नभएर समग्र पुरुषलाई चित्रण गर्न खोजेका छन् ।
यो प्रदर्शनीको मुख्य उद्देश्य भनेकै ‘न्युड’ लाई सकारात्मक रूपमा लिएर हरेक व्यक्ति आफैंलाई हेर्ने भावनाको विकास गराउनु छ । अझै विद्यालय स्तरदेखि नै हरेक बालबालिकालाई आफ्नो शरीरका अंगका बारेमा जानकारी दिनुपर्ने उनी बताउँछन् ।
आज बालकालिकाहरू यौन शोषणमा पर्नुको प्रमुख कारण भनेको शरीरको कुन अंगमा छुँदा विरोध गर्ने भन्ने कुरा थाहा नभएको उनी बताउँछन् । त्यसैले उनीहरूलाई यसरी प्रदर्शनीमार्फत ‘ओपनअप’ हुन सिकाएर कस्तो कुरा राम्रो र नराम्रो हो भन्ने सिकाउनु पर्ने बताए ।
ग्यालरीको प्रवेशद्वारा अगाडि नै एउटा ठूलो क्यानभासमा सानोसानो चारपाटे कोठा बनाएर महिलाका शरीरका विभिन्न अवस्थाका अंगको चित्रण गरिएको छ । ती साना साना चित्रलाई ‘ओभरल्याप’ गरी माथि कालो रंगले एक ‘न्युड’ महिलालाई उभ्याइएको छ ।
चित्रकार मुकेश श्रेष्ठले ‘इम्ब्रेस सेल्फ लब’ शीर्षकमा समाजले दिएको सुन्दरताको परिचयमा आधारित भएर आफ्नो शरीरलाई घृणा नगर्न आग्रह गरेका छन् । महिलाको शरीर उमेरसँगै परिवर्तन भइरहेको हुन्छ, विशेष त ऊ कुनै सन्तानकी आमा भएपछि उसको शरीरमा ठूलो परिर्वतन देखिन्छ ।
अरु बेलाभन्दा केही मोटो र भद्दा भएको महसुस गर्छन् । तर जस्तो भए पनि आफ्नो शरीरलाई माया गर्नुपर्ने र गर्न आग्रह गरेका छन् ।
त्यस्तै कलाकार रशना वज्राचार्यले ‘न्युडिटी अफ ब्रेस्ट’ शीर्षकमा ३ वटा क्यानभासमा महिलाको न्युड स्तनलाई वरिपरि सुन्दर रङ्गिन फूलहरूले सजाएका छन् ।
पहिलो क्यानभासमा दूधको थोपा बगिरहेको स्तनमा एक अबोध बालकको हातले त्यसलाई छुन खोजिरहेको छ । भने दोस्रोमा एक वयस्क व्यक्तिको हातले छुन खोजेका छन् भने अन्तिममा बीचमा काटेर सिलाइएको स्तनलाई सेतो पन्जा लगाएका व्यक्तिको हातले छुन खोजिएको छ ।
कलाकार वज्राचायले कुनै पनि महिलाको सुन्दरता, युवावस्था र परिपक्वता उसको स्तनले निर्धारण गर्ने कुरा देखाउँन खोजेका छन् । सँगै समाजले यसलाई उसको प्रेमी वा श्रीमान्का लागि सुन्दर सम्पत्ति, उसको बच्चाका लागि आहाराको स्रोतका रूपमा मात्रै लिने र यो एक महिलाको परिचय पनि भएको बिर्सिने गरेको बताउन खोजेका छन् ।
त्यस्तै अन्तिम चित्रमार्फत कलाकारले, पछिल्लो समय धेरैजसो महिलाहरू स्तन क्यानसरको सिकार हुनु परिरहेको तितो यथार्थलाई प्रस्तुत गर्दै यसलाई लाजका रूपमा नभई स्वास्थ्यको दृष्टिकोणबाट हेरेर यस विषयमा खुलेर कुरा गर्नुपर्ने कुरालाई जोड दिएकी छन् ।
अर्का कलाकार भाइराज महर्जनले व्यक्तिको ‘न्युड’ शरीरलाई हरियो रंगले भरेका छन् । भने पृष्ठभूमिमा नीलो रंगको भित्तामाथि सेतो रंगले बादल र चन्द्रमा कोरेका छन् । कलाकार महर्जनले ‘न्याचुरल नेचर’ शीर्षक दिएर प्रकृति सधैं न्युड हुने र मानव पनि जन्मँदा र मर्दा न्युड नै हुने बताउने खोजेका छन् ।
कलाकार दीक्षित न्युडिटी र भल्गारिटीमा पनि उत्तिकै सेचत छन् । शरीरको पोजिसन, हात र खुट्टाको पोजले पनि न्युड कलालाई भल्गारिटीमा परिणत गर्न सक्ने उनी बताउँछन् ।
अहिले उनको प्रदर्शनीका अवलोकनकर्ताहरू युवा, वयस्क, श्रीमान्श्रीमतीदेखि विद्यालयका विद्यार्थी पनि छन् । यसको अर्थ उनी नेपाली समाज यस विषयमा केही उदार भइसकेको मान्छन् । तर, २००९ मा उनी नेपाल आएर पहिलोपटक काम सुरु गर्दा निकै फरक थियो । “२००९ मा मैले ८ जना कलाकारसँग मिलेर यस्तै एउटा प्रदर्शनी गरेको थिएँ ।
त्यो बेलाको समाज यस विषयलाई लिएर केही संकुचित नै थियो । यो विषयमा मानिसको सकारात्मक सोच ल्याउनका लागि मैले धेरै काम गरिसकेको छु,” उनी आफ्नो संघर्षका दिन सम्झिन्छन् ।
कपिल मणि दीक्षित र मनीषलाल श्रेष्ठ क्युरेटर रहेको प्रदर्शनीमा कलाकारहरू मुक्ति सिंह थापा, संगीता थापा, लय मैनाली, भाइराजा महर्जन, आशा डंगोल, रोशन मिश्र, कपिलमणि दीक्षित, मनीष लाल श्रेष्ठ, जुपिटर प्रधान, मुकेह श्रेष्ठ, बिजे महर्जन, सुन्दर लामा, उमा विष्ट, रोशन भण्डारी, रोशना वज्राचार्य, आदित्य अर्याल, उमेश श्रेष्ठ, विश्वम्बर बस्न्यात, शिसिला महर्जन र अन्जली मानन्धरका कलाहरू छन् ।
प्रदर्शनी सोमबारसम्म जारी रहनेछ ।
तस्बिर : हरिशजंग क्षेत्री