
काठमाडौं । केही समय यता नेपाली धितोपत्र बजारमा उत्साह देखिएको छ । लगातार वियरिस ट्रेन्डमा रहेको बजारले केही समय यता बुलिस ट्रेन्ड समातेको छ । बजारले कारोबारमा समेत नयाँ रेकर्ड कायम गरेको छ ।
यो साता कारोबार भएका पाँच दिनमा चार दिन बढेको बजारमा एक दिन भने सामान्य करेन्सन भयो । कारोबार भएको पाँचै दिन बजारमा तिव्र उतारचढाव देखिँदा साताको दुई दिन ४ अर्ब माथिको कारोबार भयो । अन्य तीन दिन पनि ३ अर्ब माथिको कारोबार भयो । बजार घट्दा अर्थमन्त्रीलाई दोष दिने लगानीकर्ता पनि बजारमा केही दिनयता देखिएको बुलिस ट्रेन्डलाई स्वाभाविक रहेको बताउँछन् ।
बजारमा चिनियाँ लगानीकर्ताले लगानी बढाउँदा पनि सेयर बजारमा उछाल देखिएको जानकारहरू बताउँछन् । कोरोनाको प्रभावले चिनियाँ अर्थतन्त्र ठप्प भएको र नेपाली व्यापारीसँँग सम्बन्ध भएका चिनियाँ व्यापारीले नेपालीमार्फत् लगानी गरेकाले कारोबारमा उछाल आएको स्रोतको दाबी छ ।
नेपाल स्टक एक्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद बजारमा विविधिकरण देखिएको बताउँछन् । ट्रेडिङ क्षेत्रका लगानीकर्ता र मारवाडी समुदायले बजारमा लगानी बढाउँदा कारोबार रकमसँगै बजार पनि बढेको उनको भनाइ छ ।
“अनलाइनको प्रभाव बजारमा परेको देखिन्छ” साउदले भने, “नेपाल बाहिरबाट लगानी गर्ने पनि बढ्दै गएका छन् ।” उनले यसलाई अनलाइन कारोबारको प्रभावका रूपमा विश्लेषण गरेका छन् । डिम्याट र अनलाइनको ‘युजर आइडी’ भएपछि विश्वको जहाँबाट पनि सेयर बजारमा लगानी गर्न पाइने भएकाले पनि बजार बढेको तर्क उनको छ ।
गत आइतबार ३ अर्ब ६० करोडको कारोबार हुँदा ४० करोडभन्दा माथिको कारोबार नेपाल बाहिरबाटै भएको साउदले बताए । यसले पनि अनलाइनको प्रभाव बजारमा देखिएको साउदले दाबी गरे ।
उनले भने, “चीनमा देखिएको कोरोना भाइरका कारण व्यापारमा प्रभाव परेको र अल्पकालीन समयमा सेयर बजारमा लगानी गरेर फाइदा लिउँ भन्ने पनि देखिन्छ ।”
भारतमा बजार घट्दा नेपालका मारवाडी समुदायले दुवै तर्फ कारोबार गर्ने गरेको र उनीहरूको लगानी पनि बढेको छ भन्ने सुनिन्छ नि भन्ने प्रश्नमा साउदले भने “माडवाडी समुदायको लगानी बढेको देखिन्छ, बढ्दो बजारमा लगानी गरेर प्रतिफल लिउँ भन्ने उद्देश्य हुन सक्छ ।”
नयाँ बजेट ल्याएसँगै भारतीय सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ । तर, नेपाली बजारमा भने लगातार उछाल देखिएको छ । यसले गर्दा नेपाल र भारत दुवैतिर कारोबार गर्ने माडवाडी समुदायका लगानीकर्ताले नेपाली सेयर बजारमा पनि लगानी बढाएको उनले संकेत गरे ।
लामो समयदेखि नेपाली सेयर बजारलाई नजिकबाट नियालेका सेयर बजारका जानकार दिलिपकुमार मुनंकर्मी केही समयदेखि तिब्र रफ्तारमा कुदेको सेयर बजारको कारोबार र सूचकांकलाई लिएर सरोकारवालाहरूमात्र होइन, स्वयं लगानीकर्ता समेत चकित भएको बताउँछन् ।
उनले भने, “कतिले यत्रो रकम कहाँबाट आयो, कतिले यो गतिमा बजार र सूचकांक बढ्नु ठिक हो वा होइन, अनि अहिलेको वृद्धि स्वाभाविक कि अस्वाभाविक, भन्ने जिज्ञासा यत्रतत्र व्यक्त गर्न थालिएको छ ।”
उनका अनुसार जहाँसम्म वृद्धिको स्वाभाविकताको प्रश्न छ, यो पक्कै अपेक्षित गति भन्दा निकै तिब्र हो तर करिब ३ दशमलब ५ वर्ष घटेको बजार कुनै पनि समयमा बढ्नै पर्छ भन्नेमा सबै आशातित र प्रयासरत थिए ।
उनले थपे, “केही महिनादेखिका राजनीतिक, नीगित, नेपाल धितोपत्र बोर्डमा नयाँ नेतृत्वका साथै लगानीकर्ता चलायमान र आशावादी हुँदै गएका कारण वृद्धि निश्चित थियो । केवल गतिको प्रश्न हो ।”
रकमको सन्दर्भमा बुझाइको फरक रहेको भन्दै उनले बजार बढ्दा किनेको मात्र देख्ने र घट्दा बेचेको मात्र देख्ने हाम्रो दोषी चस्माले अहिलेको साढे चार अर्ब रुपैयाँ कहाँबाट आयो भन्ने सवाल गरिएको हुनसक्ने बताए । यसमध्ये आधाले बेचेको र केही लगानीकर्ता तथा कारोबारीले केही कम्पनीका सेयर बेच्दै अर्को किनेको पक्ष बिर्सिएर रकमको प्रश्न उठेको उनको भनाइ छ ।
बजार चलायमान हुन थालेसँगै केहीले पोर्टफोलियो व्यवस्थापन र केही नाफा बुक गर्न एउटा किन्ने र अर्को बेच्न थाल्दा रकम उल्लेख्य बढेको उनको भनाइ छ । “केही हदसम्म पुराना र नयाँ पनि बजार छिरेको हुनसक्छ,” उनले भने, “मुख्यतः ३ वर्ष बजारमा टिकेका लगानीकर्ताहरू र केही यसका सरोकारवालाहरू सक्रिय हुँदा बजारले दैनिक नयाँ रेकर्ड कायम गरेको हुनसक्छ ।”
उनका अनुसार कति अवधिमा कति बढ्नु पर्ने र कति बढ्यो ? यो प्रश्नको जवाफ पाउन सकिन्न । उनले थपे, “यसमा सबैको आफ्नै दृष्टिकोण हुनसक्छ, बल वा स्प्रिङ जति थिच्यो त्यही अनुपातमा उफ्रिन्छ, अहिलेको वृद्धिलाई सोही अनुरुप बुझ्दा ठिक होला ।”
अल्पकालीन लगानीकर्ताले लक्ष्यअनुसार नाफा वा नोक्सान बुक गर्ने र दीर्घकालीन लगानीकर्ताले रणनीति र पोर्टफोलियो रिभ्यु गर्दै घट्दो र बढ्दो अवस्थामा चालिनुपर्ने कदमका लागि तयार रहने उनी बताउँछन् ।
“बजारमा मूल्य तलमाथि हुन्छ, अवसर तथा जोखिम परिवर्तनशील हुन्छ, लगानीले प्रतिफल दिन समय लाग्छ, त्यसको लागि धैर्यता चाहिन्छ,” उनले भने, “नेप्से परिसूचक बढ्नु भनेको सेयरको मूल्य बढ्नु हो र त्यसले कसैलाई मुनाफा सिर्जना गर्दा मूल्यगत जोखिम पनि बढाइरहेको हुन्छ ।”
नेपाल इन्भेस्टर फोरमका पूर्व अध्यक्ष तथा सेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेल बजार बुलिस ट्रेन्डमा जाँदा लगानीकर्ता उत्साहित भएको बताउँछन् । “बजारमा नयाँ लगानीकर्तासँगै पुराना ठूला खेलाडीको प्रवेश भएको छ,” उनले भने, “नयाँ लगानीकर्ताले मात्रै यति धेरै कारोबार हुन सम्भव छैन ।”
३ वर्षसम्म घटेको बजार बढ्न सुरु भएको र यो ट्रेन्ड २/३ वर्षसम्म बढ्ने उनी बताउँछन् । यद्यपि लगातार बढ्ने भन्दा पनि बीचमा करेक्सन देखिँदै अगाडि बढ्ने र निश्चित विन्दुसम्म पुग्छ भन्ने कुरामा लगानीकर्ता विश्वस्त रहेको उनी बताउँछन् । तर कतिसम्म पुग्छ भन्न नसकिने उनको भनाइ छ ।
अल्पकालीन लगानीकर्ताको लगानी बढेको छ त्यसैले यो उछाल दीर्घकालीन होइन भन्ने सुनिन्छ नि भन्ने प्रश्नमा उनले भने, “हाम्रोमा साना र ठूला लगानीकर्ता भन्ने रहेको तर त्यस्तो नहुने लगानीकर्ता भनेपछि आफ्नो विवेक, नलेज र हैसियतले लगानी गर्ने हो, पुँजीबजार भनेको कसैलाई संरक्षण र साना लगानीकर्तालाई बचाउँन हुँदैन ।”
“१० कित्ता सेयर दिएर सबैलाई लगानीकर्ता बनाउँछु भनेको छ तर सरकारले गर्ने भनेको अरु धेरै छ,” उनले भने, “लगानीकर्ता भनेको अनि सानालाई ठूलाले पेल्यो लगानी भनेको नाफाका लागि हो नि ।”
सेयर विश्लेषक रुक्मागत काफ्ले भने अर्थतन्त्र सकारात्मक भएको अवस्थामा ठूला लगानीकर्ताले सेयर खरिद बढाउँदा बजार सकारात्मक भएको बताउँछन् । उनले कुनै पनि बेला ठूला लगानीकर्ताले बिक्री बढाउन सक्ने भएकाले लगानी गर्दा ध्यान दिनुपर्ने समय आएको समेत बताए ।
अर्थमन्त्री डा. युवराज खतिवडा सरकारबाट बाहिरिने हल्लाका बजार बढेको बताइए पनि त्यसको कारण बजारमा कुनै असर नपर्ने तर्क काफ्लेको छ ।
बजारमा ठूला लगानीकर्ता र म्युचुअल फन्ड कम्पनीहरूले सेयर खरिद बढाएकाले लगातार कारोबार रकमसँगै नेप्से बढेको उनले बताए । कुनै पनि बेला ठूला लगानीकर्ता र स्पेकुलेसन गर्ने लगानीकर्ताले बिक्रीचाप बढाएमा बजार फेरि तल आउन सक्ने र त्यो अवस्थामा नयाँ र साना लगानीकर्तालाई समस्या हुन सक्ने सम्भावना दोहोरिन सक्ने उनले बताए ।