
काठमाडौं । बैंकहरूमा देखिएको तिव्र प्रतिस्पर्धा र राष्ट्र बैंकले स्प्रेड दरमा कडाइ गर्दा बैंकहरूको लगानीको प्रतिफल भने घट्दै गएको छ । राष्ट्र बैंकले २ अर्बबाट २ वर्षमा नै पुँजी बढाएर ८ अर्ब पुर्याउनु बैंकहरूको नाफा घट्दै जानुको प्रमुख कारण हो । बैंकहरू ८ अर्बमा सीमित नभई थप पुँजी वृद्धि गर्दै लैजानु तर त्यसको अनुपातमा नाफा बढ्न नसक्दा लगानीको प्रतिफल निरन्तर घट्दै गएको हो ।
नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल ६ वर्ष अगाडि बैंकहरूको लगानीको प्रतिफल २५ प्रतिशत रहेकोमा गत आर्थिक वर्षको अन्त्यमा १७ प्रतिशत र चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा थप घटेर १५ प्रतिशतमा झरेको बताउँछन् ।
आर्थिक वर्ष २०६९/७० मा बैंकहरूको लगानीको प्रतिफल २४.४३ प्रतिशत रहेको थियो भने गत आर्थिक वर्षमा आउँदा लगानीको प्रतिफल १६.८९ प्रतिशतमा झर्यो । यस्तै चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा बैंकहरूको मुनाफामा लगानीको प्रतिफल ७ दशमलब ८९ प्रतिशत रहेको छ । यही अनुपातमा बैंकहरूले नाफा कमाउने हो भने चालु आर्थिक वर्षको लगानीको प्रतिफल १५ दशमलब ७८ प्रतिशत हुने देखिन्छ ।
आर्थिक वर्ष २०६९/०७० मा एभरेस्ट बैंकको लगानीको प्रतिफल सबैभन्दा धेरै ४३ दशमलब ८३ प्रतिशत र सबैभन्दा कम तत्कालीन किस्ट बैंक हालको प्रभु बैंकको ऋणात्मक (३ दशमलब ९९) प्रतिशत रहेको थियो । गत आर्थिक वर्षको तथ्याङ्क हेर्दा लगानीको प्रतिफल सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकको ३० दशमलब ५१ प्रतिशत र सबैभन्दा कम सिभिल बैंकको ७ दशमलब ४९ प्रतिशत रहेको छ ।
बैंकहरूको लगानी नहेर्ने तर अर्बै नाफा कमायो भनेर विरोध गर्ने प्रचलन हाबी भएको भन्दै बैंकहरूले बढाएको लगानी पनि हेर्नुपर्ने संघका अध्यक्ष दाहाल बताउँछन् । “बैंकहरूले ४५५ अर्ब लगानी गरे तर ६४ अर्बमात्रै कमाए ।” उनले भने । उनले बैंकहरूको स्प्रेड दरको सूत्र परिवर्तन गर्न नहुने भन्दै यदि त्यस्तो भए वित्तीय क्षेत्र धराशायी बन्ने उनले चेतावनी दिए । “आजभन्दा ६ वर्षअगाडि बैंकहरूले १०० रुपैयाँ लगानी गर्दा झन्डै २५ रुपैयाँ कमाउँथे, त्यो गत आर्थिक वर्षमा १७ रुपैयाँमा झर्यो । अहिले त १५ रुपैयाँमा झरिसक्यो, अब बताए कति कमाउनुपर्ने हो थाहा छैन, यो छलफलको विषय होला,” उनले भने, “हाम्रो जस्तो देश जहाँ मुद्रास्फीति करिब ७ प्रतिशत छ भने मुद्धति निक्षेपमा १० प्रतिशत ब्याज दिइरहेका छौं, सूत्र परिवर्तन नगर्दा १५ रुपैयाँ आम्दानी गरिरहेको बैंकहरूले अन्य नयाँ केही नगर्ने हो भने त्यो सूत्र आएपछि आम्दानी ११ रुपैयाँमा झर्छ ।”
निक्षेपमा नै १० प्रतिशत आम्दानी हुन्छ भने ११ प्रतिशतमा किन लगानी गर्ने ? उनले प्रश्न गरे । “६ वर्ष अगाडि २५ बाट १५ मा झरेको छ त्यसमा पनि बैंकहरूले विरोध गरेका छैनन्, त्यो पनि अझै घट्छ,” उनले भने, “४ दशमलब ५ प्रतिशतबाट असार मसान्तमा ४ दशमबल ४ प्रतिशत स्प्रेड कायम गर्नुपर्ने छ । त्यसमा पनि विरोध नगरेको भन्दै स्प्रेडको पुरानो सूत्र नै कार्यान्वयन गर्नुपर्छ ।”
बैंकिङ विज्ञ अनलराज भट्टराई भने स्प्रेड रेटलाई भन्दा पनि बैंकिङ क्षेत्रको कुल सम्पत्ति कति छ भनेर हेर्नुपर्ने बताउँछन् । “बैंकहरूको कुल सम्पत्ति ४४ खर्ब रहेको र कुल जीडीपी ३४ खर्बभन्दा बढी रहेको छ” उनले भने, सम्पत्तिको आम्दानी भन्नाले बैंकहरूको कर पछिको नाफा हुर्नुपर्ने हुन्छ, नाफा हेर्यो भने ५०/६० अर्ब जति आउँछ, त्यो भनेको सम्पत्तिको १.२५ प्रतिशत नाफा हो ।”
यति नाफा हुनु भनेको सामान्य मानिने भट्टराई बताउँछन् । तर, नयाँ सूत्र कार्यान्वयन गर्ने हो भने त्यति नै सम्पत्ति लगानी गर्दा नाफा घटेर ४० अर्बभन्दा कम हुने उनको भनाइ छ । “त्यो भनेको कुल सम्पत्ति परिचालनको १ प्रतिशत भन्दा कम हो जसलाई त्यति सकारात्मक मानिँदैन” उनले भने, “स्प्रेड मात्रै हेरेर हुँदैन, साढे ४ प्रतिशत स्पे्रडमा १ प्रतिशत प्रोभिजन गर्नै पर्यो ।”
उनले थपे, “त्यसमा प्रभावकारी भनेको साढे ३ प्रतिशत मात्रै भयो, त्यसमा पनि कुल सम्पत्ति परिचालनको कर्मचारी खर्च र सञ्चालन खर्च हेर्ने हो भने २ प्रतिशत जति छ, परम्परागत बैंकिङबाहेक आधुनिक बैंकिङको काम गरेको छैन ।” त्यसैले अहिलेको अवस्थामा स्प्रेड रेटलाई धेरै संकुचन गर्दा बैंकको नाफा घट्ने र बैंकको नाफा घट्दा पुँजी बजारदेखि समग्र क्षेत्रमा प्रभाव पर्ने उनको भनाइ छ । पुँजी बजारमा पनि ८५ प्रतिशत पकड बैंकिङ क्षेत्रकै रहेकाले नाफा घट्दा प्रभाव पर्ने उनले बताए ।
“समग्रमा बैंकहरूको नाफा बढी भएको होइन, स्प्रेडको नयाँ सूत्र कार्यान्वयन गर्दा त्यसले नकारात्मक असर पर्छ नाफा कम हुन्छ,” उनले भने, “नाफा कम हुन्छ भने बैंकले सम्पत्ति किन बढाउने, नयाँ सूत्रले बैंकहरूको सम्पत्तिको नाफा ० दशमलब ९ प्रतिशत जति हुन्छ, त्यसैले बैंकहरूलाई ठूलै असर पर्छ ।”