
जनकपुर । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले विद्यालयस्तरीय पाठ्यक्रममा “चुरे शिक्षा” समेट्न प्रदेश शिक्षा निर्देशनालय तथा स्थानीय तहहरूलाई आग्रह गरेका छन् ।
युनिसेफको सहयोगमा प्रदेशका विभिन्न चार जिल्लामा आसमान नेपालले बृहत् विद्यालय सुरक्षा तथा जलवायु उत्थानशील कार्यक्रम सञ्चालन गरिरहेको छ । सोही कार्यक्रमअन्तर्गत बाल कक्षादेखि ८ कक्षासम्मका लागि “विपत् जोखिम न्यूनीकरण” भन्ने पाठ्यक्रम निर्माण गरिएको छ । बिहीबार उक्त पाठ्यक्रमको विमोचन गर्दै मन्त्री यादवले विद्यालयको पाठ्यक्रममा चुरे क्षेत्रको भौगोलिक बनोट, इतिहास र संरक्षणका उपायवारे अध्ययन सामग्री समेटिनुपर्ने बताए ।
“चुरे कुनै बेला तराई मधेसका लागि वरदान थियो यतिबेला मानवसिर्जित समस्याकै कारण अभिशापको रुपमा चित्रित हुँदै छ,” मन्त्री यादवले भने, “चुरेको संरक्षण बिना प्रदेश २ ले मात्र होइन, सिंगो मुलुकले खाद्यान्न संकटको सामना गर्नुपर्ने हुन्छ ।” यसअर्थमा चुरेको संरक्षणवारे बालबालिकासमेतलाई उचित शिक्षा दिनुपर्ने उनले तर्क गरे ।
प्रदेश २ अनेक विपदको उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले विपत्ले गर्ने क्षति न्यूनीकरण गर्न युनिसेफ र आसमान नेपालले जनचेतनामुलक कार्यक्रम सञ्चालन गरी सरकारलाई सहयोग गरिरहेकोमा धन्यवाद दिए । अगामी दिनमा पनि यी संस्थाहरूसँग सहकार्य गर्दै अघि बढ्ने बताउँदै उनले थपे, “प्रदेश सरकार कानुन र नीति निर्माणको चरणमा छ । प्रदेशलाई समुन्नत बनाउन तीनै तहका सरकार र गैरसरकारी संघसंस्थाको सहयोग आवश्यक छ ।”
मन्त्री यादवले सामाजिक रूपान्तरणका लागि आवश्यक क्रियाकलापमा जोड दिइरहेको उल्लेख गर्दै सुरक्षित बेटी अभियान र दुर्व्यसनमुक्त युवा अभियान अघि बढाएको जनाए । यीबाहेक ‘म जिम्मेवार नागरिक बन्छु’ भन्ने पाठ्यक्रम पनि विद्यालयमा लागु गर्ने तयारीमा प्रदेश सरकारले आवश्यक तयारीमा अघि बढिसकेको जानकारी दिए ।
प्रदेश शिक्षा निर्देशनालयका निर्देशक चूडामणि फुयालले पनि चुरेसम्बन्धी शिक्षामा आधारित स्थानीय पाठ्यक्रम लागु गर्ने तयारीमा जुट्न जिल्ला शिक्षा विकास समन्वय एकाइका प्रमुखहरू र गाउँ तथा नगरपालिका प्रमुखहरूलाई आग्रह गरे । दुई दशक अघिसम्म तराईका शिक्षक पहाड र हिमालमा पुगेर शिक्षा दिनेगरेको उल्लेख गर्दै उनले अहिले तराई मधेसकै शिक्षा व्यवस्था दैयनीय भएको अवस्थाप्रति सबै सरोकारवालालाई गम्भिर चिन्तन गर्नुपर्ने बताए ।
कार्यक्रममा आसमान नेपालका सुशासन सल्लाहकार गुरुप्रसाद सुवेदीले विद्यालयको भौतिक पूर्वाधार सुरक्षा, मानवीय सुरक्षा र हरियाली प्रबद्र्धन गर्ने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । यस क्रममा प्रयोग भएका असल अभ्यासलाई प्रबद्र्धन र सिकाइलाई सबै तहले ग्रहण गर्ने उदेश्यले कार्यशाला आयोजना गरिएको उल्लेख गर्दै उनले तराई मधेसका विद्यालयहरूमा शिक्षण सिकाइ उपलब्धि दयनीय रहेको जनाए । शिक्षण सिकाइ उपलब्धि उकास्न सबै पक्षबाट सहयोग र सहकार्यको आवश्यक्ता औल्याउँदै उनले शिक्षामा सुधारबिना कुनै पनि क्षेत्रको विकास सम्भव नरहेको ठोकुवा गरे ।
तीन वर्षसम्म सञ्चालित बृहत् विद्यालय सुधार तथा जलवायु उत्थानशील कार्यक्रमको प्रदेशस्तरीय सिकाइ आदानप्रदान कार्यशाला कार्यक्रममा मन्त्री यादवसमेत आठवटै जिल्लाका शिक्षा विकास समन्वय इकाइ प्रमुख, प्रदेश शैक्षिक तालिम केन्द्रका प्रमुख, गाउँ तथा नगर प्रमुख, युनिसेफका प्रतिनिधि र आसमानका सरोकारवाला पदाधिकारीहरू सहभागी थिए ।