
जनकपुर । फागुन शुक्ल औंसीको दिन धनुषाको कचुरीबाट सुरु भएको मिथिला माध्यमिकी परिक्रमामा भाग लिएका तीर्थयात्रीहरू भारत, बिहार हुँदै चौथो दिन बुधबार महोत्तरीको मटियानी आइपुगेका छन् ।
हरेक वर्ष फागुन महिनामा जानकीभूमि जनकपुर र आसपासका धार्मिक स्थलहरूको १ सय ३३ किमि लामो परिक्रमा गरिन्छ । हिन्दु धर्माबलम्बीहरूको उल्लेख्य सहभागिता रहने यो परिक्रमा करिब चार सय वर्षअघि सुरु भएको जनकपुरका अगुवा साधुसन्तहरूको दाबी छ । १५ दिनसम्म चल्ने यो परिक्रमा सम्पन्न भएको भोलिपल्ट जनकपुरमा होली खेलिन्छ ।
अन्यत्र एकदुई दिन अगावै होली खेल्ने गरिए पनि जनकपुरमा भने परिक्रमाकै आधारमा यो पर्वको तिथि तय हुनेगरेको सुन्दर सदनका महन्त नवल किशोर बताउँछन् ।
गत आइतबार बिहान कचुरीबाट सुरु भएको परिक्रमा साँझ जनकपुरस्थित हनुमानगढीमा विश्राम लिएको थियो । दोस्रो दिन भारत, बिहारको कल्याणेश्वर पुग्यो । तेस्रो दिन बिहारकै गिरिजास्थानमा बास बसेका तीर्थयात्रीहरू बुधबार महोत्तरीको मटियानी आइपुगेका हुन् ।
बिहीबार महोत्तरीको सदरमुकाम जलेश्वर पुग्नेछन् भने शुक्रबार मडइमा विश्राम लिनेछन् । शनिबार महोत्तरीकै ध्रुवकुण्ड र आइतबार कञ्चनवनमा पुग्नेछन् । कञ्चनवनमा परिक्रमामा सहभागी रहेकासँगै स्थानीय र बाहिरबाट आउने हिन्दु धर्मावलम्बी समुदाय आपसमा रंग, अबीर लगाएर होली मनाउनेछन् ।
सोमबार धनुषाको पर्वतामा विश्राम लिने यात्री मंगलबार धनुषाधाम र अर्को बुधबार सतोषरधाम पुग्नेछन् । त्यसको अर्को दिन धनुषाकै औरही र त्यहाँपछि बिहारको करुणा, बिसौल हुँदै पुनः कल्याणेश्वर पुग्नेछन् ।
कल्याणेश्वरबाट जनकपुर फर्किने यात्री त्यसको भोलिपल्ट बिहान जनकपुरको अन्तरगृह परिक्रमा गरी सोही दिन आ–आफ्नो घर फर्किनेछन् । त्यसको अर्को दिन जनकपुरमा होली मनाइनेछ । माध्यमिकी परिक्रममा करिब दश हजारको संख्यामा सहभागिता रहेको दाबी गर्ने जनकपुरका महन्तहरूले अन्तरगृह परिक्रमामा लाखभन्दा बढीको सहभागिता रहने बताउँछन् ।
पञ्चाङ्ग अनुसार यस वर्ष फागुन २६ गते होली पर्व मनाइँदैछ । तराईमा त्यसको भोलिपल्ट मंगलबार होली छ भने जनकपुरमा मंगलबारको दिन अन्तरगृह परिक्रमा घुम्ने हुँदा बुधबारमात्रै होली मनाइने जानकी मन्दिरका महन्त रामतपेश्वर दासले बताए ।