
जनकपुर । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
"आफ्नै घरमा बसेर अनैतिक काम गर्ने भ्रष्टाचारीलाई संरक्षण दिएको विषय बाहिरिए लगत्तै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने ओलीलाई अब एक मिनेट पनि प्रधानमन्त्रीको कुर्सीमा बसिरहन सुहाउँदैन" सोमबार धनुषाको कचुरीमा एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले भने, "देशकै प्रमुख कार्यकारी पदमा आसिन व्यक्तिले समान्य नैतिक आचरण पालना नगर्दा सिंगो मुलुकको बेइज्जत भइरहेको छ ।"
दुई महिना अगावै औपचारिक जानकारी पाएको तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्रीको कर्तुत ढाकछोप गर्ने प्रधानमन्त्रीसँग सदाचार नीतिको आशा गर्न नसकिने उनले जिकिर गरे ।
"आज जुन विषय जनताको बीचमा सार्वजनिक भयो र सोही आधारमा मन्त्री पदबाट राजीनामा गराइयो उक्त जानकारी पहिले नै पाइसकेका प्रधानमन्त्री ओलीले यतिका दिनसम्म किन चुप बसे ?" मन्त्री यादवले भने, "यो घटनाले बाहिर जतिसुकै भ्रष्टाचारको विरोध गरेपनि प्रधानमन्त्री ओली आफै भ्रष्ट सावित भएका छन् ।" ललिता निवास प्रकरणमा आफू निकटकालाई जोगाउने काम गरे पनि प्रधानमन्त्री ओलीले भ्रष्टाचारबारे आफ्नो दृष्टिकोण देखाइसकेको उनले जिकिर गरे ।
त्यस्तै, जन्मोत्सव मनाउने नाउँमा मुलुकको नक्सा आकारमा तयार पारिएको केक काटेर ओलीले राष्ट्रघाती आचरण देखाएको मन्त्रीले आरोप लगाए । "देशको सीमा रक्षा गर्ने समुदायलाई बन्दुक देखाएर दबाउने र आफु जन्मोत्सव मनाउने नाउँमा मुलुकको नक्सा काट्ने कस्तो बुद्धि भयो होला !" उनले कटाक्ष गरे ।