
जनकपुर । प्रदेश २ को सरकार गठन भएको शुक्रबार दुई वर्ष पूरा भएको छ । २०७४ फागुन ३ गते मुख्यमन्त्रीका रूपमा समाजवादी पार्टीका उपाध्यक्ष लालबाबु राउतले पदभार सम्हालेका थिए ।
तर, राउत नेतृत्वको सरकारले तेस्रो वर्षमा निरन्तरता पाउँछ कि पाउँदैन भन्ने जिज्ञासा उस्तै छ । समाजवादी पार्टीले प्रदेश सरकार हाँक्न वर्तमान गठबन्धन (समाजवादी पार्टी र राजपा) को विकल्प नरहेको बताउँछ । सोही गठबन्धनमा नेपाली कांग्रेसलाई पनि सहभागी गराउन सक्ने धारणा समाजवादी पार्टीको छ । सरकारको नेतृत्व भने आफूले नै गर्न पाउनुपर्ने भनाइ सपाका नेताहरूको छ । तर, राजपाले भने कुनै हालतमा सपाको नेतृत्व स्वीकार्न नसकिने भन्दै वक्तव्यसमेत निकालेर प्रस्ट्याइसकेको छ ।
राजपाका महासचिवसमेत रहेका प्रदेशसभा सदस्य मनीष सुमनले दुई वर्षको कार्यकालमा देखाएको अकर्मण्यताका आधारमा समाजवादीले प्रदेश सरकारको नेतृत्व छोड्नुपर्ने बताउँछन् । मुख्यमन्त्री राउतले भने राजपाको असहयोगकै कारण सरकारको भूमिका कमजोर देखिएको गुनासो गर्दै समग्रमा सरकार सफल भएको जिकिर गर्छन् ।
‘तपाईंहरूलाई थाहा छ यो दुई दलको साझा सरकार हो । सबै मन्त्रालयको बजेट परिचालन गर्ने तरिका र अवस्थाको सूक्ष्म अध्ययन गर्नुस्, समाजवादी पार्टीले सम्हालेको मन्त्रालय प्रगतिमा र पारदर्शी छ भने राजपाले सम्हालेको सबै मन्त्रालयमा समस्या छ । जबकि उल्लेख्य बजेट भएको सबै मन्त्रालय संयोगले राजपाकै भागमा परेको छ ।’
राजपाका सांसद सुमनले दुई वर्षको कार्यकालका आधारमा समाजवादीले नेतृत्व छोड्नुपर्ने तर्क गर्छन् । “गत आवको जेठसम्म जम्मा २२ प्रतिशत बजेट खर्च भएको थियो । असारमै ५१ प्रतिशत पु¥यायो र भ्रष्टाचारको नमुना देखियो,” सुमनले बाह्रखरीसँग भने, “यतिबेला दोस्रो चौमासिक बितिसक्दा जम्मा पाँच प्रतिशत बजेट खर्च भएको । फेरि अन्तिममा गएर एकैपटक बजेट खर्च गर्ने बहानामा ब्रह्मलुट गर्ने सरकारको नियत झल्किरहेको छ ।” नीतिगत भ्रष्टाचारलाई आश्रय दिएको आधारमा पनि यो सरकारको परिवर्तन आवश्यक रहेको उनले जिकिर गरे ।
मुख्यमन्त्री राउतले राजपातर्फबाट मन्त्रीहरू फेरबदल गरी सरकारलाई सही गतिमा ल्याउन सकिने तर्क गर्छन् । “समाजवादीले नेतृत्व गरेको अर्थ मन्त्रालयमा कुनै समस्या छैन । आन्तरिक मामिलाले २५ प्रतिशत बजेट खर्च गरिसक्यो । कृषिले ३० प्रतिशत बढी बजेट परिचालन गरिसकेको अवस्था छ । काम गर्न नसक्ने मन्त्रीलाई हटाउन सक्ने अवस्था राजपासँग देखिँदैन । अब भन्नोस् कुन पार्टी सक्षम र कुन अक्षम हो ?” राउत भन्छन् ।
प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका समाजवादी पार्टीका प्रदेश अध्यक्ष विजय यादवले कुनै हालतमा सपा र राजपाको गठबन्धन नटुट्ने जिकिर गर्छन् । “यो दुवै पार्टीको पृष्ठभूमि एकै हो र गठबन्धनमा चुनाव लगडेकै कारण जनताले पनि अनुमोदन गरेको छ,” यादव भन्छन्, “राजपामा खोजेजतिको अवसर नपाउने केही व्यक्ति छन्, जसले मनगढन्ते कुरा गरेर सरकारलाई बदनाम गराउन तत्पर छन् ।” दुवै पार्टीको नेतृत्व भने यो गठबन्धन पुरै कार्यकाल कायम राख्न प्रतिबद्ध रहेको उनको भनाइ हो ।
दुई वर्षमा गरेको काम र उपलब्धिको समीक्षा मुख्यमन्त्री राउतले शनिबार सञ्चारकर्मीसँग बसेर गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।