
फाइल तस्बिर
जनकपुर । प्रदेश २ को स्थायी राजधानी तोक्ने सहमति जुटेलगत्तै प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले नामकरणको लागि छलफल केन्द्रित गरेका छन् ।
स्थायी राजधानी र प्रदेशको नामबारे दलहरुले गत भदौमा प्रदेशसभा सचिवालय समक्ष प्रस्ताव दर्ता गराएका थिए । स्थायी राजधानीको विषयमा पाँच र नामको विषयमा चार प्रस्ताव दर्ता भएका छन् । तीमध्ये सत्तापक्ष समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संयुक्त रुपमा 'मधेश', नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले 'जानकी', नेपाली कांग्रेसले 'मिथिलामधेश' र कांग्रेसकै अर्को पक्षले 'मध्यमधेश' प्रस्ताव गरेका छन् ।
दलपिच्छे फरक प्रस्ताव आएपछि प्रदेशसभाले सहमति जुटाउन सभामुख सरोजकुमार यादवको संयोजकत्वमा सबै दलको प्रतिनिधित्व हुनेगरी एउटा समिति गठन गरेको थियो । उक्त समितिले करिब आधा दर्जन बैठकपछि प्रदेशको स्थायी राजधानी जनकपुर तोक्ने सहमति कायम गर्न सफल भएको छ । नामको सम्बन्धमा दलहरुले आ–आफ्नै अडानमा अडिग रहेकाले सहमतिमा विलम्ब भइरहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीत यादवले बताए । यद्पि बुधबार बसेको समितिको पछिल्लो बैठक भने नामको सम्बन्धमा पनि सहमति नजिक पुगेको उनको भनाइ छ ।
"समाजवादी पार्टी र राजपाले प्रस्ताव गरेको नाममै अडिग रहेपनि नेकपा र कांग्रेसले मध्यमार्गी निर्णय गरेर अघि बढ्नुपर्ने धारणा राखिसकेका छन्" सचिव यादवले बाह्रखरीसँग भने, "आउने आइतबार सबै पार्टीका संसदीय दलका नेताहरुसमेतको उपस्थितिमा समितिको बैठक बसेर टुंग्याउने कुरा भएको छ । आशा गरौं सोही बैठकले सहमति कायम गर्नेछ ।"
समितिका सदस्यसमेत रहेका कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले पनि प्रदेशको नाममा दलहरुले पुरानो अडान छाडेर बीचको बाटो रोजेर निष्कर्षमा पुग्नुपर्ने बताए । उनले भने, "हामीले मिथिलामधेश भनेका थियौं । नेकपाले जानकी प्रदेश हुनुपर्ने भनेको थियो । यतिबेला कांग्रेस र नेकपा दुवै एक कदम पछि हटेर सहमति कायम गर्न अग्रसर भइसकेका छौं । अब समाजवादी र राजपाले पनि अलिकति दायाँबायाँ भएर सर्वसहमतिले नाम टुंग्याउनुको विकल्प छैन ।"
नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख चार दल मध्ये दुई तिहाइ पुर्याउन कुनै तीन दल मिल्नुको विकल्प नरहेको बताए । यस्तो अवस्थामा सहमति कायम गराउन सत्तापक्षधर दलहरुले अग्रसरता देखाउनुपर्ने बताउँदै उनले भने, "प्रमुख प्रतिपक्षी हामी र प्रतिपक्षी दल कांग्रेस सहमतिको लागि पछि हट्न तयार भइसक्यौं ।" नेता मण्डलले सोझै 'मधेश' मान्न नसकिने उल्लेख गर्दै "मिथिलामधेश वा जानकीमधेश" भए सहमत हुन सक्ने बताए ।
यता, समाजवादी पार्टी संसदीय दलका उपनेता रामअशिष यादवले समितिमा सकारात्मक छलफल भएको बताउँदै एक हप्ताभित्रै सहमति कायम हुने विश्वास व्यक्त गरे । प्रदेशको भुगोल र वर्गीय पहिचानको आधारमा आफुहरुले प्रदेशको नाम प्रस्ताव गरेको जिकिर गर्दै उनले भने, "जानकी, मिथिला वा भोजपुरा सबै नामप्रति हाम्रो सम्मान छ । तर, लामो नाम राख्नुभन्दा अन्तर्राष्ट्रियस्तरमा परिचित तथा मधेश जनविद्रोहको भावनालाई पनि सम्बोधन गर्न सकिने प्रस्ताव हाम्रो हो । यो प्रस्तावमा सबै दल सहमत हुनेछन् भन्ने मेरो विश्वास छ ।" यसका लागि उपयुक्त छलफल र संवाद भइरहेको उनले बताए ।
सभामुख यादव संयोजक रहेको छलफल समितिमा उपसभामुख उपमा देव उपसंयोजक छन् भने नेकपाका सत्यनारायण मण्डल र रामकुमार यादव, समाजवादी पार्टीका रामअशिष यादव र शैलेन्द्र यादव, राजपाका परमेश्वर साह र रानी तिवारी, कांग्रेसका रामसरोज यादव र शिवचन्द्र चौधरी तथा नेपाल संघीय समाजवादी पार्टीकी सावित्री साह सदस्य छन् ।