site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चैतसम्म ‘पर्ख र हेर’, ‘बाउन्स ब्याक’ नभए विकल्प खोजिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनबाट आउने पर्यटकको संख्यामा उत्साहपूर्ण वृद्धि भएपछि नेपाल भ्रमण वर्ष २०२० मा ५ लाख चिनियाँ पर्यटक नेपाल भित्र्याउने योजना बनाइयो । नेपाल वायुसेवा निगमले चीनका मुख्य सहरमा उडान गर्ने र हिमालय एयरलाइन्सले अधिकांश सहरसम्म उडान विस्तार गर्ने योजनासहित भ्रमण वर्षको एकचौथाइ पर्यटक छिमेकी मुलुकबाट ल्याउने लक्ष्य लिइयो ।

तर, तीनमा फैलिएको नोबेल कोरोना भाइरसका कारण यतिखेर नेपालको पर्यटन क्षेत्रै धरापमा परेको छ । चीनबाट फैलिएको यो रोगका कारण उच्च आत्मबलका साथ सुरु भएको राष्ट्रिय अभियानमा पहिलो महिनै धक्का लागेको छ । नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले भने, “सन् २०२० को पहिलो त्रैमासमा कोरोनाको प्रभाव पर्ने देखियो जुन अपेक्षित थिएन । यसले राष्ट्रिय लक्ष्यमा असर पर्नेमा दुईमत छैन ।”

चीनबाट ठूलो संख्यामा पर्यटक भित्र्याउने आकांक्षा राख्नुको अर्को कारण थियो भ्रमण वर्ष सफल बनाउन सक्दो सहयोग गर्ने राष्ट्रपति सी चिनफिङको प्रतिबद्धता । तर, विश्वव्यापी संकटका रूपमा देखिएको कोरोना भाइरस नामको महामारीले यतिखेर नेपालको पर्यटन क्षेत्रको मनोबल गिराइदिएको छ । भाइरसको प्रभाव कम्तिमा तीन महिनासम्म देखिने हुँदा राष्ट्रिय लक्ष्यमा ‘सेटब्याक’ हुने हो कि भन्ने आकलन गर्न सकिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कारोनाको प्रभाव बढ्दै गएपछि चीन सरकारले नै आफ्ना नागरिकलाई विदेश नजानु भनेपछि उडान तथा होटल बुकिङ रद्द भएका छन् । यसको प्रभाव होटल क्षेत्रमा बढी देखिन्छ । वैद्यले भने, “एयरलाइन्समा उडान र होटल खाली हुँदा कृषक, हस्तकला व्यवसायी, ट्याक्सी चालक पनि प्रभावित हुने रहेछन् ।”

राष्ट्रिय संकट हो तर तीन महिनामा यसको प्रभाव कम हुने अपेक्षा उनको छ । वैद्यले भने, “बुद्ध जयन्तीसम्म कोरोना प्रभाव कम भइसक्नुपर्ने हो । त्यसो हुन सके हामी पहिलो तीन महिनामा भएको सेटब्याकको बाउन्सब्याक गर्न सक्छौं ।” राष्ट्रिय लक्ष्यअनुसार बुद्ध जयन्तीका अवसरमा चीनबाट ठूलो संख्यामा पर्यटक ल्याउने योजना सरकारको छ ।

Global Ime bank

तर, अरु देशभन्दा नेपालमा कोरोनाको प्रभाव कम देखिएको अवस्थामा यसको पर्यटनमा छोटो समयका लागि मात्र असर पर्ने उनको विश्वास छ । यद्यपि पहिलो तीन महिना सरकार ‘पर्ख र हेर’ को अवस्थामा बस्ने उनले बताए । बुद्ध जयन्तीसम्म पनि ‘बाउन्स ब्याक’ हुन नसके नीति परिवर्तन गरेरै भए पनि भ्रमण वर्षको लक्ष्य पूरा गर्ने योजना रहेको वैद्यले सुनाए ।

वैद्यले भने, “हामी वैकल्पिक बजारमा जाने योजना बनाउने छौं । यसका लागि नीति नै परिवर्तन गर्नुपरे गर्छौं ।” उनले थाइल्यान्डको उदाहरण सुनाउँदै भने, “चिनियाँ पर्यटकको संख्यामा गिरावट आएपछि थाइल्यान्डले भारतीय पर्यटकलाई सहज बनाइदिएको रहेछ । हामी पनि त्यसो गर्न सक्छौं ।”

होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले विगतमा पनि सार्सले पर्यटन क्षेत्रमा प्रभाव पारेको र यस वर्ष फेरि कोरोनाले दुःख दिएको बताइन् । नेपाल भ्रमण वर्ष २०२० को सुरुको महिनामै अप्ठ्यारो अवस्था उत्पन्न भए पनि होटल क्षेत्र विचलित नभएको उनले बताइन् । “हामी सतर्कतापूर्वक आफ्नो अभियानमा सहभागि भइरहेका छौं ।” 

चीन नेपालको दोस्रो ठूलो पर्यटन बजार हो उनले भनिन्, “चीन र त्यहाँका ट्राभल कम्पनीले निर्धारित अन्तर्राष्ट्रिय टुर प्याकेज सञ्चालन गर्न सक्ने अवस्था छैन । सोही कारण जनवरी महिनामा चिनियाँ पर्यटक आउने क्रम केही घटे पनि आगामी दिनमा चिनियाँ पर्यटकको संख्यामा वृद्धि आउनेमा आशावादी छौं ।”

यसरी नेपालको पर्यटन क्षेत्रमा कुनै महामारीले पारेको प्रभाव यो पहिलोपटक भने होइन । राणाले भनिन्, “बेला बेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा देखापर्ने विभिन्न किसिमका रोग तथा आपत्–विपत्को सामना गरी हामी पर्यटन व्यवसायीअगाडि बढिरहेका थियौं र आज पनि यसको सामना गरी अगाडि बढ्ने नै छौं ।” उनले अन्य मुलुकको तुलनामा नेपाल कोरोना भाइरसबाट अहिलेसम्म असुरक्षित नरहेको सरकारले प्रस्ट पारिरहेको पनि दाबी गरिन् ।

यस सम्बन्धमा नेपाल भ्रमण वर्ष २०२० सचिवालयले आधिकारिक सूचना जारी गरिसकेको छ भने होटल संघ नेपालले पनि आफ्ना सदस्य होटलहरूलाई कुनै पनि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पाहुनालाई कोरोना भाइरसको पूर्वसावधानी अपनाउन र संकेत देख्नेबित्तिकै अस्पताल लैजान परिपत्र गरिसकेको छ । संघका अनुसार हालसम्म कुनै पनि होटलमा बसेका पर्यटकमा यो भाइरसको संक्रमण भएको छैन । भाइरसको हुन सक्ने संक्रमणबारे हामीले सम्बन्धित निकायसँगको सहकार्यमा सावधानी अपनाइरहेको दाबी संघको छ ।

पर्यटन व्यवसायी र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले पनि भाइरसबाट विचलित नभई काम गरेको बताउँदै आएका छन् । चीनबाट आउने पर्यटकको संख्या घट्दा भारत, बंगलादेश, मध्यपूर्व, दक्षिण पूर्वी एसियालगायत अन्य विभिन्न मुलुकबाट लक्ष्यअनुसारको पर्यटक भित्र्याउन खटिरहेको दाबी उनीहरूको छ ।

होटल संघ र भ्रमण वर्ष सचिवालयले तत्कालै अन्य पर्यटन स्रोत बजारबारे पनि सरकार, हवाई कम्पनीलगायत सबै सरोकारवालाहरूसँग छलफल गरी विशेष पर्यटन प्याकेजको तयारी गरिरहेको बताएका छन् । गत डिसेम्बरमा चीनमा देखापरेको कोरोना भाइरसको संक्रमणबाट ४ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने विभिन्न मुलुकमा २० हजारभन्दा बढी प्रभावित भएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement