
जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले २०७५ माघ १ गतेयता जन्मेका छोरीहरूलाई भइरहेको बिमा रकम वृद्धि गरी तीन लाख रुपैयाँ पु¥याएको घोषणा गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्री राउतले यस्तो घोषणा गरेका हुन् ।
‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाऊ अभियान’ अन्तर्गत २०७५ माघ १ यता जन्मेका छोरीहरूलाई प्रदेश सरकारले २० वर्षपछि एक लाख रुपैयाँ पाउने गरी जीवन बिमा गरिरहेको छ । सोही रकम बढाउँदै तीन लाख रुपैयाँ पुर्याइएको हो । स्थानीय सरकारको तर्फबाट सहयोग भए उक्त रकम बढाउँदै २० वर्षमा २० लाख रुपैयाँ पुर्याउने योजना रहेको राउतले बताए ।
‘‘एक वर्षदेखि यस प्रदेशमा लखपति भएर छोरीहरू जन्मिरहेका थिए,’’ मुख्यमन्त्री राउतले भने, ‘अब तीन लखिया भइन् ।’ प्रदेश सरकारले अहिलेसम्म आठवटै जिल्लामा गरी १५ हजार बालिकाको बिमा गरेको छ ।
प्रदेश सरकारले १ देखि ८ कक्षासम्म सामुदायिक विद्यालयमा अध्ययनरत दलित तथा मुस्लिम बालिकाहरूलाई मासिक ५ सय रुपैयाँ दिन चालु आवदेखि नै नमुना कार्यक्रम सुरु गर्ने राउतले जनाए ।
त्यस्तै, जनकपुरस्थित प्रादेशिक अस्पताललाई आयुर्विज्ञान प्रतिष्ठान बनाउने निर्णय गरेको छ । शुक्रबारै बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, मधेस आन्दोलनका सहिद परिवार र घाइतेलाई दीर्घकालीन व्यवस्थापन गर्न सहिद प्रतिष्ठान गठन गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।