
जनकपुर । ‘दृढ इच्छा शक्तिसाथ गरे नहुने केही रहेनछ’ भनाइलाई चरितार्थ गरी देखाए धनुषाका एक युवा अभियन्ताले ।
नेपाली नागरिक उमेश यादवलाई साउदीको अदालतबाट ‘हराबा’ तहत मृत्युदण्डको सजाय सुनाइएको थियो ।
तिनै उमेश त्यहाँबाट उम्केर भर्खरै स्वदेश फर्केका छन् । समाज वा भगवानविरुद्ध गरिने युद्धमा संलग्नलाई जघन्य अपराधीको संज्ञा दिँदै अदालतबाट सजाय तोक्ने कानुन हो, ‘हराबा’ ।
यस्तो कानुन साउदीमा मात्रै छ । उक्त कानुनको प्रयोग भइसकेपछि साउदीकै भए पनि नागरिकको स्तरबाट पुनरावेदन गर्ने अधिकार हुँदैन ।
यो प्रसंग हो, पाकिस्तानी नागरिकको हत्या अभियोगमा १४ वर्षसम्म साउदी जेलमा रहेका धनुषा, कमला नगरपालिका –४ पर्साका उमेश यादवसँग सम्बन्धित ।
उनलाई सकुशल स्वदेश फर्काइएको छ ।
नेपालको परराष्ट्र मन्त्रालय तथा पाकिस्तान र साउदीस्थित नेपाली दूतावासको सहयोगमा युवा अभियन्ता सरोज राय यादव दुई वर्षसम्मको अथक प्रयासपछि यो अभियानमा सफल भएका हुन् ।
घटना के हो ?
सन् २००६ मा साउदीको जुबेलस्थित एक पाइप कारखानामा कामदारको रुपमा पुगेका थिए, उमेश ।
त्यहाँ उमेश पुग्नु अगावैदेखि पाकिस्तानको फैसलावादका लतिफ वसिरलगायत कामदारहरु पनि थिए । उमेश त्यहाँ पुगेको एक महिना नपुग्दै एउटा घटना भयो ।
लतिफ भर्याङमा माथि थिए, उमेश तल । उमेशले दिन लागेको कुनै औजार लतिफले समात्न खोज्दा चिप्लेर तल लडेछन् ।
उमेशले नै खसाल्दिएको भन्ठानेर लतिफले उमेशलाई एक मुक्का हाने ।
उमेशले सफाइ दिँदै आफुले त्यस्तो केही नगरेको बरु आफै धोकावश लडेको सम्झाउन खोजे ।
लतिफले दोस्रोपटक मुक्का हानेपछि विवाद बल्झियो । उमेशले पनि नजिकै रहेको एउटा पाइपको टुक्राले हाने ।
त्यसैक्रममा लतिफ अचेत भए । ऊ मरेको जस्तो लागेपछि उमेश भागे ।
उनी भागेर रियाद पुगे । घटनाको पाँच दिनपछि लतिफको मृत्यु भयो । स्थानीय प्रहरीले उमेशलाई खोज्दै जाँदा १७ दिनपछि रियादबाट पक्राउ गर्यो ।
करिब दुई वर्षसम्म जुबेल प्रहरीले घटनाको अनुसन्धानमा बितायो ।
दुई वर्षपछि त्यहाँस्थित नेपाली दूतावासले चासो लियो । तर, उमेशलाई ११ वर्ष कैद, ११ सय कोरा हान्ने र त्यसपछि देश निकाला गर्ने अदालतको आदेश आयो ।
अदालतको उक्त फैसला अनुसार सन् २०१७ मा उमेश कैदलगायत सजाय भुक्तानगरी स्वदेश फर्किन्थे । तर, त्यसो भएन ।
अदालतले ११ वर्ष कैद लगायत सजाय सुनाउँदा पनि पीडित पक्षलाई अधिकार प्रयोग गर्न बारम्बार अवसर दिएको थियो ।
उक्त अवसरअनुसार पीडित पक्षसँग तीन विकल्प थियो । पहिलो, अदालतसँग न्याय माग्ने ।
यसको अर्थ आँखा फोडेको बदलामा पीडकको आँखा फोड्ने, हात काटेको बदलामा हात काट्ने र ज्यानको बदलामा ज्यान लिने जस्तो अपील गर्न सकिन्छ ।
अर्को विकल्प, अल्लाह (भगवान) को नाउँमा माफ गरिदिने । कसैलाई माफी दिए उनको परिवारलाई भगवानले आशिर्वाद दिने मान्यता साउदीको कानुनले नै स्थापित गरेको छ ।
र तेस्रो विकल्प, दिथाथ अर्थात् आर्थिक जरिबाना । तर, ती अधिकार प्रयोग गर्न पाउने अवसर पाए पनि पीडित परिवारसम्म यो सूचना नै पुगेन ।
पीडित पक्षले अदालतबाट प्राप्त गरेको अवसर उपयोग गर्न नपाए पनि जब तोकिएको सजाय काटेर उमेश छुट्ने बेला आयो अनि त्यहाँको सरकारी वकिल कार्यालयले अर्को अपिल गरिदियो ।
उमेशले जघन्य अपराध गरेको भन्दै उनलाई हराबाअनुसारको कानुन लगाएर मृत्युदण्ड दिनुपर्ने माग गर्दै सरकारी वकिलले अदालतलाई अपील गरेको रहेछ ।
उमेशको तर्फबाट निजी वकिल थिएनन् । सरकारी वकिलले चाहेअनुसारकै हुनेभयो ।
र, २०१७ बाट उक्त अपीलमाथि बहस सुरु भयो ।
सोही अनुसार २०१८ अप्रिल १५ को दिन उमेशलाई मृत्युदण्डको आदेश आयो ।
अदालतले गरेको अन्तिम फैसलाको एक महिनाभित्र अभियुक्तलाई पुनरावेदन गर्न अवसर भने प्रदान गरियो ।
अब, २०१८ को मई १५ सम्म पुनरावेदन भएमात्र उमेशको ज्यान जोगिने भयो ।
हराबाको कानुन प्रयोग भएपछि पुनरावेदन गर्न पाइँदैन । तर, उमेशले बारम्बार आफ्नो कुरा अदालतसमक्ष राख्न खोजेका थिए ।
तर, भाषा समस्याको कारण उनको स्पष्ट भनाइ व्यक्त हुन सकिरहेको थिएन ।
संयोगवश त्यहाँको प्रहरीले उमेशको भावनालाई स्थान दिएर मुद्दा तयार गरेका रहेछन् र सोही आधारमा उनलाई एक महिनाको समय पुनरावेदन गर्न अदालतबाट उपलब्ध गराइयो ।
यता, उमेशको समस्या समाधानका लागि नेपालबाट पहल सुरु भयो ।
धनुषाका युवा अभियन्ता सरोज राय २२ अप्रिलमा पाकिस्तान पुगेर पीडित परिवारलाई भेटे ।
मृतक लतिफका आमाबाबुको निधन भइसकेको थियो ।
लतिफकी श्रीमती अर्कैसँग बिहे गरेर गइसकेकी थिइन् । लतिफका पाँचजना दाजुभाइलाई सरोजले भेटेर मुद्दा र पीडित पक्षले अधिकार प्रयोग गर्न पाउने विषयबारे जानकारी दिए ।
सुरुमा उनीहरु आक्रोसित भए । तर, फेरि अल्लाह (भगवान) को नाउँमा माफी दिने कुरामा सहमत भए ।
तर, उनले भगवानको नाउँमा माफी दिएको भन्नु मात्रै पर्याप्त थिएन ।
मुद्दा धेरै अगाडि बढिसकेको थियो । सरोजले आर्थिक जरिवाना जसलाई त्यहाँको भाषामा ब्लडमनि भनिन्छ, सरोजले पहल गरे ।
ती परिवार सहमत भयो । सोहीअनुरुप पाकिस्तानी रुपैयाँ तीस लाख लिएर उमेशलाई माफ दिने सहमति भयो ।
सरोजका अनुसार परराष्ट्र मन्त्रालयले पहिलोपटक माग गरेअनुसार पाकिस्तान जान अनुमति दिएको भए मृत्युदण्डको फैसला आउनुअगावै मिलाउन सकिन्थ्यो ।
तर, ढिलै भए पनि पूर्वपरराष्ट्रमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पहलमा वर्तमान मन्त्री प्रदीप ज्ञवालीले सहयोग गरे र सरोज पहलको लागि पाकिस्तान ओहोरदोहोर गर्न सक्ने भए ।
सोही क्रममा पीडित पक्षलाई सहमतिमा ल्याइसकेपछि पाकिस्तानस्थित नेपाली दूतावासको सहयोगमा आवश्यक कागजात तयार गरियो ।
पीडित परिवारले आर्थिक सहयोग लिन सहमत भएलगत्तै सरोजले सामाजिक सञ्जाल र नेपाली सञ्चारमाध्यमको प्रयोगगरी उमेशको ज्यान जोगाउन सहयोग संकलन अभियान सुरु गरे ।
नभन्दै १५ दिनमै आवश्यक रकम जम्मा पनि भयो । यो बीचमा प्रशासनिक काम र तयारी जारी थियो ।
१५ मे मा सरोज साउदी पुगे । त्यो भनेको उमेशको तर्फबाट पुनरावेदन गर्न पाउने अन्तिम दिन थियो । सरोजलाई यसका लागि त्यहाँस्थित नेपाली दूतावासले सहयोग ग¥यो ।
सरोजले सीधै ती न्यायाधिसलाई भेट्ने अवसर पाए जसले उमेशलाई मृत्युदण्डको सजाय सुनाउने फैसला गरेका थिए ।
नेपाली दूतावासका त्यहाँस्थित एकजना कर्मचारीले न्यायाधीशसमक्ष सरोजलाई अल्लाहको लागि काम गर्ने व्यक्ति भनेर परिचित गराएका थिए ।
सरोजले उमेशको ज्यान जोगिए दुई देशका दुई परिवारको भलाइ हुने कुरा राखे ।
“नेपालमा वृद्ध आमाबाबुले बुढेसकालको सहाराको रुपमा छोरा पाउनेछन् । जन्मिदै अनाथ भएका दुई छोराले बाबु पाउनेछन् भने १२ वर्षदेखि आशमा बसेकी श्रीमतीले श्रीमान् पाउनेछन् । त्यस्तै, पाकिस्तानमा रहेको एक विपन्न परिवारले आर्थिक सहायता पाउनेछ,” सरोजले साउदीको जुबेल अदालतका न्यायाधीससँग राखेको भनाइ सुनाए ।
न्यायाधीश तत्काल भावनामा आए र सबै कागजातलाई स्थानीय भाषामा अनुवादगरी पेश गर्न थप एक दिनको समय दिए ।
अन्ततः सोही प्रक्रियाको आधारमा उमेशले पुनर्जन्म पाएको सरोजको भनाइ छ ।
खुसी थाम्न नसक्दा अस्पतालमा
१४ वर्षपछि गाउँ फर्केका उमेशलाई परिवारसँगै गाउँलेले भव्य स्वागत गरे ।
मृत्युको मुखमा परिसकेका उमेशले वृद्ध आमाबाबु, श्रीमती र छोराहरुलाई भेट्न सक्ने आश मारिसकेको अवस्थामा सबैलाई एकैसाथ पाउँदा खुसीको सीमा टुट्यो ।
उनी गाउँ फर्केकै दिन खुसी सम्हाल्न नसकेर बिरामी परे ।
र, एकदिन जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारपछि चिकित्सकको सल्लाह बमोजिम आरामको लागि एकान्तमा राखिएको परिवारजनले बतायो ।