काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पपछि कलाकारिताबाट समाजसेवामा सक्रिय धुर्मुस–सुन्तली (सीताराम कट्टेल र कुञ्जना घिमिरे) पछिल्लो समय गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा व्यस्त छन् । अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेका बेला यो युगल जोडी आफ्नै चलचित्र ‘सेन्टी भाइरस’ मार्फत ठूलो पर्दामा फर्किएका छन् ।
धुर्मुससुन्तलीको सुविहानी फिल्मस् प्रा.लिको पहिलो चलचित्र ‘सेन्टी भाइरस’ महाशिवरात्रीका दिन फागुन ९ गते रिलिज हुँदैछ । चलचित्रको नाफाको ५० प्रतिशत रंगशाला निर्माणमा छुट्याइने घोषणा पनि धुर्मुस सुन्तलीले गरेका छन् ।
धुर्मुससुन्तलीले आज चलचित्रको ट्रेलर रिलिजको मौका छोपी एकअर्कासँग माया साटेका छन् । लामोसमयदेखि एकअर्कासँग समय विताउन नपाएको भन्दै भावुक हुँदै एकअर्कासँग अंगालो हालेर माया साटे ।
ट्रेलर रिलिज कार्यक्रममा धुर्मुस भावुक बन्दै रंगशाला निर्माण सहयोगार्थ चलचित्र ‘सेन्टी भाइरस’ निर्माण गरेको बताए ।
उनले परिस्थितीका कारण कलाकारिताको लगावलाई छेउ लगाएर सामाजिक अभियान्ताको हिसाबमा अघि बढ्न बाध्य भएको बताए ।
उनले रंगशालाको काममा व्यस्तताका कारण चलचित्र निर्माणमा धेरै समय दिन नपाएको भन्दै १५ घण्टा लगातार स्टुसडयोमा बसेर एक दिनमा चलचित्रको डबिङ सकेको बताए ।
कलाक्षेत्रको समस्याका कारण कला क्षेत्रको प्रतिनिधित्व गर्दै राष्ट्रको लागि कामहरु गर्नुको कारण भोलीको दिनमा राज्यको ध्यानाकर्षण गर्न टेवा पुगोस भन्ने रहेको उनले बताए ।
“दुई–तीन वर्षदेखिको लगन अवको चार महिनापछि रंगशाला ठडिँदा हरेक कलाकारले छाति फुलाउने ठाउँ हुन्छ । त्यो रंगशाला ठडिएको होइन हरेक नेपालीको मन ठडिएको हो जस्तो मलाई लाग्छ । त्यसैले साथ दिनुहोस्, हामीले राम्रो गर्यौं, नराम्रो गर्यौं थाहा छैन । हामीले एउटै चिज गर्यौं नेपाल र नेपाली आमालाई खुशी बनाउने काम गरिरहेका छौं जस्तो लाग्छ । त्यसैले सबैले साथ दिऊँ,” उनले आग्रह गरे ।
कुञ्जना घिमिरे (सुन्तली)ले ‘सेन्टी भाइरस’ उनको २८ वर्षदेखिको सपना भएको बताइन् । कलाक्षेत्रमा लागेदेखि नै आफ्नै चलचित्र निर्माण गर्ने सपना बोक्दै अघि बढिरेहेको र अन्ततः त्यो सपना पूरा भएको उनले बताइन् ।