फाइल तस्बिर
काठमाडौं । सरकारले लगानीको वातावरण पूर्ण रूपमा तयार भएको बताइरहँदा उद्योगहरू भने अझै पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । नेपालका उत्पादनमुखी उद्योगहरूको कुल क्षमताको दुईतिहाइ क्षमता पनि उपयोग भएको छैन ।
उद्योगहरू पूर्ण क्षमतामा चल्न सकेका छँदै छैनन् त्यसमाथि हरेक वर्ष त्यो क्षमता उपयोग घट्दै गएको छ । विशेषगरी प्रतिस्पर्धी बजार, आयातमुखी सरकारी नीति, प्राविधिक कमजोरी र व्यवसायीको कमजोरीका कारण उनीहरूको क्षमता उपयोग (क्यापासिटी युटिलाइजेसन) घट्दो छ । गत आर्थिक वर्षमा नेपालका उद्योगहरूले औसतमा ५७.१ प्रतिशत क्षमता उपयोग गरेका छन् । गत वर्षको तुलनामा उद्योगहरूको औसत क्षमता उपयोग साढे २ प्रतिशतले घटेको छ । गत वर्ष यस्ता उद्योगको औसत क्षमता उपयोग ५९.७ प्रतिशत रहेको थियो ।
यस वर्ष उद्योगहरूको क्षमता उपयोग घट्नुको प्रमुख कारण हो, सिमेन्ट उत्पादनमा थप सिमेन्ट उद्योग सञ्चालनमा आउनु । जसका कारण सिमेन्ट उद्योगले आफ्नो क्षमताभन्दा कम उत्पादन गर्नुपर्ने देखिएको छ । यसबाट समग्र उद्योगको क्षमता उपयोगै कम देखिएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन ०७५÷७६ मा बियर उद्योगले सबैभन्दा बढी ९९ दशमलव ७ प्रतिशत क्षमता उपयोग गरेको देखिएको छ । यस्तै टायर उद्योगको क्षमता उपयोग सबैभन्दा कम अर्थात् १५ दशमलव ८ प्रतिशत मात्र देखिएको छ ।
नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माका अनुसार धेरैजसो उद्योगको क्षमता उपयोग कम हुनुमा तीन–चारवटा मुख्य कारण छन् । बाह्रखरीसँग उनले भने, “सानो बजारमा प्रतिस्पर्धा धेरै छ र हामीले संसारभरका कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ ।” अर्कातर्फ नेपालको नीति पनि आयातलाई सहजीकरण गर्ने किसिमका रहेको शर्माको दाबी छ । “आयातका लागि नेपालको आयात नीति संसारकै सबैभन्दा सरल मानिन्छ,” उनले भने ।
नेपालका उद्योगमा प्रविधिको न्यून प्रयोग हुने गरेको उनको दाबी छ । यसले गर्दा नेपाली उद्योग स्वदेशी उद्योगसँगै प्रतिस्पर्धा गर्न सक्दैनन् । विदेशीसँग प्रतिस्पर्धा त टाढाको कुरा हो ।
शर्माले भने, “एउटा उद्योग चल्नका लागि उत्पादन, सञ्चालन र प्रवर्द्धनको वातावरण आवश्यक हुन्छ । जुन नेपालमा बनिसकेको छैन ।” अर्कातर्फ समाजलाई बुझाउन सकिएको छैन भने सरकारले पनि उत्पादनमुखी उद्योगलाई समर्थन गर्न सकेको छैन । यस्ता चुनौतीले उद्योगहरूको क्षमता कम उपयोग भएको र आयात बढिरहेको दाबी शर्माको छ ।
नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले गरेको अध्ययनले समेटेका उद्योगमध्ये तोरीको तेल, भटमासको तेल, प्रशोधित दूध, गहुँको पीठो, चिनी, चकलेट, मदिरा, बियर, धागो, सिन्थेटिक कपडा, कागज, जुटका सामान, कागज, रोजिन, सिमेन्ट, फलामको रडलगायतको उत्पादन वृद्धि भएको छ । तर, चामल, पशुदाना, चाउचाउ, प्रशोधित चिया, हल्का पेय पदार्थ, चुरोट, गार्मेन्ट, प्रशोधित छाला, चिरेको काठ र पस्मिनालगायतको उत्पादन घटेको छ ।
केन्द्रीय बैंकका अनुसार विद्युत् आपूर्तिमा सुधार आएको तथा निर्माणजन्य गतिविधिमा विस्तार भएसँंगै खानीजन्य उत्पादनमा समेत वृद्धि भएकाले औद्योगिक क्षेत्रको उत्पादन भने बढेको छ ।
गत आवमा वनस्पति घिउ तथा तेल १ सय ३२ दशमलव ४ प्रतिशत, दुग्ध पदार्थ २८ प्रतिशत, अन्य खाद्य पदार्थ ३ दशमलव ७ प्रतिशत, पेय पदार्थ ९ प्रतिशत, लत्ताकपडा १६ दशमलव २ प्रतिशत, अन्य कपडा १० दशमलव ५ प्रतिशत, कागज तथा कागजका उत्पादन ३१ दशमलव ४ प्रतिशत, आधारभूत रसायन ६ दशमलव ५ प्रतिशत, अन्य रासायनिक पदार्थ २२ दशमलव १ प्रतिशत, फेब्रिकेटेड धातुका सामान ५ दशमलव ८ प्रतिशत, धातुका उपकरण ३२ दशमलव ८ प्रतिशत, काठ तथा काठको सामान शून्य दशमलव १ प्रतिशत र जुत्ताको उत्पादन शून्य दशमलव ९ प्रतिशतले बढेको छ भने अन्न तथा पशुदाना ६ दशमलव ९ प्रतिशत, सुर्तीजन्य वस्तु २४ दशमलव १ प्रतिशत, तयारी कपडा २० दशमलव ६ प्रतिशत, प्लास्टिकजन्य उत्पादन शून्य दशमलव ८ प्रतिशत र विजुलीका उपकरणको उत्पादन शून्य दशमलव ३ प्रतिशतले घटेको छ ।
काठमाडाैं क्षेत्रमा विशेषगरी प्रशोधित दूध, पस्मिना, चाउचाउ, औषधिजन्य वस्तु र जुत्तालगायत उत्पादन हुने गरेको छ । अध्ययन प्रतिवेदनमा भनिएको छ, “विराटनगर क्षेत्रमा वनस्पति घिउ तथा तेल, अन्य खाद्य पदार्थ, जुटका सामान, धातुका उपकरण, सिमेन्टलगायतको उत्पादन प्रमुख रहेको छ भने जनकपुर क्षेत्रमा मदिरा, कागज, सिमेन्ट उत्पादन हुने गरेको छ ।” त्यसैगरी, वीरगञ्ज क्षेत्रमा वनस्पति घिउ तथा तेल, प्रशोधित दूध, पशुदाना, हल्का पेय पदार्थ, चुरोट, लत्ताकपडा, सिमेन्ट, प्रशोधित छाला, औषधि, फलामको छड तथा पत्ती; पोखरा क्षेत्रमा बिस्कुट, चाउचाउ; सिद्धार्थनगर क्षेत्रमा गहुँको पीठो, बियर, औषधि, सिमेन्ट; नेपालगन्ज क्षेत्रमा तोरीको तेल, गहुँको पीठो, सिमेन्ट तथा धनगढी क्षेत्रमा गहुँको पीठो, चिरेको काठ, रोजिनलगायत वस्तुको उत्पादन हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन, २०७० अनुसार आव ०७५/७६ को वार्षिक आर्थिक गतिविधि समेटेर राष्ट्र बैंकको अनुसन्धान विभागले हरेक वर्ष झैं प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन नेपाल राष्ट्र बैंक, अनुसन्धान विभाग, आर्थिक विकास महाशाखा र काठमाडांै उपत्यका बाहिरका कार्यालय (विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी) बाट तोकिएका ५७ जिल्लामा गरिएको स्थलगत सर्वेक्षण र सरोकारवालासँगको अन्तर्क्रियामा आधारित छ ।
आव ०७४/७५ मा पस्मिना उद्योगले पूर्ण रूपमा (९९.१ प्रतिशत) क्षमता उपयोग गरेको थियो । अन्य सबैभन्दा बढी क्षमता उपयोग गर्नेमा बियर उत्पादन गर्ने उद्योग (८६.३ प्रतिशत), प्रशोधित चिया उत्पादन गर्ने उद्योग (८२.४ प्रतिशत), सिमेन्ट उद्योग (७४.६ प्रतिशत) र चाउचाउ उत्पादन गर्ने उद्योग (७३.४ प्रतिशत) थिए ।
सो आव ऊर्जा आपूर्तिमा आएको सुधार, औद्योगिक क्षेत्रमा बन्द हड्ताललगायत आपूर्तिजन्य अवरोधमा कमी, नेपालको संविधानअनुसार गठित तीन तहका सरकारले आ–आफ्ना बजेटमार्पmत अघि सारेका विकास निर्माणलगायत पुनर्निर्माणमा आएको तीव्रताले निर्माणजन्य सामग्रीको मागमा भएको वृद्धिका कारण उद्योगहरूको क्षमता उपयोग पनि बढेको बताइएको थियो । तर, गत आवमा भने क्षमता उपयोग दुई वर्षअघिकै अवस्थामा पुगेको हो ।
कुन वस्तु कति उत्पादन हुन्छ ?
अध्ययनमा समावेश बियर उद्योगको उत्पादन क्षमता ८१ करोड ३० लाख लिटर रहेकोमा उनीहरूले गत आवमा ८१ करोड ३ लाख लिटर मात्र बियर उत्पादन गरे । जीआई पाइप उद्योगको उत्पादन क्षमता १ लाख १५ हजार टन रहेकामा १ लाख ८ हजार टन मात्र उत्पादन भएको छ ।
अध्ययनमा सामेल इँटा उद्योगले ७५ लाख इँटा उत्पादन गर्नसक्ने क्षमता राखे पनि उनीहरूले ६४ लाख इँटा मात्र उत्पादन गरेको राष्ट्र बैंक अनुसन्धान विभागको भनाइ छ ।