काठमाडौं । विप्रेषण ‘रेमिट्यान्स’ अर्थात् वैदेशिक रोजगारीका क्रममा गएकाहरूले गरेको आय–आर्जनबाट स्वदेश पठाउने रकम । लामो समयदेखि विप्रेषण नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा छ ।
वैदेशिक रोजगारीले समष्टिगत आर्थिक स्थायित्व, सामाजिक–आर्थिक सुधार एवं मानव पुँजी निर्माणमा योगदान त दिएकै छ तर नेपालको बाह्य क्षेत्र सन्तुलनको प्रमुख आधार विप्रेषण आप्रवाह रहँदै आएको छ, त्यो पनि करिब डेढ दशकअघि देखि । बाह्य क्षेत्र सन्तुलन कायम गर्न मात्र नभई शिक्षा, स्वास्थ्य, गरिबी निवारण, वित्तीय साधन परिचालन र राष्ट्रिय पुँजी निर्माणमा समेत विप्रेषण आप्रवाहको महत्त्वपूर्ण भूमिका रहेको देखिन्छ ।
विप्रेषणले स्वास्थ्य, शिक्षालगायत घर परिवारको जीवनस्तर उकास्न योगदान गर्दै आएको छ भने लगानी र पुँजी निर्माणको माध्यमबाट प्रत्यक्ष रूपमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दै आएको छ । विप्रेषण आप्रवाहमा कमी आएमा यी सूचकहरूमा समेत प्रतिकुल असर पर्ने जोखिम रहने अपेक्षा गरिन्छ ।
विगत १० वर्षको तथ्यांक हेर्ने हो भने पनि विप्रेषण आप्रवाहको कुल गार्हस्थ्य उत्पादनको एकचौथाइ रहने गरेको छ । आर्थिक वर्ष ०५७/५८ मा विप्रेषण आप्रवाहको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात १०.७ प्रतिशत रहेकामा आव ०७५/७६ मा २५.४ प्रतिशत पुगेको छ । नेपाललाई अन्तर्राष्ट्रिय दातृ निकाय तथा मित्र राष्ट्रहरूले प्रदान गर्ने विकास अनुदान तथा नेपाल भित्रिने प्रत्यक्ष वैदेशिक लगानीको तुलनामा विप्रेषण आप्रवाह अधिक भएकाले हालको अवस्थामा विप्रेषण नेपालको विदेशी विनिमय सञ्चितिको प्रमुख आधार हो । यसको अर्थ विप्रेषण आप्रवाहको वृद्धिदरमा संकुचन आउदा अर्थतन्त्रका विभिन्न क्षेत्रमा प्रभाव पार्नेमा दुईमत छैन ।
विप्रेषणले परिवारको आम्दानी वृद्धि गरी गरिबी न्यूनीकरणमा प्रत्यक्ष प्रभाव पार्दै आएको छ । नेपाल जीवनस्तर सर्वेक्षण ०६७/६८ अनुसार करिब ५६ प्रतिशत नेपाली घरपरिवारले विप्रेषण प्राप्त गर्ने गरेका छन् । नेपाल राष्ट्र बैंकले तयार पारेको एक प्रतिवेदन भन्छ, “आव ०६०/६१ मा गरिबीको रेखामुिन रहेको जनसङ्ख्या ३०.९ प्रतिशत रहेकोमा आव ०७४/७५ मा १८.७ प्रतिशत पुग्नुमा विप्रेषणको महत्त्वपूर्ण योगदान छ ।” संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म निरपेक्ष गरिबीलाई एकल अंकमा झार्न विप्रेषण आप्रवाहले मद्दत पुर्याउने विश्वास गर्न सकिने केन्द्रिय बैंकको ठहर छ ।
यसबाहेक आव ०६०/६१ मा ६४.६ प्रतिहजार जीवित जन्ममा रहेको ५ वर्षमुनिको बाल मृत्युदर आव ०७४/७५ मा आधामा झरेको छ । साक्षरता पनि ५१ प्रतिशतबाट ७८ प्रतिशत पुगेको छ । सो अवधिमा विप्रेषण आप्रवाह १३ गुणाले बढेको छ र विप्रेषण प्राप्त गर्ने परिवार संख्या दोब्बर बनेको छ ।
नेपाल जीवनस्तर सर्वेक्षण ०६७/६८ अनुसार विप्रेषण प्राप्त गर्ने घरपरिवारको कुल आम्दानीको ३१ प्रतिशत हिस्सा विप्रेषणले ओगटेको छ भने प्राप्त विप्रेषणमध्ये ७८.९ प्रतिशत रकम घरायसी उपभोगमा, ७.१ प्रतिशत ऋण तिर्न, ३.५ प्रतिशत शिक्षामा र ४.५ प्रतिशत घरायसी सम्पत्तिमा खर्च भई विप्रेषण रकमको ०.६ प्रतिशत मात्र बचत गर्ने गरिएको छ ।
नेपाल राष्ट्र बैंकले आव ०७१/७२ मा १६ जिल्लाका जम्मा ३२० घरपरिवारमा गरेको स्थलगत सर्वेक्षण र सोका आधारमा तयार गरिएको अध्ययन ‘विप्रेषण प्राप्त गर्ने घर–परिवारको बचत तथा लगानी प्रवृत्ति’ अनुसार विप्रेषण रकमको २५.३ प्रतिशत अंश ऋण तिर्नमा, २३.९ प्रतिशत खाद्यान्न तथा लत्ताकपडालगायत दैनिक उपभोग्य वस्तुमा, ९.७ प्रतिशत शिक्षा तथा स्वास्थ्यमा, ३.५ प्रतिशत विवाह, व्रतबन्धलगायत सामाजिक कार्यमा र ३.० प्रतिशत घरायसी सम्पत्तिको खरिदमा प्रयोग गर्ने गरेको देखिएको छ भने विप्रेषण रकमको २८.० प्रतिशत बचत र १.१ प्रतिशत उत्पादनमूलक क्षेत्र (व्यापार/व्यवसाय) मा लगानी भएको देखिएको छ ।
यसले विप्रेषणका रूपमा भित्रिने रकमको अधिकांश हिस्सा उपभोग्य वस्तुमा खर्च भइरहेको देखाउँछ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र निजी क्षेत्रतर्फको कर्जा प्रवाहमा विप्रेषणको महत्त्वपूर्ण भूमिका रहेको देखिन्छ । राष्ट्र बैंकका अनुसार आव ०६५/६६ मा विप्रेषण आप्रवाहको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २१.२ प्रतिशत रहेकोमा आव ०७५/७६ मा २५.४ प्रतिशत पुगेको छ । यसैगरी, आव ०६५/६६ मा निक्षेप र निजी क्षेत्रमा प्रवाहित कर्जाको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात क्रमशः ५५.७ प्रतिशत र ४४.४ प्रतिशत रहेकामा आव ०७५/७६ मा यी अनुपात क्रमशः ९३.४ प्रतिशत र ८४ प्रतिशत प्रतिशत पुगेका छन् । विगत १० वर्षमा विप्रेषण आप्रवाहमा भएको वृद्धिले वित्तीय साधन परिचालनको दायरासमेत विस्तार भएको केन्द्रीय बैंकको दाबी छ ।
अर्कातर्फ बढ्दो व्यापार घाटाका कारण चालु खाता ऋणात्मक रहेको हालको अवस्थामा बाह्य वित्तको महत्त्वपूर्ण स्रोत विप्रेषणले शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिमा टेवा पुर्याइरहेको छ । केन्द्रीय बैंकको अनुसन्धान विभागले तयार पारेको विप्रेषणसम्बन्धी प्रतिवेदनमा भनिएको छ, “विप्रेषण आप्रवाहमा कमी आएमा शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चिति समेत प्रभावित हुने जोखिम रहन्छ ।”
केन्द्रीय बैंकका अनुसार उच्चदरमा कम भइरहेको व्यापार घाटामा विप्रेषणको वृद्धिदर सुस्त हुँदा शोधनान्तर स्थिति क्रमशः कम हुँदै गएको छ । जस कारण आव ०७५/७६ मा शोधनान्तर स्थिति घाटामा पुगेको थियो ।
रेमिट्यान्स आफैंको वृद्धिदर उच्च भए पनि व्यापार घाटा त्योभन्दा पनि बढीले गतिले खस्कँदो छ । सोहीकारण शोधनान्तरमा समस्या परेको देखिन्छ । तर विगत केही वर्षयता वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्दै आएको छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारको संख्या आव ०७०/७१ मा अधिकतम ५ लाख २७ हजार ८ सय १४ पुगेको थियो भने यो संख्या आव ०७५÷७६ मा २ लाख ४३ हजार ८ सय ६८ छ । आव ०७६/७७ को पहिलो चार महिनाको तथ्यांकअनुसार कुल रोजगारीमा जाने कामदारमध्ये ७५.३ प्रतिशत खाडी मुलुकतर्फ गएका छन् । उक्त अवधिमा खाडी मुलुकबाट प्राप्त भएको विप्रेषण कुल विप्रेषण आप्रवाहको करिब कुल रेमिट्यान्सको आधा छ ।